Logo

चीन शैक्षिक महोत्सव शुरु, महोत्सवमा चीनका ६ वटा विश्वविद्यालयको सहभागिता



काठमाडौँ, २३ मंसिर : नेपाललाई चीनको विश्वविद्यालयका बारेमा जानकारी गराउने उद्देश्यले दुइदिने ‘चीन शैक्षिक महोत्सव’ शुरु भएको छ । ‘फ्रेस स्टार्ट नेपाल’को आयोजनामा आजदेखि काठमाडौँमा शुरु भएको महोत्सवमा चीनका ६ वटा विश्वविद्यालयको सहभागिता रहेको छ ।

महोत्सवमा नान्जिङ युनिभर्सिटी अफ एयनोटिक्स एण्ड एक्स्टोनोटिक्स, ज्याङ्सु युनिभर्सिटी, चाइना युनिभर्सिटी अफ जियो साइन्सेस, सान्दोङ नर्मल युनिभर्सिटी, चाइना युनिभर्सिटी अफ माइनिङ एण्ड टेक्नोलोजी र सान्दोङ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीको सहभागिता रहेको छ ।

महोत्सवको उद्घाटन गर्दै शिक्षा मन्त्रालयका सहसचिव डा हरि लम्सालले चीनको शिक्षाका बारेमा जानकारी दिन नेपालमा महोत्सव गराएर स्टार्ट नेपालले राम्रो काम गरेको बताउनुभयो । “उच्च शिक्षाका लागि नेपाली विद्यार्थी विभिन्न देशमा गइरहेको बेला चीनले निःशुल्क उच्च शिक्षा दिएर राम्रो काम गरेको छ,” उहाँले भन्नुभयो ।

स्टार्ट नेपालका प्रमुख दीपेश रेग्मीले स्टार्ट नेपालले सन् २०१२ देखि नेपाली विद्यार्थीलाई चीनका विभिन्न विश्वविद्यालयमा पढ्ने अवसर प्रदान गर्दैआएको बताउनुभयो । महोत्सवको तीन हजार व्यक्तिले अवलोकन गर्ने आयोजक संस्थाले जनाएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्