Logo

सर्वेन्द्रनाथ शुक्लालाई गधाको संज्ञा दिँदै प्रतिस्पर्धी यादवले भने, “मैले चुनाव जितिन भने नेपाल छाड्छु”



१४ मंसिर, काठमाण्डौ । रुपन्देही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका युवा नेता प्रमोद यादवले आफूले चुनाव जित्ने दाबी गरेका छन् । आफ्ना एक प्रतिस्पर्धी राजपाका सर्वेन्द्रनाथ शुक्लाले पैसाको भरमा जनमत तान्न खोजेको आरोप लगाउँदै यादवले शुक्लाको गतिविधिप्रति नै आपत्ति जनाएका छन् ।

रुपन्देही क्षेत्र नम्बर ४ बाट कांग्रेका यादव, राजपाका शुक्ला र एमालेका ओमप्रकाश यादव प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।
विहिबार रिपोर्टस क्लब नेपालले गरेको चुनाव लक्षित विशेष साक्षात्कार कार्यक्रममा बोल्दै यादवले विगतमा चुनाव जित्नेहरुले विकास निर्माणका काम नगरेको आरोप लगाउँदै यादवले विकास गर्नका लागि नै आफू चुनावमा उठेको बताए । आफ्नो क्षेत्रमा पर्ने मर्चवारमा विकासका कुनै पनि काम हुन नसकेको बताउँदै उनले मर्चवारको विकासका लागि नै आफूले उम्मेदवारी दिएको बताए ।

सर्वेन्द्रनाथ शुक्कालका कारण विकास हुन नसकेको भन्दै यादवले शुक्लाको प्रवृत्ति तानाशाही भएको आरोप लगाए । शुक्लाले विगतका कुनै पनि काम नगरेकाले अहिले जनता आफ्नो पक्षमा रहेको यादवले जिकिर गरे ।

चुनावका बेला शुक्लाका २,४ जना कार्यकर्ता पुल र सडक नाप्दै हिँड्ने तर काम केही नगर्ने यादवले बताए । चुनाव जितेपछि विकासका काम कहिल्यै नगर्ने प्रवृत्ति शुक्लाको रहकाले जनताले दुःख पाएको उनको भनाई छ ।

त्यस क्षेत्रमा कांग्रेसले विकासका केही प्रयास गरे पनि अरु दलले कुनै चासो नदिएको यादवको भनाई छ । शुक्लाले विगतमा २ पटक चुनाव जितेपनि यसपटक आफूले जित्ने दाबी यादवको छ । “ एग्रिमेन्ट लखेरे दिन्छु, १ सय २ प्रतिशत शुक्लाले चुनाव हार्नुहुन्छ । यसपटक शुक्लाले हार्नुभएन भने नेपाल छोड्दिन्छु । ” यादवले भने । “व्यापार विजनेश सबै अनाथ आश्रमलाई दिन्छु ।”

आफू मान सम्मान र जनताको लागि चुनाव लडेको बताउँदै यादवले चुनाव हारेको खण्डमा सबै त्याग गर्ने बताए । चुनाव जितेपछि मर्चवार क्षेत्रमा पाँच वर्षभित्र जनता सन्तुष्ट हुने गरी काम गर्ने र अर्को चुनावमा भोट माग्नै नपर्ने स्थिती सृजना गर्ने दाबी यादवको छ ।

मर्चवारको जनताका लागि शुक्लाले केही पनि काम नगरेको आरोप लगाउँदै यादवले शुक्ला विगतमा चुनाव जितेर मन्त्री भए पनि जनताको मनमा बस्न नसकेको भन्दै कटाक्ष गरे । “गधा पनि ठूलो हुन्छ, घोडा जस्तै देखिन्छ, तर घोडा हुन सक्दैन नि । त्यस्तै मर्चवारका जनताले उहाँलाई गधा सम्झेका छन् ।”

सर्वेन्द्रनाथ शुक्लाको पैसा, मासु र दारु खाएर पनि जनताले शुक्लालाई नै हराउने दाबी यादवको छ । राजपा–फोरमबिच गठबन्धन भए पनि शुक्लाको गलत प्रवृत्तिका कारण चुनाव हार्ने यादवको ठोकुवा छ । शुक्लाले जनतालाई नजिक बस्नसमेत नदिने र १० मिटरको दुरीबाट कुरा गर्ने गरेको आरोप यादवले लगाए ।

आगामी दिनमा शुक्ला एमालेमा प्रवेश गर्ने दाबीसमेत यादवले गरे । रुपन्देहीका २ नम्बर क्षेत्रबाहेक सबै क्षेत्रमा लोकतन्त्रिक गठबन्धनले चुनाव जित्ने यादवले बताए ।



प्रतिक्रिया दिनुहोस्