काठमाडौं १९ मंसिर ।
राजधानीलगायत मुलुकभरको सुरक्षा व्यवस्था कडा बनाएको सरकारले दाबी गरे पनि शृंखलाबद्ध विस्फोट नरोकिएपछि सुरक्षा प्रणालीमै गम्भीर प्रश्न उब्जिएको छ । शुक्रबारयताका ४ दिनमा मात्रै राजधानीमा झन्डै एक दर्जन विस्फोट भएका छन् । कडा सुरक्षा जाँचबीच कहाँबाट विस्फोटक पदार्थ भित्रिरहेको छ भन्ने प्रश्नसमेत टड्कारो भएको छ ।
कमजोर गुप्तचर संयन्त्रका कारण घटनाअगावै सूचना नपाउँदा प्रहरीले आवश्यक रणनीति बनाउन नसकेको एक उच्च प्रहरी अधिकारी दाबी गर्छन् । गृह मन्त्रालयमा शनिबार बसेको केन्द्रीय कमान्ड पोस्टको बैठकमा पनि गुप्तचर संयन्त्र कमजोर भएको विषय उठेको थियो । ‘प्रहरीमा गतिलो र गम्भीर सूचनाको अभाव त छ नै, सतही रूपमा प्राप्त सूचनामा भर पर्ने र त्यस्तो सूचना पाउनेबित्तिकै आधिकारिकता पुष्टि नगरी उच्च राजनीतिक नेतृत्वमा रहेकाहरूमा जाहेर गरेर साखुल्ले बन्न खोज्ने प्रवृत्ति पनि छ,’ स्रोत भन्छ, ‘यसले पनि सुरक्षा चुनौतीलाई सही रूपमा सम्बोधन गर्नबाट रोकेको छ ।’ सुरक्षा निकायहरूबीचको कमजोर समन्वय र अस्पष्ट सरकारी निर्देशनले पनि निर्वाचन सुरक्षा कमजोर बनेको छ । ‘बलियो सुरक्षा व्यवस्था छ भन्नेमा जनता आश्वस्त नभएका कारण स्थानीय तहको निर्वाचनमा भन्दा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कम मत खस्यो,’ राजनीतिक विश्लेषकहरू भन्छन्, ‘सुरक्षा व्यवस्था अझै कमजोर भयो भने दोस्रो चरणमा झनै कम मत खस्न सक्नेछ ।’
पहिलो चरणको निर्वाचन अवधिभर धेरै सुरक्षाकर्मी उपत्यकाबाहिर खटाइँदा पनि राजधानीको सुरक्षा व्यवस्था कमजोर देखिएको हो । पहिलो चरणको निर्वाचनलगत्तै काठमाडौंमा उच्च सुरक्षा सतर्कता नबढाइएकाले नेकपा (विप्लव) समूहले त्यसैको फाइदा उठाएको प्रहरी अधिकारी बताउँछन् ।
राजधानी भित्रिने नाकामा कडा सुरक्षा जाँच र उपत्यकामा विप्लव समूहमाथि कडा निगरानी बढाइँदा पनि एकपछि अर्को विस्फोटका घटना कसरी सम्भव भयो त ? राजधानीमा विस्फोट गराउन प्रयोग भएका विस्फोटक पदार्थ पहिलेदेखि नै काठमाडौंमा जम्मा गरिएको प्रहरी स्रोतको दाबी छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार आइतबार राति मात्रै उपत्यकाका १८१ स्थानमा सुरक्षा जाँच र खानतलासी गरिएको थियो । काठमाडौंका ११४, ललितपुरका ३९ र भक्तपुरका २८ स्थानमा आइतबार साँझदेखि सोमबार बिहानसम्म दुई चरणमा खानतलासी गरिएको थियो । प्रहरीले काठमाडौं उपत्यका भित्रिने मुख्य नाका जगाती, फर्पिङ, नागढुंगा, जर्सिङपौवा, टोखा, मुड्खु, भैंसेपाटीलगायत सबै नाकामा जाँचपडताल कडा पारेको छ ।
प्रहरीको जाँच र खानतलासी प्रभावकारी नहुनाले पनि सुरक्षा स्थिति कमजोर बनेको पूर्वडीआईजी केशव अधिकारी बताउँछन् । उनका अनुसार प्रविधिबिना हातैले गरिने छामछुमबाट केही हात नपर्ने उनको भनाइ छ । उपत्यकामा करिब ९ लाख हाराहारी सवारीसाधन रहेको र त्यति धेरै सवारीको जाँच प्रविधिबिना प्रहरीले मात्र गर्नै नसक्ने उनको तर्क छ । ‘ढिलो गरी सुरु गरिएको सुरक्षा जाँच र पर्याप्त सूचना अभावले विस्फोटका घटना रोकिन नसकेका हुन्,’ उनी भन्छन् ।
प्रहरी स्रोतका अनुसार विप्लव समूहमाथि प्रहरीको निगरानी बढेपछि उसले पछिल्ला दिनमा भाडाका अपराधी प्रयोग गरेर विस्फोट गराइरहेको छ । तर भाडाका मान्छे को हुन् र तिनीहरू कसरी परिचालित भइरहेछन् भन्ने प्रहरीले पत्ता लगाउन सकेको छैन । कान्तिपुरबाट