Logo

कांग्रेसले वाम गठबन्धनलाई सिध्याउने प्रयास गरिरहेको छ : गौतम



बर्दिया, १६ मंसिर । नेकपा एमालेका उपाध्यक्ष एवम् बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बामदेव गौतमले अबको प्रधानमन्त्री आफू नै बन्ने दाबी गरेका छन् ।

आफूलाई प्रधानमन्त्रीको दाबी गर्दै आएका गौतमले रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा पनि आफू जत्तिको नैतिक रुपमा बलियो उम्मेदवार एमाले र माओवादीभित्रसमेत नरहेको जिकिर गरेका छन् ।

उनले बर्दियामा चुनावी माहोल गरमागर्मी रहेको बताउँदै भने,‘वामपन्थी उम्मेदवाहरुले जित्ने पक्का भइसक्यो । बाम गठबन्धनप्रति जनताको लहर आएको छ । त्यसैले चुनाव जित्छौँ ।’

पत्रकार धमलाले तपाईको अवस्था के छ ? भनेर सोधेको एक प्रश्नमा उनले भने,‘मैले चुनाव जित्नेमा कुनै शंका छैन । मैले चुनाव जितिसकेको छु ।’ गौतमको जवाफ भुईंमा खस्न नपाउँदै धमलाले फेरि अर्को प्रश्न तेर्साए,‘एमालेका कार्यकर्तालेसमेत मलाई भोट हाल्छन् भनेर संजय गौतमले प्रचार गर्नुभएको छ नि ?

निकै आक्रोशित बनेका नेता गौतमले कडा जवाफ फर्काए,‘एमालेका कार्यकर्ता कांग्रेसका उखरमौला कार्यकर्ता जस्ता हुन् र ? संजय गौतमले पैसा दिएको भरमा हाम्रा व्यानर च्यात्ने काम कांग्रेसका कार्यकर्ताले गरेका छन् । एमालेका कार्यकर्ता यस्ता छैनन् ।’

केन्द्रमा माओवादीसँग गठबन्धन भए पनि तल्लो तहमा माओवादीका कार्यकर्ताले एमालेलाई मतदान गर्दैनन भन्नु गलत प्रचारमात्रै भएको टिप्पणी गरे । उनले थपे,‘शतप्रतिशत गर्छन् । यस्तो पनि कसैले कुरा गर्छ ? यो त कांग्रेसको दिमागमा आएको सपनाको पुलाउ हो । हामीले त जितिसक्यौँ । कांग्रेसले त कति ठाउँमा हाछौँ भनेर गनिरहेका छन् ।

उनले एकता भन्ने कुरा आफूलाइ राम्रोसँग थाहा भएको जिकिर गर्दै थपे,‘ मैले २० वटा पार्टी एकता गराइसकेको छु । आज पनि मेरै कारणले एमाले र माओवादी एकता हुन लागेको हो । एकता कसरी गर्नुपर्छ मलाई थाहा छ । ऋषि धमला र अरुलाई थाहा छैन ।’ उनले नेपाल अब साम्यवादको बाटोमा गएको समेत स्पष्ट पारे ।

नेपाली कांग्रेसले त तपाईहरु अधिनायकवादतिर जाँदै हुनुहुन्छ भन्ने आरोप लगाएका छन् नि ? भनेर सोधिएको प्रश्नमा गौतमले थपे,‘त्यो आरोप गलत छ । कम्युनिष्टलाई आरोप लगाएर कांग्रेस नै अधिनायकवाद तिर गइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता विपरित काम गरिरहेका छन् । आयोगलाई टेरेका छैनन् । यही हो अधिनायकवाद । तर जनताले अहिले उल्ट्याउँदै छन् । कांग्रेस अहिले पागल भएको छ ।’

आफूहरुले राष्ट्रपति शासन ल्याउने भनेर घोषणापत्रमा कहीँकतै नलेखेको उल्लेख गर्दै भने,‘अहिले घोषणापत्रमा लेखेका छैनौँ । तर पछि आवश्यकता अनुसार राष्ट्रपति शासनमा जान्छौँ । नेपाली जनताले चाहे भने प्रत्यक्ष निर्वा्चित राष्ट्रपतिय शासनमा जान सक्छौँ ।’

वाम गठबन्धनको दुई तिहाई बहुमत आउने समेत गौतमको दाबी थियो । गौतमले थपे,‘यसपटक एमाले र माओवादी केन्द्रको गठबन्धनले दुई तिहाई बहुमत आउँछ ।’

कांग्रेसले वाम गठबन्धनलाई सिध्याउने प्रयास गरिरहेको उनको आरोप थियो । ‘हेरम जनताले कसलाई साथ दिन्छन् । हामी त जनताको चाहना अनुसार चल्ने पार्टी हो । शेरबहादुर त संविधान विरोधी हुन् । संविधान पढेका पनि छैनन् । पढे पनि दिमागमा राखेका छैनन् ।’–उनले भने ।

अबको प्रधानमन्त्री को हो ? भनेर धमलाले सोधेको अर्को प्रश्नमा गौतमले भने,‘त्यो त चुनाव सकिएपछि निर्णय हुन्छ । म पनि प्रधानमन्त्रीको दाबेदार हुँ । म प्रष्ट रुपमा प्रधानमन्त्रीको उम्मेदवार हुँ । एमाले माओवादीभित्र नैतिक रुपमा प्रधानमन्त्रीको दाबी गर्न सक्ने म जत्तिको नेता अरु छैन ।’

आफूलाई प्रधानमन्त्री बन्न केपी ओली र प्रचण्ड दुवैले समर्थन गर्ने समेत दाबी गरे । पार्टी एकतापछि अध्यक्ष को बन्ने भन्ने कुरा पनि आफूहरुले सहमतिमै गर्ने उनको दाबी थियो । ‘त्यो पनि पछि थाहा हुन्छ । केपी ओली कि प्रचण्ड भन्ने हामी बिचार पु¥याएर निर्णय गछौँ । अहिले हामी बोल्दैनौँ ।’ चुनाव सकिएको तीन महिनाभित्र पार्टी एकता हुने गौतमले ठोकुवा गरे ।

तपाई अहिले बर्दियाबाट चुनाव लडे पनि अर्कोपटक यहाँ नआउने हो कि भन्ने आशंका जनताले गरेका छन् नि ? भनेर सोधिएको एक प्रश्नमा गौतमले भने,‘म यसपटक पनि जुनसुकै ठाउँबाट चुनाव लड्न सक्थेँ । तर म बर्दिया नै किन आएँ ? किनकी बर्दिया मेरो कर्मथलो हो । पार्टी निर्माण गर्ने र संसदीय संघर्षमा महत्वपूर्ण भूमिका खेलेको हुनाले पार्टीले मलाई यहाँ पठाएको हो ।’

उनले बर्दियाको विकासको लागि आफूले धेरै काम गरेको समेत जिकिर गरे । गौतमले थपे,‘अरु ठाउँका जनताको मुहार जस्तो छ त्यस्तै बर्दियाका जनताको मुहार छ । मेरो आलोचना गर्नेहरुले यहाँका जनताको मुहार मलिनो छ भन्छन् । तर म यहाँबाट जितेर गएपछि नेपालमा अरु कसैले गर्न नसकेको काम गरेको छु । बबइ सिँचाई योजना, भेरी डाइभर्सनको सुरु गरेँ । मैले पार्टीको नेतृत्व गरेका बेला आफ्नो गाउँ आफैँ बनाउ भन्ने अभियान सुरु गरेँ । बर्दियामा जति पनि मोटरबाटो बनेका छन्, ति सबै मैले नै गरेको हुँ ।’

त्यतिमात्रै नभएर उनले सुकुम्बासी समाधान आयोग बनाएर ८४ हजार सुकुम्बासीलाई घरघडेरी दिलाउने काम आफूले नै गरेको दाबी गरे । उनले भने,‘यी सबै योजना बर्दियामा पनि लागु भएको छ । सामाजिक सुरक्षा भत्ता कार्यक्रम मैले सुरु गरेर नेपाली कांग्रेसको मुखमा बुजो मैले नै लगाएको हुँ । अहिले बर्दियामा मोटर बाटो नपुगेको ठाउँ नै छैन । देशभरी बनेका ८१ हजार किलोमिटर सडक एमालेले नै बनाएको हो ।’

तपाईको प्रतिस्पर्धी संजय गौतमले त बामदेव गौतमले केही पनि काम गरेनन् भन्ने आरोप लगाएका छन् नि ? भनेर सोधेको अर्को प्रश्नमा उनले भने,‘वास्तवमा संजय गौतम कांग्रेस होइनन, जमिन्दार हुन् । उनी जमिन्दारी शासन देखाउन चाहन्छन् । उनले भन्छन् नि यहाँ नजन्मेकाहरु चुनावमा उठ्नै पाउँदैनन् । बर्दियामा केही काम भएको छ भने बामदेव गौतमले गर्दा नै भएको छ । संजयले त एउटा सिन्को भाँचेका छैनन् । मैले बनाएको सडकमा एउटा ढुङ्गा हाल्ने काम पनि उनले गरेका छैनन् । कांग्रेसले विकास विरोधी काम मात्रै गर्छ ।’

बबइ सिँचाई आयोजनामा बजेट आफूले पारेको दाबी संजय गौतमले गरेपनि उक्त आयोजनमा सञ्जयले एक पैसा पनि नपारेको बामदेवको आरोप थियो । उनले थपे,‘यो सबै भ्रम हो । संविधान जारी भएपछि एमाले र माओवादीको नेतृत्वको सरकारले बजेट ल्याएको हो । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि त बजेट नै आएको छैन नि ।’

गौतमले बर्दियाका जनताले सडक पिच खोजेको स्पष्ट पारे । उनले भने,‘ चुनावपछिको २ वर्षभित्रमा सबै सडक पिच हुन्छन् । पाँच वर्ष्भित्र बबइ नदीलाई नियन्त्रण गछौँ । यसका लागि डिपिआर बनिसकेको छ । बर्दियाका सुकुम्बासी वा घरबार नभएकालाई घर बनाइदिन्छौँ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot