Logo

जितको खोजीमा पराजित उम्मेदवार



सुरुङ्गा, झापा, १७ मंसिर : विसं २०७० मा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा पराजित हुनुभएका नेपाली काँग्रेसका उम्मेदवार उद्धव थापा र नेकपा (एमाले) की उम्मेदवार पवित्रा निरौला खरेल यतिबेला प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएको छ ।

संविधानसभा निर्वाचनमा थापा झापा क्षेत्र नं ४ बाट तथा खरेल क्षेत्र नं २ बाट चुनाव लड्नुभएको थियो । मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि अहिले दुवैजना क्षेत्र नं २ बाट उम्मेदवार बन्नुभएको छ ।

काँग्रेस झापाका सभापतिसमेत रहनुभएका थापा झापा क्षेत्र नं ४ मा एमालेका प्रेम गिरीसँग दोस्रो संविधानसभाको निर्वाचनमा पराजित हुनुभएको थियो भने खरेल झापा क्षेत्र नं २ मा काँग्रेसका उम्मेदवार सुधीर शिवाकोटीसँग पराजित हुनुभएको थियो ।

निर्वाचन क्षेत्र समायोजनपछि थापा र खरेल अहिले एउटै निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यसअघि पराजित उम्मेदवार भएकाले यस पटक दुवैजना जित्ने राणनीतिका साथ चुनावी मैदानमा हुनुहुन्छ । निर्वाचनको मिति नजिकिएसँगै दुवै उम्मेदवार मत माग्न व्यस्त हुनुहुन्छ । दुवैले जितको दाबी गरिरहनुभएको छ ।

काँग्रेस उम्मेदवार थापाले कृषिको आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास, १५ हजार मेगावाट विद्युत् उत्पादन, स्मार्ट सिटी बनाउनेलगायत एजेण्डा अघि सार्नुभएको छ । वाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएकी खरेलले दिगो शान्ति, समृद्धि, संविधान कार्यान्वयन, स्थायी सरकारसँगै रोजगारीको विषयलाई मुख्य एजेण्डा बनाएर चुनावी मैदानमा हुनुहुन्छ । (रासस)



प्रतिक्रिया दिनुहोस्