Logo

विभिन्न परियोजनामा पुरुषभन्दा बढी महिला लाभान्वित



भद्रपुर, १८ मंसिर : न्याय तथा विकासका लागि सामाजिक सञ्जाल नामक संस्थाले झापामा एकिकृत सामुदायिक उत्थानशील विकास परियोजना मार्फत सात हजार ७०७ जना लाभान्वित भएका छन् ।

झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका– १ र २ मा गत पुस महिनादेखि एक वर्षका लागि सञ्चालित सो कार्यक्रमबाट चार हजार ८०२ महिला लाभान्वित भएको सहजकर्ता सोमनाथ भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार विपद् जोखिम व्यवस्थापन, क्षमता विकास कार्यक्रम, साना जल उत्पन्न योजना कार्यान्वयन, कृषक पाठशाला, दिगो जीविकोपार्जन क्रियाकलाप, दलहन, तेलहन बालीमा सहयोग, खानेपानी तथा सरसफाइ सम्बन्धी सचेतनामूलकजस्ता कार्यक्रममा सात हजार ७०७ जना लाभान्वित हुनुका साथै रु ६२ लाख १६ हजार ५२४ खर्च भएको छ ।

सोही परियोजना अन्तर्गत झापाको कचनकवल गाउँपालिका र सिसात्ताक्षी नगरपालिकामा बाढी प्रभावित बालबालिकाका लागि शैक्षिक सामग्री सहयोग कार्यक्रमबाट दुई हजार २६७ बालबालिका लाभान्वित भएको सञ्जालले जनाएको छ ।

कक्षा १ देखि ५ सम्मका बालिकालाई वितरण गरिएको शैक्षिक सामग्रीका लागि रु नौ लाख ४० हजार ६२ खर्च भएको सञ्जालका सहजकर्ता कुमार चुडालले जानकारी दिनुभयो ।

यसैगरी, स्वच्छ खानेपानीका लागि उच्च धारा निर्माण, शौचालय मर्मत, घर निर्माणमा अनुदान र कृषि बजार मर्मत संभारजस्ता झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिकामा सञ्चालित कार्यक्रममा रु ११ लाख ८८ हजार ६६४ खर्च भएको थियो ।

स्थानीय विकास अधिकारी खेमराज ओझाले मानिसको जीवनस्तर उकास्न र विपत्मा परेका मानिसलाई तत्काल राहत प्रदान गर्न सञ्जालले गरेको कार्य सराहनीय छ भन्नुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot