Logo

कैलाली क्षेत्र नम्बर १ मा महिला–महिलावीच रोचक प्रतिष्पर्धा : आ–आफू जित्ने न्यौपाने र शाहको दाबी



कैलाली, १६ मंसिर । कैलाली १ मा प्रतिनिधि सभाका लागि दुवै गठबन्धनबाट महिला नेतृहरु प्रतिष्पर्धामा उत्रिएका छन् । कांग्रेसकी ईश्वरी न्यौपाने र एमालेकी मदनकुमारी शाह (गरिमा शाह) एक आपसमा भिड्दै छन।

वाम र लोकतान्त्रिक गठबन्धन दुवैले महिलालाई चुनावी मैदानमा उतारेको यो एकमात्रै क्षेत्र हो। न्यौपाने कांग्रेसकी पूर्वसचेतक हुन् र कांग्रेसको केन्द्रीय राजनीतिमा प्रभावशाली मानिन्छिन् । शाह ०७० सालकी समानुपातिक सांसद हुन् ।

शनिबार कैलालीमा पुगेको रिपोर्टर्स क्लब नेपालको टोलीसँगको विशेष चुनावी साक्षात्कारमा बोल्दै दुवै उम्मेद्धवारले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् । पत्रकार ऋषि धमलासँगको विशेष कुराकानीमा बाम गठबन्धनको तर्फबाट कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाकी उम्मेद्धवार बनेकी शाहले आफू विजयी हुनेमा कुनै शंका नभएको दाबी गरिन् ।

शाहले उक्त क्षेत्रमा अहिलेको समस्या भनेको नै आर्थिक समृद्धि नै चाहिएको बताईन् । उनले भनिन,‘आर्थिक विकास हो, गरिबी छ, रोजगारी छैन, अहिले पनि जनता डुबानमा बसेका छन्, लामो समयसम्म सत्ता सञ्चालन गरेकाहरुले आफू बन्ने बाहेक अरुको ध्यान दिएनन्, कांग्रेसले विकास गर्न सकेन, यो देश पछि पर्नुको प्रमुख कारण नै कांग्रेसले कहिल्यैपनि देशको विकासको लागि केही गरेन् ।’

उनले मुलुकमा निरन्तर कांग्रेसेले धेरै सत्ता सञ्चालन गरेको तर विकास गर्न नसकेको गुनासो पोखे । त्यस्तै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले विकास कांग्रेसले गरेको भनेर दिएको अभिव्यक्ति नै झुटो भएको तर्क गरिन् । उनले भनिन्,‘देउवाको भनाई नै झुटो हो, सडकहरु हेर्नुहोस्, खाल्डाखुल्डीहरु छन्, युवाहरु खाँडी मुलुक जान बाध्य छन् । देउवाहरुले विकास गरेको भए, नेपालमा जनयुद्ध हुने नै थिएन नि।’

विकासको बाधक एमालेर भनेर आरोप लगाउनु नै गलत भएको उनको टिप्पणी थियो । उनले थपिन्,‘एमाले दोषी भन्नु गलत हो, हाम्रो नेता माधव नेपाल प्रधानमन्त्री हुँदा रानी जमरा गुलरिया आयोजना बन्यो, राष्टिय गौरवको आयोजना सम्पन्न भयो, जति–जति बेला हामीलाई सरकारमा जाने अवसर प्राप्त भयो, त्यति त्यतिवेला हामीले देश र जनताको मुहार फेर्ने काम गरेका छौं, स्वभाविक रुपमा कैलालीमा पनि विकास हामीले नै गरेको हो।’

उनका अनुसार अहिले कैलालीमा प्राविधिक शिक्षाको सुरुवात आफूहरुकै कारण भएको हो । त्यस्तै शाहले भनिन्,‘वाम गठबन्धनको सरकार बन्यो भने पोलि टेक्निकल कलेजको स्तरोन्नती पनि हुन्छ, यो क्षेत्रलाई उत्तरको नाकासँग जोड्नुपर्छ, सेती लोकमार्गपनि सुरु हाम्रै कारणले भयो । सुदुपश्चिम विश्वविद्यालय स्थापना, मेडिकल कलेज निर्माणधिन अवस्थामा छन। यी सबै जनताका पक्षमा भएका कामहरु जो भएका छन्, हाम्रै कारणले भएका छन् ।’

