Logo

सीमा सुरक्षा कडा पार्न निर्देशन



काठमाडौं १८ मंसिर ।
निर्वाचन सुरक्षा नै प्रभावित हुने गरी घुसपैठ बढेपछि भारतसँग सीमा जोडिएका जिल्ला प्रशासन प्रमुखहरूलाई भारतीय समकक्षीसँग सहकार्य सघन बनाउन गृह मन्त्रालयले निर्देशन दिएको छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त सीमा गस्ती बढाउनसमेत निर्देशन दिइएको जानकारी गृह अधिकारीले दिए । सीमा नाकाबाट भारतीय नागरिक नै बम बनाउने सामग्रीसहित पक्राउ परेपछि गृहले मातहत निकायलाई कडा निर्देशन दिएको हो ।

निर्वाचनका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न सीमावर्ती क्षेत्रमा सहकार्य सघन बनाउन निर्देशन दिइएको गृहप्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले बताए । ‘सीमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा सुरक्षा दिएका छन् । चेकजाँच कडा पारिएको छ । निगरानी बढाइएको छ । सेनाको निगरानी पनि छ,’ गृह अधिकारीले स्पष्ट पारे ।

भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनलाई दुवैतर्फ अधिकतम चेकजाँच गर्ने सहमति प्राय: सबै जिल्ला प्रमुख र भारतीय समकक्षीबीच यसअघि नै भएको हो । ‘शंका लागेकालाई नियन्त्रणमा लिएर सोधपुछ बढाइएको छ,’ प्रवक्ता दुवाडीले भने, ‘सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन सबै पक्ष उत्तिकै सक्रिय र सुझबुझका साथ लागिपरेका छन् । तीन घेराको सुरक्षा रणनीतिमा केही कार्ययोजना हेरफेर गरेर थप समन्वय गरिरहेका छौं ।’ कतिपय स्थानमा तालिमप्राप्त कुकुर उपयोग गरिएको छ । सीसीटीभीमार्फत गरिने निगरानी पनि बढाइएको गृह अधिकारीहरूले बताए ।

नेपाली सेनाले पनि ब्याकअपमा रहेर यस्ता सबै पक्षको निगरानी गरिरहेको छ । सेनाले निगरानीमा कैयन् स्थानमा ‘ड्रोन’ को समेत उपयोग गरेको ती अधिकारीले बताए । ‘समन्वयमा कुनै कमजोरी रहेको भए पनि त्यसलाई चिर्न भरपुर प्रयास भइरहेका छन्,’ ती अधिकारीले भने । पछिल्लो पटक सुरक्षामा कमजोरी भएको भन्दै सरकारको आलोचना हुन थालेपछि सुरक्षा निकाय थप सक्रिय बनेका हुन् । नेपाल–भारत खुला सीमा र सहज आउजाउको फाइदा उठाउँदै आपराधिक समूहबाट विस्फोटक पदार्थ र साना हतियार निर्वाचन लक्षित अवैध ओसारपसार हुन थालेपछि सुरक्षा निकाय थप सतर्क भएका छन् ।

निर्वाचन नजिकिँदै गर्दा सुरक्षा अवस्था फितलो देखिएपछि सुरक्षा रणनीति नै परिवर्तन गरिएको हो । राष्ट्रिय अनुसन्धान विभागका अधिकारी, सादा पोसाक सुरक्षाकर्मी परिचालन, सूचना संकलन र विश्लेषण गरेर नै नयाँ रणनीति तय गरिएको बताइएको छ । ‘सेनाले आफ्नो जिम्मेवारी चौबीसै घण्टा खटेर निर्वाह गरिरहेको र त्यसका लागि सबै पक्षमा निगरानी गर्ने मात्र हो,’ फिल्ड अनुगमन सक्रिय पार्ने काम भएको सेनाका प्रवक्ता सहायक रथि नैनराज दाहालले भने, ‘हामी निकै चनाखोसाथ अघि बढेका छौं । यसमा अन्य निकाय पनि उत्तिकै सक्रिय छन् । निर्वाचन सुरक्षा मजबुत छ ।’ कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्