Logo

विक्रम पाण्डेलाई कांग्रेसले समर्थन गरेकोप्रति ओलीको व्यंग्य : “कांग्रेसले रुख काटेर हलो बनायो, कार्यकर्ताको मनमा पीडा छ”



चितवन, १७ मंसिर : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरू झगडा गर्न मात्रै होइन, मिलेर देश बनाउन पनि सक्छन् भन्ने प्रमाणित गर्न वाम गठबन्धन गरिएको बताउनुभएको छ ।

जिल्लाको माडीमा आज संयुक्त वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र आफूले देश बनाउने संकल्प गरेको बताउनुभयो ।

उहाँले दुई पार्टी मिल्दा दुई चार हजार मतले होइन, भारी मतले यहाँबाट दाहाललाई जिताउनुपर्छ भन्नुभयो । अब पार्टी एउटै बन्ने बताउँदै भन्दै उहाँले भन्नुभयो – “राष्ट्र निर्माणको महान् अभियानमा सामेल भइरहेका छौं । यसलाई सफल पार्न म खटिइरहेको छु, तपाइँहरू पनि खट्नुहोस् ।”

उहाँले भन्नुभयो – “आज माडी जागेको छ, चितवन जागेको छ र देश नै जागेको छ ।” माओवादी अध्यक्ष दाहालले माडीलाई मणि बनाउने उद्घोष गरेको भन्दै उहाँले यसमा आफ्नो साथ रहने वाचा गर्नुभयो ।

नेपाली काँग्रेसले चितवन क्षेत्र नं ३ मा राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष विक्रम पाण्डेलाई समर्थन गरेकोप्रति इङ्गित गर्दै उहाँले कांग्रेसले रुख काटेर हलो बनाएको टिप्पणी गर्नुभयो । ओलीले थप्नुभयो – “कार्यकर्ताको मनमा पीडा छ । नआत्तिनुहोस्, कांग्रेसले खोजेको राष्ट्रियता हामी दिन्छौं ।”

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाँदरमुढे घटना द्वन्द्वकालको सबैभन्दा ठूलो गल्ती भएको स्वीकार्नुभयो ।

बाँदरमुढे घटनाका पीडित परिवारसँग आज सम्झौता गरेको जानकारी दिँदै उहाँले त्यसको पालना गर्ने प्रतिबद्धता जनाउनुभयो । माडीसहितको चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहनुभएका दाहालले सो क्षेत्रमा आफ्ना प्रतिस्पर्धीले मतदातालाई प्रलोभनमा पारेको आरोप लगाउनुभयो ।

हालै राप्रपा (प्रजातान्त्रिक) को कारबाहीमा परेका सो पार्टीका महामन्त्री रेशम लामाले नेपाली जनताको शान्ति, राष्ट्रियता र राजनीतिक स्थिरताका लागि वाम गठबन्धनमा मत दिन आग्रह गर्नुभयो ।

सभा हुनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र बाँदरमुढे घटनाका केही पीडितबीच तीनबुँदे सम्झौता भएको थियो । घटनापछि गठित बाँदरमुढे पीडित संघर्ष समितिका व्यक्तिहरु भने सम्झौतामा हस्ताक्षर हुँदा उपस्थित थिएनन् ।



प्रतिक्रिया दिनुहोस्