उनले आफ्नी प्रतिष्पर्धी न्यौपानेले आफ्नो पार्टीले विकास गरेको भनेर गरेको तर्कमा कुनै सत्यता नै नभएको दाबी गरिन् । शाहले थपिन्,‘एउटा पनि काम गर्नुभएको छैन, गरेको भए यो यो काम गरें भनेर देखाउनुपर्यो । ०६४ सालमा मैले चुनाव लड्दा पनि प्रण गरेको थिएँ, हाम्रो पहलमा धेरै काम भएका छन् । कर्णाली नदिमा धेरै ठाउँमा तटबन्ध बनेका छन्, यो क्षेत्र पर्यटनको संभावना छ भनेर छलफल गर्ने र यसको नेतृत्व गर्ने मान्छे मै हुँ, सांसद भएपछि मैले डल्फिन क्षेत्रमा आराम गर्ने ठाउँ बनाएँ । परम्परागत बाटो बनेका छन् । टिकापुर पार्कभित्रको महेन्द्र आरोग्य भवन, विरेन्द्र बाटिका बनाएको छु ।’

उनले उक्त क्षेत्रका जनताले आफूलाई नै मतदान गर्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्,‘यहाँका नजताले गरिमा शाहलाई मतदान गर्छन, सुर्य चिन्हमा भोट हाल्नुहुन्छ, म त पार्टीको नेता तथा कार्यकर्ता हो, गरिमा सुदुर पश्चिको आवाज बन्न सक्छे भन्ने कुरा यहाँका जनतालाई राम्रोसँग थाहा छ । गरिमा विकास प्रेमी हो।’

उक्त क्षेत्रमा महिला महिलावीच प्रतिष्पर्धा भएपनि दुवै जनामध्ये एकजना निर्वाचित भएर सदनमा पुग्ने उनको भनाई थियो । उनले भनिन्,‘पार्टीले मलाई टिकट दियो। म्हिला–महिला प्रतिष्पर्धी भएको ठाउँ हो ।’

त्यस्तै उनले उक्त क्षेत्रमा तत्काल गर्नुपर्ने कामहरुको समेत आफूले फेहरिस्त बनाईसकेको स्पष्ट पारिन् । उनले भनिन्,‘निर्वाचित भएँ भने सामाजिक सद्भावलाई बलियो बनाउने प्रण गर्छु, राष्ट्रिय भावनाबाट ओतप्रोतबाट बलियो, विदेशमा रहने नेपालीहरुलाई मताधिकार गर्न पाउने कानून बनाउन पहल गछुए, यो क्षेत्रलाई व्यापारिक नाका बनाउनेछु ।’

त्यस्तै उनले टिकापुर घट्नालाई असाध्यै दुखदायी र अमानवीयको संज्ञा समेत दिईन् । उनले थपिन्,‘म यहाँ अहिले दुई प्रकारको अतिवादी देख्छु, पहाडीया अतिवादी र थारु, यही कारणले टिकापुरको घट्ना घटेको हो । दुवै अतिवादलाई परास्त गर्न जरुरी छ । त्यस्तो अतिवादी विचार बोक्नेहरुलाई परास्त गर्नुपर्छ।’ उनले आफ्नो प्रतिष्पर्धा व्यक्तिसँगभन्दा पनि सिँगो कांग्रेस पार्टीसँग भएको स्पष्ट पारिन् ।

त्यस्तै लोकतान्त्रिक गठबन्धनबाट उम्मेद्धवार बनेकी ईश्वरी न्यौपानेले आफू घरदैलोमा जाँदा जनताले विभिन्न खाले समस्याहरु राखेको उल्लेख गर्दै ती सबै समस्याहरु आफूले हल गर्ने स्पष्ट पारिन् । उनले आफू विजयी हुने समेत दाबी गरिन् । न्यौपानेले भनिन्,‘मेरो विजयी निश्चित छ, यहाँका महिला दिदिवहिनीहरुले पनि मलाई रुचाउनुभएको छ, तपाईलाई विजयी बनाएर पठाउँछौं भन्नुभएको छ।’

