Logo

घनश्याम भुसाललाई दिपक बोहोराको जवाफ, “जनताले किताब पढ्ने र लेख्ने होइन, विकास गर्ने नेता चाहेका छन्”



१३ मंसिर, काठमाण्डौ । घनश्याम भुसाल र दीपक बोहोरा नेपाली राजनीतिका दुई फरक प्रवृत्तिको प्रतिनिधित्व गर्ने चर्चित पात्र हुन् । रुपन्देही क्षेत्र नम्बर ३ का मतदाताका लागि यसपटक रोचक संयोग जुरेको छ, घनश्याम भुसाल रोज्ने कि दीपक बोहोरा ?

वामपन्थी गठबन्धनबाट एमाले उपमहासचिव भुसाल र लोकतान्त्रिक गठबन्धनबाट राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष बोहोरा चुनावी मैदानमा आमनेसामने भएका छन् । रुपन्देही सदरमुकाम भैरहवा सहितको भूभाग समेटिएको यो निर्वाचन क्षेत्रमा यसपटक रुपन्देहीको सर्वाधिक चासोको चुनाव हुँदैछ ।
रिपोर्टस क्बल नेपालले गरेको चुनाव लक्षित देशव्यापी अभियानका क्रममा बहसमा सहभागि हुँदै उम्मेदवार बोहोराले आफ्नो क्षेत्रमा लोकतान्त्रिक गठबन्धनप्रति मतदाताको आकर्षण बढेको दाबी गरेका छन् ।

नेपाली कांग्रेसको समर्थनमा उम्मेदवार बनेका बोहोराले कांग्रेसका कार्यकर्ताले आफूलाई पूर्ण समर्थन गरेकाले आफूले चुनाव जित्ने बताएका छन् ।
विगतमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले जितेका २ क्षेत्रलाई गाभेर अहिले एउटै क्षेत्र बनाएकाले त्यहाँ लोकतान्त्रिक गठबन्धनमा मतदान गर्ने मतदाताको बाहुल्यता बढि रहेको बोहोराको तर्क छ ।

“७० सालको चुनावमा दिपक बोहोराले जितेको क्षेत्र र बालकृष्ण खाँडले जितेको क्षेत्रलाई अहिले एउटै क्षेत्र बनाइएको छ । चुनाव जितेपछि मैले र खाँड दुवैले जनताको हितमा काम गरेका छौँ । यो ठाउँमा वामपन्थीको पकड छ भनेर कसरी भन्न सकिन्छ ?” बोहोराले प्रश्न गरे ।

रुपन्देहीमा आफुले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायतका विकासका पूर्वाधारको विस्तार गर्दै लगेको बोहोराको दाबी छ । आगामी दिनमा पनि पूर्वाधार विकासमा आफू केन्द्रित हुने बोहोराको भनाई छ । जनताले अनुभूति गर्ने गरी काम गर्न आफू प्रतिवद्ध रहेको बोहोराले बताए ।

आफ्ना प्रतिस्पर्धी एमालेका उम्मेदवार घनश्याम भुसाललाई लक्षित गरी बोहोराले जनताले किताब पढ्ने नेतालाई नभै विकास गर्ने नेतालाई मतदान गर्ने बताए ।
२०५३ सालमा आफूले नै समर्थन गरेर भुसाललाई सासंद बनाएको स्मरण गराउँदै बोहोराले २३ महिना सासंद बन्दा भुसालले केही पनि काम नगरेको आरोप लगाए ।

आफूले भने विकास निर्माणका धेरै काम गरेको दाबी बोहोराले गरे ।

“किताब लेख्ने कुरा होइन । जनताले बाटो बनाउने, पानी पु¥याउने, अस्पताल बनाउने, स्कुल बनाउने नेता खोज्छ । जनताले किताब अध्ययन गर्नका लागि कसैलाई चुनाव जिताउँदैनन् ।” बोहोराले भने ।

“विकास गर्ने नेतालाई जनताको माया चाहिन्छ । जनताले विकासको निरन्तरता खोज्छन् । यदी कसैले विकासको निरन्तरता दिन सक्छ भने दिपक बोहोराले दिन सक्छ ।” उनले भने ।

नेपाली जनता संविधान कार्यान्वयनको पक्षमा रहेकाले लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्ने विश्वास बोहोराले लिएका छन् । चुनावपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने दाबी उनले गरे ।

चुनावका बेला उम्मेदवाहरुमाथि आक्रमण गरिरहेको नेत्र विक्रम चन्दसँग सरकार वार्ता गर्न चाहेको बोहोराले बताएका छन् । हिँसात्मक गतिविधि छोडेर वार्तामा आउन उनले चन्दलाई सुझाब दिए ।



प्रतिक्रिया दिनुहोस्