२२ मंसिर, काठमाण्डौ । मतगणनाको सुरुआती रुझानले के देखाइसकेको छ भने यो चुनावमा कांग्रेसले शर्मनाक हार व्यहोर्ने र वाम गठबन्धनले सुविधाजनक बहुमत पाउने पक्कापक्की जस्तै छ ।
कांग्रेस नेता बालकृष्ण खाँडको दाबीअनुसार पहिलो चरणमा मंसिर १० गते चुनाव भएका ३२ जिल्लामा माओवादी र एमालेले बढी सिट जिते पनि दोस्रो चरणमा चुनाव भएका ४५ जिल्लामा कांग्रेसको परिणाममा सुधार हुनेछ । तर, खाँडले भनेको त्यो ‘सुधार’ ले कांग्रेसलाई ठूलो दल बनाउने र सरकारमा लैजाने सम्भावना लगभग सकिएको छ ।
अब सबैको ध्यान नेपाली कांग्रेसको आगमी भविष्य र पार्टी सभापति शेरबहादुर देउवाप्रति छ । देउवाले पार्टीको संगठन मजबुत बनाउन नसकेकाले चुनावमा लज्जास्पद हार बेहोर्नुपर्ने अवस्था आएको टिप्पणी भइरहेको छ ।
कांग्रेसले चुनाव हार्नुको धेरै कारण हुन सक्छ । तर देउवाको नेतृत्व शैली नै प्रमुख कारण मान्ने धेरै छन् । देउवाको कार्यशैली र संगठनभन्दा बढि नेतृत्वको दम्ब देखाउने प्रवृत्तिले आलोचना बढेको हो ।
त्यसो त कांग्रेसका शीर्ष नेताहरुले आफ्नो चुनावी क्षेत्रमा जनमत निर्माण गर्न नसक्नुमा नेतृत्वको मात्रै दोष हुँदैन । सबै नेताले आफ्नो क्षेत्रमा हारको जिम्मेवारी लिनै पर्छ छ ।
तर देउवाकै केही कारणले गर्दा समग्र पार्टी पंक्ति कमजोर भएको भने अवश्य हो । देउवाले प्रधानमन्त्री पदको लोभ नगरेको भए आज यो अवस्था आउने थिएन । माओावादी अध्यक्ष पुष्पकमल दाहालपछि आफू प्रधानमन्त्री बन्ने सहमति गरेका देउवाले चुनावी नतिजा र एमालेको चलाखी पहिलै आँकलन गर्न सकेको भए कांग्रेस कमजोर बन्ने थिएन ।
दाहाललाई प्रधानमन्त्री पदबाट राजिनामा दिन नलगाएर दाहालकै नेतृत्वमा सबै चुनाव गराउन देउवा तयार भएको भए वाम गठबन्धन बन्ने थिएन । तर यो टिप्पणी अहिलेको नतिजापछिको भएकाले यसमा देउवालाई दोषी देखाउनु त्यति उचित नहोला । तर देउवामा दुरदर्शिता भने नभएकै हो ।
अर्कोतिर स्थानीय निकायको चुनावमा भरतपुर महानगरपालिकामा दाहाल पुत्री रेणु दाहाललाई समर्थन गरेकै कारण पनि देउवाले आलोचना सहनु प¥यो । त्यसैले प्रधानमन्त्री नभएको भए वा दाहाललाई निरन्तरता दिएको भए अनि चुनावमा अपेक्षाकृति नतिजा नआएको भए पनि देउवा नै निशानामा पर्ने थिए ।
तर देउवाले सरकारको नेतृत्व गर्दा होस वा पार्टीको । दूरदरर्शीता र परिपक्वता देखाउन सकेनन् ।
प्रहरी प्रमुख नियुक्त गर्ने सवालमा पनि देउवा चुके । पहिलो नम्बरमा रहेका नवराज सिलवाललाई पछाडि राखेर आफू अनुकूल मानिएका जयबहादुर चन्दलाई आइजिपी बनउने प्रयास गरे । जनताको नजरमा देखिने गरी राम्रो काम गरेका सिलवाललाई विभिन्न बहानामा पछाडि धकेल्दा त्यसको प्रभाव जनतामाझ नकारात्मक परेको थियो ।