उनले भनिन्,‘जनताहरुका विभिन्न समस्याहरु छन् । किसानका समस्याहरु पनि छन्, खेतमा धान छैन । उब्जेको धानको मुल्य भाउ तोकिदिएन । गहुँ छर्ने बेला मल पाएनन् । सरकारले धेरै मल उपलब्ध गराउन सकेको छैन । मलको अभाव हुनु, नेपालमा मलको फ्याक्टी छैन ।’

उनले डिग्री घरघरमा भएपनि यहाँ कुनै रोजगारी नभएको तर्क गरे । न्यौपानेले थपिन्,‘कसैको डिग्री छैन, मसल छ, तर रोजगारी छैन । बजारको सेक्टरमा रोजगारीको समस्या छ । व्यवस्थित संरचना मात्रै छ, शहर बन्न सकेको छैन ।’

मुलुकमा लामो समयसम्म द्धन्द्ध भएकोले विकास निर्माणमा सरकारको ध्यान नपुगेको उनको भनाई थियो । उनले भनिन्,‘हाम्रो पार्टीको सरकार बन्दापनि विकासमा चाहेरपनि ध्यान केन्द्रित हुन सकेन । भौतिक संरचना भत्किएको अवस्था थियो । हो, कांग्रेसले अवसर पायो तर म घमण्ड गर्न चाहाँन्न, नेपाली कांग्रेस व्यवस्थाको विरुद्धको लड्यो, प्रजातन्त्रको लागि लड्यौं, विकास र समृद्धिको लागि कांग्रेस नेतृत्व चुकेको छैन।’

आफूहरुले देश र जनताको मुहार परिवर्तन गर्न चाहेकै हो भन्दै उनले थपिन्,‘जनताको जीवनस्तर उकास्न सकियो, समृद्धि र विकासको एजेण्डा कम्युनिष्टहरुले बोक्ुनपर्छ, भन्ने यो भ्रम हो । माओवादी विर्सजन भएकोमा हामीलाई थाहा छैन, उहाँहरु विर्सजनको संघारमा हुनुहुन्छ । हेर्नुहोस आफ्नो पार्टीभित्र हेर्नुहोस्, कम्युनिष्टहरुको बहुमत ल्याउँदैनन, एक दलीय तानाशाही ल्याउँछन भन्ने कुरा जनताले बुझ्नुभयो, अब उहाँहरुको दुई तिहाईको सपना सपनामात्रै सिमित हुन्छ।’

सबै कम्युनिष्टहरु एउटै छातामा हिँड्नु अत्यन्तै राम्रो कुरा भएको उनको टिप्पणी थियो । उनले भनिन्,‘मैले लेखेको संविधानमाथि धोका हो, आवधिक निर्वाचन हुनुपर्छ, तर उहाँहरु दुई तिहाई आयो भने यो परिवर्तन गर्छौं, उ परिवर्तन गछौं भनेर हिँड्नुभएको छ।’

उनले आफूहरुवीचको प्रतिष्पर्धा महिला महिलावीचको प्रतिष्पर्धा मात्रै नभएर पार्टी पार्टीविच प्रतिष्पर्धा रहेको सुनाईन् । उनले थपिन्,‘जसरी पुरुष पुरुष लड्दा सामान्य कुरा हो, त्यसैगरि महिला–महिला लड्दा सामान्य छ । जे होस रोचक प्रतिष्पर्धा भैरहेको छ । असजिलो भएको छैन । चुनाव प्रचारप्रसार गर्नु आरोप प्रत्यारोप होईन।, म कहिल्यैपनि व्यक्तिगत आरोपप्रत्यारोपमा उत्रिने छैन ।’

उनले उक्त क्षेत्रका आम मतदाताहरुले आफूलाई मत दिने बताईन् । उनले भनिन्,‘जनताले ईश्वरीलाई मतदान गर्ने । हिजो म क्षेत्र नम्बर ३ मा थिएँ, आज यो क्षेत्रमा छु, यहाँ पनि जनताको अपार स्नेह पाएको छु ।’ त्यस्तै उनले रेशम चौधरीको प्रतिष्पर्धालाई समेत सामान्य रुपमा लिएको बताईन् । उनले भनिन्,‘उहाँ पनि नेपाली हो, मतदाताहरुले मेरो एजेण्डा हेरेर भोट दिने हो । जात हेरेर भोट दिने होईनन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot