Logo

जनतासामु राखेका सबै प्रतिबद्धता पूरा गर्छु : नेता महरा



तुलसीपुर, दाङ, २३ मंसिर : उपप्रधानमन्त्री (माओवादी केन्द्र)का नेता तथा प्रतिनिधिसभा सदस्यमा दाङ क्षेत्र नं २ बाट भर्खरै निर्वाचित हुनुभएका कृष्णबहादुर महराले आफूले निर्वाचनका क्रममा जनतासामु राखेका सबै प्रतिबद्धता पूरा गर्न बताउनुभएको छ ।

निर्वाचित भएलगत्तै रासससँग संक्षिप्त कुरा गर्दै महराले भोलिदेखि नै दाङको विकासका लागि योजना निर्माणमा लाग्ने बताउनुभयो । उहाँले सबैसँग सहमति र सहकार्य गरेर देशलाई समृद्धितर्फ लाग्ने बताउनुभयो ।

दाङलाई प्रदेश नं ५ को राजधानी बनाउन आफूले पहल गर्ने पनि बताउनुभयो । उहाँले यही सरकारबाट ५ नं प्रदेशको अस्थायी मुकाम दाङलाई तोक्नेछौँ भन्नुभयो ।

नेता महराले निर्वाचित भइसकेपछि आफू सबैको साझा प्रतिनिधि रहेको र मतदान गर्नुहुने र मतदान गर्न नसक्नुभएका आम जनसमुदायलाई समानरुपमा व्यवहार गर्नेछु भन्नुभयो ।

उहाँले उहाँले निर्वाचनमा विजयी हुनु र विजयी हुन नसक्नु स्वभाविक प्र्रकिया रहेको बताउँदै निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्ने नेपाली काँग्रसका उम्मेदवारलगायत अन्य सबै उम्मेदवारलाई धन्यवाद दिनुभएको छ । उहाँले निर्वाचनमा सहयोग गर्ने आम मतदातालाई पनि धन्यवाद दिनुभएको छ ।

महरालाई भोलि बिहान निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने जनाएको छ ।(रासस)



प्रतिक्रिया दिनुहोस्