Logo

उम्मेदवारबीचको हार्दिकताले शान्तिसुरक्षा कायम गर्न सहयोग : प्रमुख निर्वाचन आयुक्त यादव



काठमाडौँ, १७ मसिर : प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राजनीतिक दल र उम्मेदवारबीच देखिएको हार्दिकताले शान्ति सुरक्षा कायम गर्न सकारात्मक योगदान पुगेको बताउनुभएको छ ।

निर्वाचन आयोगमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले यही मंसिर २१ गते दोस्रो चरणको निर्वाचनका लागि सुरक्षा प्रबन्धसहित आवश्यक सबै तयारी पूरा भएको जानकारी दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो, “निर्वाचनका लागि शान्तिसुरक्षाको पूर्ण प्रत्याभूति आयोगले प्राप्त गरेको, मतदाताहरू पूर्ण सुरक्षित साथ मतदान गरेर घर फर्कने वातावरण रहेकाले निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा मतदान सम्पन्न हुनेमा आयोग विश्वस्त छ ।”

दोस्रो चरणमा यही मंसिर २१ गते ४५ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा १५ हजार ३४४ मतदान केन्द्र कायम गरिएको छ ।
प्रमुख आयुक्त डा. यादवले सोमबार राति १२ बजेदेखि शुरु हुने मौन अवधिमा दल, उम्मेदवार, मतदाता, सञ्चार माध्यमलगायत सम्बद्ध सबैलाई निर्वाचन आचारसंहिता पूर्णरूपले पालना गर्न आग्रह गर्नुभयो ।

उहाँले २१ गते मतदान सम्पन्न भएपछि पहिलो चरणमा मतदान भएका ३२ जिल्लामा मतगणना कार्य सुरु हुनेछ भने दोस्रो चरणमा मतदान भएको जिल्लामा सबै मतपेटिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा संकलन भएपछि सुरु हुने जानकारी दिनुभयो ।

प्रमुख आयुक्त डा. यादवले दोस्रो चरणको निर्वाचनका लागि मंसिर १९ र २० गते सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

दोस्रो चरणको प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्र्फ एक हजार ६६३ तथा प्रदेशसभा सदस्यतर्फ दुई हजार ८१९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । आगामी निर्वाचनमा एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने आयोगले जनाएको छ ।

पहिलो चरणमा निर्वाचन सम्पन्न भएका जिल्लामा २१ गते साँझ ५ बजेपछि मतगणना प्रारम्भ हुनेछ भने दोस्रो चरणमा निर्वाचन भएका जिल्लामा मतपेटिका संकलन भएपछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले राजनीतिक दल र उम्मेदवारसँग परामर्श गरेर समय निर्धारण गर्नुहुनेछ ।

सोमबार राति १२ बजेदेखि मौन अवधि शुरु

यसैबीच, २१ गते ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सोमबार राति १२ बजेपछि मौन अवधि शुरु हँुदैछ ।

मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुञ्जेलसम्म राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, मतदाता र सञ्चार माध्यम कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन पाउने छैनन् ।

मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने तथा मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनुपर्ने निर्वाचन आचार संहितामा उल्लेख गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

मौन अवधिमा एसएमएस, सामाजिक सञ्जाल, विद्युतीय माध्यमद्वारा मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने व्यवस्था रहेको छ ।(रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot