Logo

प्रधानमन्त्री देउवा : लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउनुपर्ने



हेटौँडा, १४ मंसिर: प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय प्रजातन्त्र, प्रेस स्वतन्त्रतालाई जीवन्त राख्न र आमजनताको मौलिक हकलाई संरक्षण गर्न लोकतान्त्रिक गठबन्धन आवश्यक भएकाले आम मतदाताले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन मतदातालाई आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले संयुक्त लोकतान्त्रिक गठबन्धन मकवानपुरद्वारा आज पालुङमा आयोजित आमसभालाई सम्बोधन गर्दै वाम गठबन्धनले मुलुकमा एकदलीय कम्युनिष्ट शासन ल्याउने उद्घोष गरेकाले त्यसलाई परास्त गर्न लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन आवश्यक रहेको बताउनुभयो ।

नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले वर्तमान संविधानले संसदीय प्रजातन्त्र र जनताले बोल्ने र लेख्ने हकबाट बञ्चित हुने भएकाले अब देशमा संसदीय प्रजातन्त्र र मानवअधिकारको हकका लागि जनताले अब नेपाली काँग्रेसको गठबन्धनलाई मतदान गरेर समर्थन गर्न आग्रह गर्नुभयो ।

उहाँले काठमाडौँ–हेटौँडा जोड्ने सुरुङमार्ग, कुलेखानी चन्द्रगिरि गणेशमान राजमार्ग, दामनस्थित थाहा पर्यटक विकास र स्थानीय ऋषेश्वर महादेव मन्दिरको निर्माणका लागि वर्तमान सरकारले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताउनुभयो ।

सभामा उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले लोकतान्त्रिक गठबन्धनले प्रजातान्त्रिक सुदृढीकरणका लागि आवश्यक रहेको उल्लेख गर्दै उक्त गठबन्धनले कुनै दल वा समूहको विरोधमा नभई राष्ट्रमा प्रजातान्त्रिक पद्धति र संस्कारलाई दिगो पार्न गठन गरिएको हो भन्नुयो ।

उहाँले नेपाली काँग्रेसको नेतृत्वमा राष्ट्रीय अखण्डता सम्बद्र्धन गर्न र जनताको मौलिक हक र आर्थिक समृद्धिका लागि नेपालीले अब लोकतान्त्रिक गठबन्धनलाई विश्वास गर्नुपर्ने समय आएकाले गठबन्धनको उम्मेदवारलाई मतदान गरेर राष्ट्रको भविष्य उज्वल पार्न आह्वान गर्नुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले राष्ट्रलाई विखण्डन हुनबाट जोगाउन र जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराई गतिशील नेतृत्व प्रदान गर्न लोकतान्त्रिक गठबन्धन सक्षम रहेको धारणा व्यक्त गर्नुभयो ।

सो कार्यक्रममा उद्योगी विनोद चौधरीले मकवानपुरको समग्र विकासका लागि लोकतान्त्रिक गठबन्धनको नेतृत्वमा सरकार बन्नुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेस मकवानपुरका निवर्तमान सभापति रधुरमण न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रस केन्द्रीय सदस्य तथा मकवानपुर क्षेत्र नंं २ का प्रतिनिधिसभाका उम्मेदवार महालक्ष्मी उपाध्याय, पूर्व गृहराज्यमन्त्री एवम् प्रदेशसभा २ का उम्मेदवार इन्द्रबहादुर बानियाँले जिल्लाको समग्र विकासका लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो ।

यसैबीच, नेपाली काँग्रेस पर्साद्वारा आज वीरगन्जको रातो बङ्गलामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले काँग्रेस नै मधेश र मधेशी जनताको भावनाको कदर गर्ने पार्टी भएको दाबी गर्नुभयो ।

उहाँले काँग्रेसको नेतृत्वमा बनेको संविधानमा आवश्यक संशोधन गरी मधेशी जनताको हक अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी कटिबद्ध रहेको बताउनुभयो । काँग्रेसलाई भोट दिनु भनेको नै नेपाली जनतालाई अधिकार सम्पन्न बनाउनु हो भन्दै प्रधानमन्त्री देउवाले संविधानलाई सुदृढ बनाउन काँग्रेसलाई विजय गराउन जरुरी छ भन्नुभयो ।

विसं २००७ को क्रान्तिको शुरुआत वीरगंजबाट नै भएको स्मरण गर्दै काँग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले काँग्रेस सरकारमा आए स्वदेशी तथा विदेशी लगानी भित्र्याएर नेपालमा ठूल्ठूला उद्योग, कलकारखाना स्थापना गरी बेरोजगारी समस्या हट्ने बताउनुभयो ।

यसैगरी, नेपाली काँग्रेसले सप्तरी निर्वाचन क्षेत्र नं ३ को शम्भुनाथ नगरपालिकास्थित कठौना बजारमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मधेशको असली मित्र काँग्रेस नै भएको दाबी गर्नुभयो ।

उहाँले आगामी निर्वाचनमा काँग्रेसले जिते संविधान संशोधनमार्फत मधेशको पहिचान र अधिकार स्थापित गराइने बताउनुभयो । वाम गठबन्धनले मधेशीलाई कुनै अधिकार नदिने भन्दै उहाँले यदि कम्युनिष्ट सरकारमा आए मुलुकमा चुनाव नै नहुने दाबी समेत गर्नुभयो ।

मधेसमा काँग्रेसको विजयी सुनिश्चित भइसकेको दाबी गर्दै प्रधानमन्त्री देउवाले काँग्रेस पार्टी लोकतन्त्रमा विश्वास गर्ने पार्टी रहेकोले काँग्रेस मधेशकै पार्टी भएको बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले सप्तरीको कठौना पातो सडकखण्ड, शम्भुनाथ बनैनिया सडकखण्डलाई कालोपत्रे, शम्भुनाथ–गाईघाट सडकखण्ड खोल्ने, सप्तरीको हुलाकी सडकखण्ड यसै आर्थिक वर्षमा सञ्चालन गरिने बताउनुभयो ।

शम्भुनाथमा २५ शय्याको अस्पतालको निर्माणका लागि पहल गरिने जानकारी दिँदै प्रधानमन्त्री देउवाले बाढीपीडितलाई रु ३० लाखसम्म सहयोग दिने निर्णय भएको र आवास निर्माणका लागि रु १५ हजार, लत्ताकपडाका लागि रु १० हजारसमेत राहत दिने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्