Logo

धनुषा १ र २ मा काँग्रेस, वाम गठबन्धन र मधेशी गठबन्धनबीच त्रिकोणात्मक प्रतिस्पर्धा



१७ मंसिर, धनुषा । धनुषाको निर्वाचन क्षेत्र नं १ र २ मा काँग्रेस, वाम गठबन्धन र मधेशी गठबन्धनबीच त्रिकोणात्मक प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि धनुषा निर्वाचन क्षेत्र नं १ बाट वाम गठबन्धनबाट माओवादी नेता मातृकाप्रसाद यादव प्रत्यक्ष चुनावी मैदानमा पहिलो पटक उत्रिएका छन् ।

त्यस्तै नेपाली काँग्रेसका तर्फबाट सोही क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि आनन्द ढुंगानाले उम्मेदवारी दिएका छन् भने फोरम राजपा गठबन्धनबाट फोरमका दीपक कार्कीले उम्मेदवारी दिएका छन् । कार्की हालै मात्रै काँग्रेस परित्याग गरी फोरम प्रवेश गरेका हुन्।

प्रदेशसभा सदस्यका लागि धनुषा १ को (क) बाट वाम गठबन्धनका तर्फबाट एमालेका किशोरी साह, १ (ख) बाट वाम गठबन्धनबाट माओवादीका रामचन्द्र मण्डल चुनाबी मैदानमा छन् भने नेपाली काँग्रेसबाट १ (क) मा प्रेमकिशोर साह र (ख) मा रामउदय यादव प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै फोरम राजपा गठबन्धनबाट १ (क) मा फोरमका श्यामनारायण यादव तथा १ (ख) मा राजपाका सञ्जय सिंहले उम्मेदवारी दिएका छन् ।

एउटा क्रान्तिकारी र भ्रष्टाचार विरोधी नेताका रुपमा छवि बनाउन यादव सफल भए पनि उनलाई चुनाव जित्न भने त्यति सहज छैन । उनको प्रतिस्पर्धा धनुषामा पञ्चायतकालमा शेरेधनुषाको उपाधि पाएका हेमबहादुर मल्ललाई लगातार तीन पटक हराउन सफल नेपाली काँग्रेसका नेता आनन्दप्रसाद ढुंगानासँग छ ।
पहिलो संविधानसभाको चुनावमा माओवादीबाट समानुपातिक सभासद् बनेका यादव माओवादी अध्यक्ष प्रचण्डसँग असन्तुष्टि बढेपछि आफ्नो कार्यकाल पूरा गर्नु अघि नै सभासद्बाट राजीनामा दिएका थिए ।

धनुषा–१ मा गणेशमान चारनाथ, धनुषाधाम, मिथिला, क्षिरेश्वरनाथ, मिथिला विहारी, सबैला र हंशपुर नगरपालिका गरी सातवटा स्थानीय तह छन् । स्थानीय तहको निर्वाचनमा गणेशमान चारनाथ नगरपालिका र सवैला नगरपालिकामा माओवादी केन्द्रले उपप्रमुख सहित केही वडाअध्यक्षमा जितेको थियो भने बाँकीमा काँग्रेस र मधेशवादी दलले जितेका थिए । यहाँ स्थानीय तहमा काँग्रेसले बढी सिट जितेका छ ।

पञ्चायती व्यवस्थाविरुद्ध आफ्नै गाउँ सबैलामा काँग्रेस कार्यकर्ताको प्रभावमा परेर मातृका राजनीतिमा आएका थिए । विसं २०३३ बिपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर ‘मेरो घाँटी र राजाको घाँटी एउटै हो’ भनेर नेपाल आएपछि मात्रिका काँग्रेसबाट नै अलग भएका थिए ।
यादवले अब संविधान संशोधन गराउन र मधेशको विकासका लागि प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दिएकाले जनताले आफूलाई जिताउने विश्वास व्यक्त गरेका छन् ।

