काठमाडौं १७ मंसिर । स्थानीय तह निर्वाचनमा सर्वाधिक चर्चामा रहेको भरतपुर महानगर प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पनि धेरैको चासोमा परेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष तथा वन मन्त्री विक्रम पाण्डेबीच तीव्र प्रतिस्पर्धा हुने मानिएको यो क्षेत्रमा अहिले पार्टीका नेता/कार्यकर्ता प्रचार र घरदैलोमा केन्द्रित छन् । तर, भन्दा भरतपुर भनिए पनि यो क्षेत्रको खास लडाइँचाहिँ माडी फाँटमा भइरहेको छ ।
स्थानीय तहमा झिनो अन्तरले माओवादीले मेयर जितेको माडी नगरपालिका क्षेत्रमा अहिले दिनका दिन दलका सभा, कोणसभा र भेला भइरहेका छन् । युद्धकालमा यहाँको सर्वसाधारण चढेको गाडी माओवादीले थापेको एम्बुसमा पर्दा ४२ जनाको मृत्यु भएको बाँदरमुडे पनि यही माडी क्षेत्रमा पर्छ । भरतपुरबाट चितवन राष्ट्रिय निकुञ्ज कटेर जानुपर्ने पश्चिम चितवनको यो क्षेत्र जिल्लामा निकै राजनीतिक चहलपहल हुने क्षेत्र मानिन्छ ।
साताअघि माडी क्षेत्रको बाँदरझुलामा चुनावी सभा गरेका दाहाल आइतबार फेरि माडीमा सभा गर्न जाँदैछन् । आइतबारको सभामा उनी एक्लै हुने छैनन् । वाम गठबन्धनका जोडीदार एमाले अध्यक्ष केपी ओली पनि माडी उत्रिँदै छन् । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेका पनि यस क्षेत्रमा चुनावी सभा भइरहेका छन् । तर उनको सभामा कांग्रेस सभापति शेरबहादुर देउवा वा कुनै ठूला नेता आएका छैनन् ।
शनिबार भने माडीको केन्द्र मानिने वसन्तपुर बजारमा एक ठूला वामपन्थी नेता सानो कोणसभामा बोलिरहेका थिए । देशैभर वामपन्थी गठबन्धन बनिरहेको भए पनि यी वरिष्ठ वामपन्थी नेता अर्कै नेतालाई भोट माग्दै थिए । ती नेता थिए, नेकपा माओवादीका महासचिव मोहन वैद्य । एमाले र माओवादीले वामपन्थीका नाममा जनतालाई झुक्याएको भन्दै उनले आफ्ना पार्टीका उम्मेदवार टंकनाम रेग्मीको पक्षमा भोट मागे । लामो समयका राजनीतिक साथी दाहालले प्रतिस्पर्धा गरेकै ठाउँमा उनका विरुद्ध प्रचार गरेर वैद्यले आफ्नो राजनीतिक अडान प्रस्तुत गरे । लोकतान्त्रिक र वामपन्थी दुवै गठबन्धनलाई सिन्डिकेट भएको भन्दै यो खालि कुर्सीका लागि बनेको बताए ।
वसन्तपुरको एक छेउमा वैद्यले भाषण गरिरहँदा बजारको अर्को छेउमा भने वाम गठबन्धनका गायकहरू सडकमा माइक घन्काएर गीत गाइरहेका थिए । बजारको मुख्य चोकमा पार्टीको प्रचारका ध्वजापताका टाँगिएका थिए । त्यसकै पछिल्तिर आइतबार हुने दाहाल–ओली सभाको मञ्च बनाउने काम पनि चलिरहेको थियो । तयारी देख्दा सभा भव्य हुने अनुमान लगाउन सकिन्थ्यो । वैद्यको भाषण चलिरहेका बेला पनि मोटरसाइकलमा ओहोरदोहोर गर्ने समूह सक्रिय थिए ।
मुस्किलले सय डेढ सय उपस्थित सभामा वैद्यले कम्युनिस्टले जिते साम्यवाद आउने, चुनाव नहुने लोकतान्त्रिक अधिकार खासिने भन्नेबारे पनि बोले । उनले भने, ‘देउवाजीले कुरै बुझ्नुभएको छैन । एमाले र माओवादी पनि तपाईंहरूजस्तै संसदीय भासमा लम्पसार परेका पार्टी हुन् । यिनले चाहेर पनि साम्यवाद ल्याउन सक्दैनन् ।’ र, उनले यसमा थपे, ‘तर कम्युनस्टि भएकाले साम्यवाद ल्याउँछौं भन्नुपर्नेमा ओली र दाहालले पनि हामी ल्याउँदैनौं भन्दै हिँडिरहेका छन् । यी कस्ता वामपन्थी हुन् ?’
वैद्यले लोकतान्त्रिक र वाम गठबन्धनको चर्को आलोचना गरे पनि चुनावको माहोल भने यिनै दुई गठबन्धनका पक्षमा देखिएको छ । यहाँका अधिकांश बुद्धिजीवी र स्थानीयवासी दाहाल र पाण्डेबीच तीव्र प्रतिस्पर्धा हुने बताउँछन् । भरतपुर महानगरको चुनावजस्तै यसपटक पनि यहाँ कांग्रेसका उम्मेदवार छैनन् । भरतपुरमै पहिले मेयर टिकट पाएका दिनेश कोइराला प्रदेशसभामा उम्मेदवार छन् । प्रतिनिधिसभामा कांग्रेसले विक्रम पाण्डेलाई समर्थन गरेका कारण यहाँ राप्रपा र कांग्रेसका नेता/कार्यकर्ता संयुक्त रूपमा प्रचारमा छन् । वनकट्टी र द्रौपदी नगर क्षेत्रमा दुवै पार्टीका महिला कार्यकर्ता भोट माग्न र भोट हाल्ने तरिका सिकाउन घुमिरहेका थिए । माडीवासी तथा कांग्रेस जिल्ला कार्यसमितिका सदस्य शोभाकर चापागाईंले यसपालि लोकतान्त्रिक गठबन्धन कसिलो भएको बताए । ‘माओवादीलाई कांग्रेसले भोट हालेर भरतपुर महानगरमा जिताएको तीन महिनामै माओवादीले एमालेसँग मिलेर धोका दिएका कारण पनि कांग्रेसले पाण्डेको विकल्प खोजेको छैन,’ उनले भने । बाँदरमुडे घटनाका पीडितलाई धम्क्याउनेलगायत दबाब माओवादीले बढाएका कारण पनि कांग्रेसको मत माओवादीमा नजाने यस क्षेत्रका कांग्रेस नेता एवं पूर्वसांसद तीर्थ भुसालले बताए ।
२०५१ को निर्वाचनमा यस क्षेत्रबाट भुसाल विजयी भएका थिए । त्यसअघि ०४८ मा जनमोर्चाका तर्फबाट अमिक शेरचन यहाँबाट विजयी भएका थिए भने ०५६ मा माडीले कांग्रेसका नारायण शर्मा पौडेललाई जिताएको थियो ।२०६४ को पहिलो संविधानसभामा माओवादीबाट पुन: शेरचन विजयी भए भने ०७० मा एमालेका दानबहादुर तामाङलाई पराजित गरी राप्रपाका विक्रम पाण्डे विजयी भए ।
देउवा सरकारका वनमन्त्री पाण्डे नेपालकै प्रमुख निर्माण व्यवसायी मानिन्छन् । विकासप्रेमी नेताका रूपमा क्षेत्रमा स्थापित पाण्डेले यसपालि पूर्वप्रधानमन्त्री दाहालको राष्ट्रिय व्यक्तित्वको सामना गर्नुुपर्ने छ । यसैले पनि यो क्षेत्रमा उनले निकै मिहिनेत गरेको भुसालले बताए । माडीमा अहिले राजनीतिक दलको मात्रै कार्यक्रम छैनन्, नागरिक अभियानका नाममा पनि दाहालका पक्षमा प्रचार भइरहेको छ । अभियानमा संलग्न माओवादीनिकट व्यवसायी मित्रराज दवाडीले माओवादीले पनि निकै मिहिनेत गरेको बताए । ‘दिनरात नभनी घाँटी दुख्ने गरी प्रचार गरिएको छ,’ उनले भने । कान्तिपुरबाट