Logo

गगनलाई राजनले हराउन सक्लान् ?



राजन भट्टराई काठमाडौं क्षेत्र नम्बर ४ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्ने टुंगो लागेदेखि गगन थापा तनावमा थिए । गएको चुनावमा एमालेले सजिलो उम्मेदवार दिएकाले गगनले सानदार जीत हासिल गरेका थिए । यसपटकको चुनावमा वाम गठबन्धन हुनु र विद्यावारिधी गरेर परराष्ट्र मामलाका जानकार राजन प्रतिष्पर्धी हुनुले गगनलाई ठूलो चुनौती बन्यो । गगन अन्य क्षेत्रमा भाषण गर्न समेत कमै गए । आफ्नो क्षेत्रमा बढी खटिए ।

चुनावका समयमा उनले विगतमा गरेका वाचाहरू पूरा नगरेको भन्दै विपक्षीले मुद्या बनाए । उनी अहोरात्र टोल टोल घर घर खटिए । उनका प्रतिष्पर्धी राजन पनि उत्तिकै खटिए । दुवै नयाँ पुस्ताका उदयीमान नेता भएकाले धेरै मतदाता द्वुविधामा थिए । स्वास्थ्यमन्त्री भइसकेका गगन र प्रधानमन्त्रीका विदेश मामला सल्लाहकार भइसकेका राजनबीच कस्लाई रोज्ने अन्यौल उत्तिकै थियो । न्युट्रल मतदाता कता पल्टेलान् भन्ने चासोका बीच मतदान सम्पन्न भयो ।

मतगणनाको शुरूवाती अग्रतामा राजनले गगनलाई पछि पारे । यस क्षेत्रमा गगनले सजिलो जित हासिल नगर्ने भनिएपनि हार्नेछैनन् भन्ने अड्कलवाजी शुरू देखि नै गर्नेहरू धेरै थिए । तर, जनताले मत खसालेको ब्यालेटले निर्णय गर्ने भएकाले चुनावी नतिजा जतापनि जानसक्छ । राजनले शुरूवाती अग्रता कायम गरिरहे गगनको तेस्रोपटक सांसद बन्ने सम्भावनाको अन्त हुन्छ ।

२०६२/६३ को जनआन्दोलनताका चर्चित विद्यार्थी नेता गगन सेलिब्रिटी पनि हुन् । उनी पराजित भएका उनको राजनीतिक भविष्यको अन्त त हुनेछैन तर राजनीतिमा निरन्तर बढिरहेका गगनको वेगमा अवरोध पैदा हुनेछ । चुनावमा जित र हार स्वाभाविक हो तर राजनीतिमा ठूलो भविष्य बोकेका नेताका लागि पीडा मात्र नभएर नयाँ तर सकारात्मक र नकारात्मक सम्भावना दुवै बोकेर आउँछ ।

सञ्चारमन्त्री मोहनबहादुर बस्नेत हारको नजिक पुगेका छन् । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा माओवादीका प्रभावशाली नेता अग्निप्रसाद सापकोटाभन्दा बस्नेत निकै पछि परिसकेका छन् । हेभिवेट उम्मेदवारको परिचय बोकेका बस्नेत थोरै मतान्तरले जित्ने आशामा थिए । तर, पूर्वमन्त्री सापकोटाले बस्नेतलाई माथ खुवाउने निश्चितप्रायः भएको छ ।

रक्षामन्त्री भीमसेनदास प्रधान माओवादीका झक्कु सुवेदीभन्दा झीनो मतान्तरले पछाडि छन् । काठमाडौं क्षेत्र नम्बर ६ मा दुवैबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी पनि हितमान शाक्यसँग काठमाडौं १० मा कडा प्रतिष्पर्धा हुने आँकलन गरिएको छ ।

कानुनमन्त्री यज्ञबहादुर थापा कास्की १ बाट उम्मेदवार बनेका छन् । त्यहाँ एमालेका उम्मेदवार पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीबाट उनलाई कडा चुनौती छ । कानुनराज्यमन्त्री दिलमान पाख्रिन पनि धादिङ २ मा प्रतिद्वन्द्वी एमालेका खेम लोहनीभन्दा पछि परेका छन् ।

सिंचाईमन्त्री सञ्जय गौतमलाई पनि कडा चुनौती छ । बर्दियाबाट उनका प्रतिष्पर्धी वामदेव गौतम रहेकाले जित्न निकै कठिन छ ।

अर्थराज्यमन्त्री उदय शमशेर राणा पनि एमालेका नवराज सिलवालभन्दा पछि छन् । ललितपुर क्षेत्र नम्बर १ मा राणाले विकासका धेरै काम गरेकाले सिलवाललाई पराजित गर्ने भनिएपनि अवस्था फरक देखिदैछ । पूर्व डिआइजी सिलवाल कुनैबेला राणाका मित्र भएपनि दुवै घटनाक्रमले चुनावमा आमनेसामने भएका थिए ।

खानेपानीमन्त्री महेन्द्र यादव धनुषाबाट चुनाव लडेका छन् । उनलाई एमालेका रघुवीर महासेठबाट कडा चुनौती छ । पूर्व राष्ट्रपति डा.रामवरण यादवका पुत्र चन्द्रमोहन यादवलाई प्रदेशसभाको टिकट दिएर महेन्द्रलाई दिएको भन्दै काँग्रेसभित्र द्वन्द्व चलेकाले पनि महासेठले लाभ लिन सक्ने बताइएको छ । धनुषामा कृषिमन्त्री रामकृष्ण यादव प्रतिद्वन्द्वी माओवादी केन्द्रका रामचन्द्र झाभन्दा पछि परेका छन् । धनुषाबाट पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि प्रतिद्वन्द्वी राजपाका राजेन्द्र महतोभन्दा पछि परेका छन् ।

पूर्वमन्त्री रोमी गौचन थकाली चुनाव हारेका छन् । नेपाली काँग्रेसभित्र हक्की र कार्यकर्तामाझ लोकप्रीय गौचन मुस्ताङबाट आफ्ना पूर्व सहपाठी प्रेमप्रसाद तुलाचनबाट झीनो मतान्तरले पराजित भए । तुलाचन तीन महिना अघि मात्र नेपाली काँग्रेसबाट नेकपा एमालेमा प्रवेश गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्