त्यसैगरी निडर र साहसी महिला प्रधानन्यायाधिश सुशीला कार्कीमाथि महाअभियोगको प्रस्ताव संसदमा कांग्रेसले नै लग्यो । त्यसलाई पनि नागरिकले सहजै लिन सकेनन् । राजनीतिक प्रतिशोधका कारण कार्कीमाथि अनावश्यक रुपमा महाअभियोग लगाउन खोजेको आरोप देउवा माथि लाग्यो ।
राजदुत नियुक्तिमा पनि देउवाले जनमत खस्केला कि भन्नेतिर ध्यान दिन सकेनन् । यसअर्थमा देउवा संगठनभन्दा शक्तिमा बढि केन्द्रित भएको विश्लेषण गर्न सकिन्छ ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्रू पौडेलले पनि खासै प्रभावकारी भूमिका खेल्न सकेको देखिएन । पछिल्लो समय आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रचार गर्नुबाहेक जनताको मन जित्ने कुनै काम गर्न सकेनन् ।
जे जति कारण भए पनि नेपाली कांग्रेस स्थापनाकालदेखि अहिलसम्मकै कमजोर हैसियतमा पुग्ने सम्भावना देखिएको छ । अब कांग्रेसले आफूलाई कसरी मजबुत बनाउने र अर्को पाँच वर्षपछि हुने चुनावमा पुनः बलियो भएर आउने भन्नेमा ध्यान केन्द्रित गर्नुपर्ने देखिएको छ ।
भारतीय कांग्रेसले पनि पछिल्लो चुनावमा शर्मनाक हार बेहोरेको थियो । अहिले उसले राहुल गान्धीलाई अघि सारेर पार्टी मजबुत बनाउने प्रयास गरेको छ ।
नेपाली कांग्रेसभित्र पनि देउवाले नेतृत्व छोडेर कोइराला परिवारका शेखर वा शशांकलाई पार्टीको नेतृत्व दिनुपर्ने आवाज उठाएका छन् । त्यसो त यअअघिको महाधिवेशनमा सभापति पदमा पराजित भएका रामचन्द्र पौडेलको पक्षमा पनि आवाज उठ्दै आएको छ ।
अब आजा उठाउने मात्रै होइन, कांग्रेसलाई मजबुत बनाउनका लागि नेतृत्वको बारेमा उचित कदम चाल्नैपर्ने कुरालाई कांग्रेसीजनले बुझ्नु जरुरी छ । त्यसो त देउवाको विकल्प खोज्नुपर्छ नत्र कांग्रेस बलियो बन्नै सक्दनै भन्ने होइन । नेतृत्व परिवर्तन नगरीकन पनि पार्टीलाई सामुहिक प्रयासबाट बलियो बनाउन सकिन्छ ।
नेपाली कांग्रेसले यसपालि व्यहोर्ने पराजय सामान्य हुने छैन । पहिलो संविधानसभामा हारेको स्थितिमा भन्दा पनि नराम्रो पराजय ठहरिनेछ कांग्रेसका लागि अहिलेको चुनाव ।
अब ५ वर्ष बहुमत पाउने दलले कांग्रेसलाई सत्ता बाहिरै राख्ने अवस्था आउन सक्छ । त्योबेलामा कांग्रेसभित्र चरम निराशा र विग्रह आउन सक्छ ।
त्यो बेला देउवाले नैतिकताका आधारमा पार्टी सभापतिबाट राजीनामा दिन्छन् या दिँदैनन् ? त्यो अहिले नै बताउन सकिँदैन । विगतको नजिरलाई हेर्ने हो भने पहिलो संविधानसभाको चुनावपछि एमालेका तत्कालीन प्रमुख माधवकुमार नेपालले पदबाट राजीनामा दिएका थिए । तर, गिरिजाप्रसाद कोइरालाले पार्टी सभापतिबाट राजिनामा दिएनन् ।
त्यसैगरी दोस्रो संविधानसभा चुनावपछि माओवादी अध्यक्ष प्रचण्डले पार्टी अध्यक्षबाट राजीनामा दिएनन् ।