Logo

उपचारका लागि भारत जानसमेत रोक



काठमाडौं २० मंसिर ।
उच्च पहाडी र हिमाली जिल्लामा गत १० मंसिरमा नै निर्वाचन सकिएको छ । तर, दास्रो चरणअन्तर्गत पहाडी र तराईका जिल्लामा बिहीबार हुने निर्वाचनमा सुरक्षाका लागि नेपालगन्जस्थित रुपैडिहा नाका बन्द गरिँदा काम र उपचारका लागि भारत जानेहरू अलपत्र परेका छन् ।

सो नाकामा पैदलयात्रीलाई समेत हिँड्डुलमा प्रतिबन्ध लगाइएको छ । हिमाली र पहाडी जिल्लामा मतदान गरिसकेर कामका लागि भारत फर्किनेहरू यतिवेला रुपैडिया नाकामा रोकिएका छन् । उपचारका लागि भारत गएर फर्किंदै गरेका र उपचारमा गएकाहरू पनि नाकामा रोकिएका छन् । उपचारका लागि भारत गएर मंगलबार बिहान फर्किंदै गरेकी नेपालगन्ज–२, घरबारी टोलकी मन्नी हलवाई दिनभर रुपैडिहामा रोकिइन् । उनले नाका बन्द हुने जानकारी नपाउँदा दुःख पाएको बताइन् ।

‘नेपाली नागरिकताको प्रमाणपत्र र मतदाता परिचयपत्र देखाउँदासमेत भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी)ले नेपाल आउन दिएन,’ उनले भनिन्, ‘आँगनमै आए पनि घरमा पस्न पाइएन ।’ नेपालमा नपाइने औषधि किन्नबाट समेत सर्वसाधारण वञ्चित भएका छन् ।

नेपालगन्जमा नपाएपछि औषधि किन्न रुपैडिहा जाँदै गरेका बर्दियाका राजबहादुर चौधरीले हारगुहार गरेपछि प्रहरीले बल्लतल्ल रुपैडिहा जाने अनुमति दियो । उनी बुवाको ब्रेन ट्युमरको उपचार गराउन नेपालगन्ज आएका थिए ।

‘जसरी भए पनि औषधि लिएर आउन डाक्टरले भनेका छन्, लिएर नजाने हो भने बुवाको उपचारमा समस्या हुन्छ भनेका छन्,’ चौधरीले भने ।

पहिलो चरणको निर्वाचनमा सहभागी भएर कामका लागि भारत फर्किंदै गरेका नेपालीले उता जान नपाएपछि खान र बस्नको चिन्ता भएको बताएका छन् । भारतको सिमला रामपुर जान लागेका जाजरकोटको लिम्सा गाउँपालिका–४, बारेकोटका ५९ बर्षीय कालिबहादुर महतराले सीमामा रोकिँदा खान र बस्न समस्या भएको बताए ।

मतदान गरिसकेको परिचयपत्र देखाएपछि सीमा सिल भए पनि भारत जान पाइन्छ भन्ने सुनेर नेपालगन्ज आएको उनले बताए । उनीसहित बारेकोटबाट १२ जना सिमला जान नेपालगन्ज आएका छन् ।

एकैदिन दुई हजारजना नेपाल प्रवेश
जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा इलाका प्रहरी कार्यालय जमुनाहाले भारतको रुपैडिहामा अलपत्र परेका दुई हजारभन्दा बढीलाई नेपालगन्ज ल्याएको छ । प्रहरी नायव निरीक्षक सुधीर खड्काले सीमा सिल भएका वेला पैदल आउजाउसमेत गर्न नमिल्ने भए पनि अलपत्र परेका नेपालीलाई नेपाल प्रवेश गर्न दिइएको बताए ।

रुपैडिहामा अलपत्र परेका नेपालीलाई खान, बस्न र सुत्न समस्या हुन थालेपछि दुवै देशका सुरक्षाकर्मीको सहमतिमा साँझ र बिहान केही समयका लागि नेपाल आउन–जान दिइएको उनले बताए ।

‘नियम, कानुनभन्दा मानवीयता ठूलो भएकोले मानवीय नाताले सुरक्षाकर्मीको निगरानीमा नेपाल आउन दिएका हौँ,’ उनले भने । बिरामीलाई नरोकेको प्रहरी भनाइ अति आवश्यक कामका लागि भारत जान र नेपाल आउन दिइएको इलाका प्रहरी कार्यालय जमुनहाका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) सुधीर खड्काले बताए । उनले बिरामी बोकेको एम्बुलेन्स, बिरामी र पश्चिमा राष्ट्रका पर्यटकलाई जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा आउजाउ गर्न दिएको बताए ।

‘सुरक्षाको दृष्टिले भारतीयलाई नेपालमा राख्नुभन्दा जान दिनु उचित भएकाले भारत जान चाहने भारतीयलाई जान केही खुकुलो गरेका छौँ,’ उनले भने ।
नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्