Logo

अधिनायकवाद आउँछ भन्नु निर्धो तर्क हो, देउवासँग हामीलाई लोकतन्त्रको पाठ पढाउने योग्यता छैन : विष्णु पौडेल



रुपन्देही, १४ मंसिर । रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका लागि नेकपा एमालेका उम्मेद्धवार विष्णु पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरुलाई लोकतन्त्रको पाठ पढाउने योग्यता नराख्ने आरोप लगाएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् । ‘मुलुकको प्रधानमन्त्रीजस्तो व्यक्तिले वामपन्थीहरुको बहुमत आए अधिनायकवाद आउँछ भन्नु निर्धो तर्क हो, प्रधानमन्त्री देउवाले हामीविरुद्ध लगाएका आरोप उहाँका परिवारका सदस्यहरुले पनि पत्याएका छैनन् । अरुको कुरा छोडिदिनुहोस्, जनताको कुरा त झनै पर जाओस् –उनले भने।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफूहरु सच्चा लोकतन्त्रवादी शक्ति भएको समेत जिकिर गरे । उनले भने,‘प्रधानमन्त्री देउवाको आरोपमा कुनै सत्यता छैन, यो त निरिह तर्क हो, उहाँका परिवामा गएर सोध्नुहोस्, उहाँका परिवारले समेत पत्याउँदैनन्, विचरा तर्क, निरिह तर्क हो, हामी लोकतन्त्रको लागि लडेका शक्ति हौं, ईतिहाँसका कुन–कुन कालखण्डमा उहाँले राजाको कृपाले के गर्न खोज्नुभयो, पछि उनै राजाले उनलाई अक्षम घोषणा गरेर हटाईदिए, यो दुनियाँलाई थाहा भएको कुरा हो।’ उनले पटक–पटक दोहोर्याए भने,‘हामीलाई लोकतन्त्रको पाठ पढाउने योग्यता कांग्रेसले राख्दैन्, न त देउवासँग नै त्यो योग्यता छ।’

नेता पौडेलले मुलुकमा यतिवेला जनताले सुख, समृद्धि र विकास चाहेको उल्लेख गरे । उनले थपे,‘समृद्धिको लागि हामी सरिक छौं । हामी कुशल नेतृत्व लिएर छिट्टै सरकारमा आउँदैछौं ।’

वामपन्थीहरुले अब अन्य लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य नगर्ने हो भनेर पत्रकार ऋषि धमलाले सोधेको एक प्रश्नमा उनले भने,‘सहमति, सहकार्य र एकता हुँदैजान्छ, डेमोक्रेसीमा सहमति भनेको जनताको चाहना अनुसार हुन्छ, उनीहरुको चाहनाको जगमा बसेर सहमति खोजिन्छ।’

उनले एमाले–माओवादी केन्द्रको वाम गठबन्धन अहिले मुलुकमा राजनीति अस्थिरताको अन्त्यको लागि लागिपरिरहेको बताए । पौडेलले थपे,‘हामी बुहमतको सरकार बनाउन जाँदैछौं । संभवत दुई तिहाईको सरकार हामी बनाउँदैछौं, जनताले चाहेका अनुसार विकासका कार्यक्रमहरु अबको सरकारले अघि बढाउँछ, त्यसका आधारमा सबैलाई गोलबन्द गर्छौं ।’

एमाले र माओवादी केन्द्रले नै राजतन्त्र विरुद्धको आन्दोलन अगुवाई गरेको उल्लेख गर्दै उनले भने,‘संविधान निर्माणको लागि हामीली अगुवाई गरेका हौं, संकटका समाधानको लागिह हामीले अगुवाई गरेको कुरा देश र जनतालाई थाहा छ, जनमुखी सरकार सञ्चालन गर्न सक्ने शक्ति एमाले र माओवादी नै हो, त्यसैले हामीलाई यो निर्वाचनमा जनताले अत्यधिक बुहमत दिन चाहनुभएको छ ।’

वामपन्थीहरुले दुई तिहाई परै जाओस् बहुमत पनि ल्याउन सक्दैनन् भनेर कांग्रेसका नेताहरुले आरोप लगाएका छन् नि भनेर धमलाले सोधेको अर्को प्रश्नमा पौडेलले भने,‘कांग्रेसको आरोप झुटो हो, चुनावको परिणाम नआउन्जुलेसम्म यो भन्ने छुट छ, बाम गठबन्धनहरुको बहुमत आउँदै भनेर कांग्रेसीहरुले भन्दा राहत मिल्ला तर हामी बुहमत ल्याउँछौं ।’

कांग्रेसप्रति निकै आक्रमक रुपमा प्रस्तुत भएका नेता पौडेलले भने,‘कम्युनिष्टहरुले के अब कांग्रेसको शासन स्थापित गर्नुपर्ने हो र ? यो संविधान हामीले निर्माण गरेका छौं, यो लोकतान्त्रिक छ, अग्रगामी छ, जनमुखी छ । यो संविधानको रक्षा, प्रयोग र कार्यान्वयन हामीले गर्छौं । यसको प्रयोग गर्दा तानाशाही हुन्छ र ?’

