Logo

कांग्रेस विषालु सर्प हो, मधेश र मधेशीलाई डस्ने काम गर्यो : झा



संविधान संशोधन गर्ने हैसियत कांग्रेसबाहेक अरुसँग छैन : कृष्ण यादव
रौतहट, १८ मंसिर । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य एवम् रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका लागि उम्मेद्धवार अनिल झाले कांग्रेसलाई भोट माँग्ने नैतिक अधिकार नभएको आरोप बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले रौतहटको गौरमा आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै उनले कांग्रेसलाई अब भोट माँग्ने अधिकार नै नभएको आरोप लगाए ।

उनले भने,‘कांग्रेसले मधेशमा सबै कुरा गुमाईसक्यो, कांग्रेसले विकास गरेन, विकास गर्छु भनेर मैले गौरलाई आर्थिक केन्द्र बनाउने प्रस्ताव लिएर गएको थिएँ, गौरमा विकास रोक्ने कांग्रेस हो । त्यसैले मतदाताहरुले कांग्रेसलाई भोट नहाल्नुहोस् । कांग्रेसले नै अहिलेसम्म मधेशलाई भँजाएर खायो, मधेशलाई कमजोर बनाएको हो ।’

उनले कांग्रेसलाई ठूलो सर्पको संज्ञा दिए । उनले थपे,‘त्यसले डसेर मधेश र मधेशीलई सिध्याईदिन्छ। अब मधेशी जनता सचेत भैसके ।’ उनले तत्कालिन कांग्रेस सभापति सुशिल कोइरालाको नेतृत्वमा कांग्रेसले जबरजस्ती संविधान जारी गर्दा मधेश र मधेशी जनताहरुको अधिकार खोसिएको आरोप पनि लगाए ।

कार्यक्रममा उपस्थित् युवाहरुले झामाथि पत्नी डिम्पल झालाई च्यापेर हिँडेको आरोप लगाएपछि उनले उक्त आरोपको खण्डन गर्दै भने,‘यो प्रश्न अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सोध्नुहोस्, उहाँले पनि हिजो दुई दुई पटक पत्नी डा. आरजु राणालाई समानुपातिक सांसद बनाएको होईन र ? डिम्पल झाको कुरा नगर्नुहोस्, नातावाद र परिवारवाद केही पनि छैन, हिजो मधेश आन्दोलनमा सबैभन्दा बढि भूमिका निर्वाह गर्ने महिला नेतृत्मा डिम्पल झा पर्छिन्।’

कार्यक्रममा नेपाली कांग्रेसबाट सोही क्षेत्रका उम्मेद्धवार बनेका नेता कृष्ण यादवले मधेशीहरुको अधिकार कुण्ठित र कमजोर गर्ने नेताहरु नै महन्थ ठाकुर र उपेन्द्र यादव भएको आरोप लगाए ।

उनले भने,‘मधेश झर्दा मधेशी जनताको अधिकारको लागि केही गर्ने हामी नै हो भनेर ठूलो कुरा गर्छन् तर काठमाडौं पुगेपछि आफ्नो हित हेर्दै ठूला दलका नेताहरुसँग सम्झौता गर्छन् ।’

उनले मधेशी जनताको लागि लड्ने र केही गर्न सक्ने पार्टी नै नेपाली कांग्रेस भएको तर्क गरे । यादवले थपे,‘भोलि संविधान संशोधन गर्नको लागि पनि कांग्रेसलाई जिताउनुहोस् । अनिल झाले आरजु देउवालाई आरोप लगाउनु गलत हो, उत्तराधिकारी होईन, उहाँ त क्षमता भएको महिला नेतृ हो । डा. आरजुजत्तिको पढेलेखेको र क्षमता भएको महिला अरु कोही छ भने मलाई देखाउनुहोस् ।’

त्यस्तै नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले राजपा, कांग्रेसलाई मत नदिन आम मतदाताहरुलाई आग्रह गरे । उनले थपे,‘यी दुवै दललाई मत ननिदुहोस्, यहाँको विकासको लागि काम गर्ने नेता म हुँ, अब मलाई जिताएर पठाउनुहोस्।’

साहले यसो भनिरहँदा राजपा र कांग्रेसका कार्यकर्ताहरुले उनीविरुद्ध हुटिङ् नै चलाएका थिए । रौतहटका अध्यक्ष अभिमन्यु पटेलको सभापतित्वमा र रौतहट शाखाका सल्लाहकार मनोज प्रसाद राउतको व्यवस्थापनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्