आफूले चुनाव जिते रोजगारीको सिर्जना गर्ने, बन्द रहेको जनकपुर चुरोट कारखाना पुनःसञ्चालनमा ल्याउने, किसानको समस्या समाधान गर्ने, शिक्षा स्वास्थ्यलगायत क्षेत्रमा काम गर्नुका साथै भ्रष्टाचार अन्त्य गर्न लागिपर्ने यादवको भनाई छ ।

अर्का प्रतिस्पर्धी ढुंगानाले मधेश र मधेशीको माग नेपाली काँग्रेसले मात्र पूरा गर्न सक्ने भएकाले नेपाली काँग्रेसमा मतदान गर्न सबैलाई आग्रह गर्दै आएका छन् । नेता ढुंगाना राष्ट्रिय पार्टी बन्न तीन प्रतिशत मतका लागि संघर्ष गरिरहेको कुनै क्षेत्रीय पार्टीले मधेशको राजनीतिक, आर्थिक र विकास–निर्माणको माग पूरा गर्न नसक्ने भएकाले यस क्षेत्रका मतदाताले आफूलाई नै जिताउने विश्वास व्यक्त गर्छन् । काँग्रेस पहिलेदेखि नै बलियो भएकाले कुनै वाम गठबन्धनले आफूलाई हराउन नसक्नेमा विश्वस्त रहेको उनको भनाई छ । नेपाली काँग्रेसकै नेतृत्वमा नयाँ संविधान बनेकाले नेपाली काँग्रेसले बहुमत ल्याए मात्र मधेशको माग संविधान संशोधनमार्फत सम्बोधन हुनेमा जोड दिएका छन् ।

यता मधेशी गठबन्धनको उम्मेदवार दीपक कार्की पनि पुराना अनुहारभन्दा जनताले नयाँ अनुहारका नेता खोजेकाले आफू जित्नेमा ढुक्क हुनुहुन्छ । मधेश र मधेशीको अधिकारका लागि मधेशवादी दलभन्दा अरुले बुझ्न नसक्ने भएकाले जनताले आफूलाई मतदान गरी जिताउनेमा नेता कार्की विश्वास व्यक्त गर्नुहुन्छ । उहाँ हालै काँग्रेस परित्याग गरी फोरममा प्रवेश गर्नुभएको हो ।

त्यसैगरी धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा पनि त्रिकोणात्मक प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली काँग्रेस, वाम गठबन्धन र मधेशवादी गठबन्धनका तर्फबाट संघीय समाजवादी फोरमबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

नेपाली काँग्रेसबाट रामकृष्ण यादव, वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता रामचन्द्र झा र संघीय समाजवादी फोरमबाट उमाशंकर अरगडियाबीच कडा प्रतिस्पर्धा हुने स्थिति छ ।

काँग्रेस नेता रामकृष्ण यादव धनुषा निर्वाचन क्षेत्र नं २ बाट दुई पटक लगातार निर्वा्चित भइसक्नुभएको छ । पहिलो पटक सभासद् बनेपछि लेखा समितिको संयोजक समेत हुनुभएको यादव अहिले कृषिमन्त्रीसमेत हुनुहुन्छ । सोही क्षेत्रबाट आफ्नो भविष्य खोजी रहेका माओवादी नेता रामचन्द्र झा पनि दुई पटक सांसद बनिसक्नुभएको छ ।

पहिलो संविधानसभाको चुनावमा एमालेबाट जित्नुभएका झा दोस्रो संविधानसभाको चुनावभन्दा केही महिनाअघि मात्रै माओवादीमा प्रवेश गरेर दोस्रो संविधानसभाको चुनावमा पराजित हुनुभयो । झा प्रचण्ड नेतृत्वको सरकारमा स्थानीय विकासमन्त्रीसमेत भइसक्नुभएको थियो । यादव र झाबीच सो क्षेत्रमा कडा प्रतिस्पर्धा देखिएको छ ।
(रासस)



प्रतिक्रिया दिनुहोस्