पूर्व अर्थमन्त्री समेत रहेका नेता पौडेलले विगतमा कांगे्रसले बहुमत ल्याउँदापनि सत्ता चलाउन नसकेको आरोप लगाए । उनले भने,‘कांग्रेस त कस्तो शक्ति हो भने बुहमत प्राप्त गरेर सरकार पनि टिकाउन नसक्ने पार्टी हो, ०४८ सालमा कांग्रेसले बहुमत ल्याएको थिएन र ? बहुमत ल्याएर पाँच वर्षको लागि विजयी गराएको पार्टी वीचमै सदन विघटन गरेको होईन, त्यसैले कांग्रेसले विकासको कुरै गर्न सुहाउँदैन्।’

नेता पौडेलले वाम गठबन्धनमा एक सय एक सक्षम नेताहरु भइकोले चुनावपछि बन्ने सरकारको नेतृत्व सहमतिमै हुने दाबी गरे । उनले भने,‘नेपाली जनताले हार्दिकतापूर्वक स्वागत गर्नेगरि प्रधानमन्त्रीको नाम अघि सार्छौं, निर्वाचन सकिएको लगत्तै प्रधानमन्त्रीको नाम अघि सार्छौं ।’

केपी शर्मा ओली र पुष्पकमल दाहालवीचको सम्बन्ध कुनै काँचो धागोमा अडिएको सम्बन्ध नभएको प्रतिक्रिया दिँदै उनले वाम गठबन्धनम कुनै फाटो नआउने समेत दाबी गरे । उनले थपे,‘यो लामो समयसम्म एउटै कम्युनिष्ट पार्टी निर्माण गरेर, सुखी नेपाली र समृद्ध राष्ट निर्माण गर्ने, र समाजवादतर्फ मुलुकलाई लिएर जाने उध्ेश्यका साथ कायम भएको सम्बन्ध हो । विश्वासको जगमा, सिद्धान्तको जगमा, स्थापित भएको सम्बन्ध हो । एमाले र माओवादी केन्द्रवीचको सम्बन्ध, चुनावी गठबन्धनमात्रै होईन, पार्टी एकता हुन्छ ।’

पार्टी एकता गर्न सजिलो छ र ? भनेर धमलाले सोधेको अर्को एक प्रश्नमा उनले थपे,‘कुन चाहीँ काम सजिलो छ र ? तपाईले मलाई प्रश्न सोध्नुभयो, यो सजिलो काम हो र ? उहाँदेखि आउनुभएन र ? काठमाडौंबाट आउनुपरेन ? त्यसैले हामी मिलेरपनि देखाईरहन्र्छौं । यसमा कुनै दरार आउँदैन । हार्दिक जीवन्तका साथ पार्टी अघि बढ्छ।’

रुपन्देहीका जनताहरुले विकास र समृद्धि चाहेको उल्लेख गर्दै थपे,‘जनताहरुले स्वभाविमानका साथ जीवन बिताउन चाहनुभएको छ, केही निश्चित चाहना छ, पहाड र तराईकावीच विभाजन गर्ने कोशिश नहोस, ५ प्रदेश नम्बरको राजधानी बुटवल होस् भन्ने हो । हिजो हामीले थालेका केही महत्वपूर्ण विकासका कामहरु, कालीगण्डकीका पानी तिनाउ नदीमा खन्याउने, अन्र्तराष्ट्रिय विमानस्थलको काम छिटो होस्, बुटवलेदखि गैडाकोट निर्माण छिटो होस्, मेडिकल कलेज निर्माण हुँदैछन्, बेलवास भित्री सडक, बुटवलबाट लमही भएर कोहलपुर जाने सडक, बुटवलबाट पोखरा जाने सडक बनाउने, हुलाकी राजमार्गलाई चार लेनको स्टाण्र्ड अनुसार, रंगशाला निर्माण गर्दैछौं । यो ठाउँलाई महानगर बनाउन चाहन्छौं । राम्रो महानगरको रुपमा। महत्वपूर्ण विकासका आयोजनाहरु छन् । ती सबै आयोजनाहरुलाई समयमै सम्पन्न गर्ने हो।’

उनले आफूले गरेका चुनावी वाचा पूरा गरेको समेत बताए । उनले भने,‘म गरेका बाचा पूरा गर्ने नेता हुँ। अन्र्तराष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया हामीले सुरु गरेका हौं, अब हामी राजनीतिक अस्थिरतलाई समाप्त गर्छौं । प्रक्षेपित लागत, गुणस्तर र समयमा सम्पन्न हुनुपर्छ । आयोजनाहरुमा तीन वटा पूर्व शर्तहरु पूरा हुन्छ।’

५ नम्बर प्रदेशको राजधानी बुटवल, तिलोत्तमा र सैनामैनामध्ये एकमा हुने बताए । उनले भने,‘प्रदेश सभाको दुई तिहाई भन्दा बढिले बुटवल राजधानी बन्छ ।’
त्यस्तै उनले रुपन्देहीका सुकुम्वासीहरुको समस्या समाधानका लागि प्रभावकारी पहल विगतमा पनि आफूहरुले नै लिएको जिकिर गरे ।

उनले भने,‘एमाले र माओवादी केन्द्रले पहल लिएको छ, ६५ हजार घरपरिवारलाई लालपुर्जा प्रदान गरेका थियौं । ०७० सालको निर्वाचन लगत्तै पनि यो प्रक्रिया अघि बढाएका थियौं । अब सुकुम्वासीको विरुद्धमा मुद्दा हाल्ने काम कसैले नगरोस्।’ पौडेलले आफूहरुको पूर्ण ध्यान संविधान कार्यान्वयनमा केन्द्रित रहेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्