Logo

उद्योगी विनोद चौधरीको ठोकुवा : समृद्धिको सपना कांग्रेसले मात्र पूरा गर्न सक्छ



परासी, १८ मंसिर । उद्योगपति विनोद चौधरीलाई यस पटकको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन दुवै सदनको सदस्यको लागि प्रत्यक्षतर्फका उठेका उम्मेद्वारहरुलाईभन्दा पनि बढी लागेको छ ।

नेपाली कांग्रेसको आर्थिक समृद्धि तथा विकास समन्वय उपसमितिको संयोजकको जिम्मेवारी सम्हालेदेखि नै कहिले प्रधानमन्त्री शेरबहादुर देउवासंगै नेपाली कांग्रेसको राष्ट्रब्यापी चुनावी प्रचार अभियानमा संलग्न भएका छन् त कहिले नेपाली कांग्रेस कै महामन्त्री सशांक कोइरालाको साथमा जिल्ला जिल्ला पुगेका छन् ।

कहिले नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणको साथमा उनी देखिन्छन् त कहिले आफ्नो उद्योगी र व्यापारी समुदायकाबीच यो निर्वाचनमा लोकतान्त्रिक गठबन्धन र नेपाली कांग्रेसलाई विजयी बनाउनु पर्ने एजेण्डा सहित देखा पर्छन् ।

उद्योगपति तथा नेपाली कांग्रेसको आर्थिक समृद्धि तथा विकास समन्वय उपसमितिका संयोजक चौधरी आइतबार एकै दिन परासीको बुद्धचोक तथा नवलपुरको कावासोतीमा आयोजित कार्यक्रममा सहभागी भए ।

उनी नवलपुरकै दलदलेमा घरदैलो अभियानमा पनि जुटे । कांग्रेस महामन्त्री एवं प्रतिनिधिसभाका लागि त्यस क्षेत्रका उम्मेद्वार डा सशांक कोइरालासँगै उनी घरदैलो अभियानमा सहभागी भएका हुन् ।

निर्वाचनको मौन अवधिमा चुनाव प्रचारमा सहभागी हुन नपाइने भएकाले भ्याइ–नभ्याइ गरी कार्यक्रममा सहभागी हुनु परेको चौधरीले बताए । धेरै स्थानमा पुग्ने चाहना र आवश्यकता दुवै भएपनि समयको पावन्दीले सम्भव नभएको चौधरीले बताए ।

परासीमा आयोजित कार्यक्रममा बोल्दै उनले आर्थिक समृद्धि र विकासको अभियानमा नेपाली कांग्रेस अगाडि बढिसकेको भन्दै आफ्नो अमूल्य मत दिएर नेपाली कांग्रेसलाई जिताउन मतदातालाई आग्रह गरे ।

उनले आर्थिक समृद्धिको सपना लोकतन्त्रमा मात्र साकार पार्न सकिने र त्यसको नेतृत्व नेपाली कांग्रेसले मात्र गर्ने बताए ।

२०४८ सालमा नेपाली कांग्रेसले लिएको आर्थिक उदारीकरणको नीतिले २०५१ सालसम्मको अवधिमा नेपालमा उल्लेख्य ढंगले विकास भएको उदाहरण प्रस्तुत गर्दै राजनीतिक आन्दोलन सफल पारी संविधान निर्माण गरेर प्राप्त उपलब्धिलाई संस्थागत गर्ने काममा नेपाली कांग्रेस २००७ सालदेखि नै सफल प्रमाणित भएकोले आर्थिक समृद्धिको नेतृत्व पनि कांग्रेसले सफल ढंगले गर्ने उनले विश्वास व्यक्त गरे ।

उद्योगपति चौधरीले लोकतन्त्रको पुनरोदयपछि बनेको नेपाली कांग्रेसको सरकारले ल्याएको आर्थिक नीतिले समग्र देश र जनताको जीवनपद्धतिमा ल्याएको परिवर्तनको उल्लेख गर्दै भने, ‘त्यसपछिको अवधिमा भएको सरकार परिवर्तन र राजनीतिक अस्थिरताका बाबजुद पनि आर्थिक एवं सामाजिक क्षेत्रमा नेपालले गर्दै गएको सुधार कांग्रेसले लिएको सोही नीतिको परिणाम हो ।’

कावासोतीमा आयोजित कार्यक्रममा उनले नेपाली कांग्रेसले हालै सार्वजनिक गरेको सामाजिक र आर्थिक विकासको मार्गचित्रले भविष्यको समृद्ध नेपालको खाका कोरेको भन्दै यसको सफल कार्यान्वयनका लागि कांग्रेसको विकल्प खोज्न नहुने दाबी गरे ।

चौधरी संयोजक रहेको नेपाली कांग्रेसको आर्थिक समृद्धि तथा विकास समन्वय उपसमितिले सामाजिक एवं आर्थिक मार्गचित्र तयार गरी सार्वजनिक गरिसकेको छ ।

सोमबार उनी रुपन्देही, तनहुँ र सुनसरीका विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न जाँदैछन् ।

उद्योगपति चौधरीको यो सक्रियता राजनीतिक स्वतन्त्रता र आर्थिक उदारीकरणको खुला वातावरणमा मौलाउदै गरेको नेपालको आर्थिक विकास र हुर्कदै गरेको निजी क्षेत्र कम्युनिष्ट अधिनायकवाद र तानाशाही राजनीतिक व्यवस्थाको बन्द आर्थिक व्यवस्थातिर नजाओस् भन्ने राजनीतिक र आर्थिक स्वतन्त्रताका पक्षधर सम्पूर्ण नेपालीको अधिकार रक्षाका लागि गरिएको एक स्वस्थ र प्रजातान्त्रिक पहल पनि हो ।



प्रतिक्रिया दिनुहोस्