Logo

देउवाको विकल्पको खोजी : सशांक कि प्रकाशमान ?



काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेसका लागि चुनावी नतिजा पीडादायक बन्यो । लामो राजनीतिक अनुभव सँगालेका हस्तीहरू मात्र चुनाव हारेनन् उदीयमान युवा नेताहरूले समेतको पराजय व्यहोरे । चुनावमा हारजीत स्वाभाविक हुन्छ तर सरकारको नेतृत्व गरेको दलले इतिहासमा नभोगेको चुनावी पराजय व्यहोर्नुलाई काँग्रेसका कार्यकर्ताले गम्भीरताका साथ लिएका छन् ।

चुनावी नतिजा आउँदै गर्दा काँग्रेसका नेता कार्यकर्ता पार्टी नेतृत्वप्रति असन्तुष्टी पोख्न थालिसके । कतिपयले तत्काल महासमिति बोलाउनुपर्ने सम्मको आवाज उठाइरहेका छन् । देउवा नजिकका कतिपय नेताहरूले समेत उनीबाट पार्टी नचल्ने ठहर गर्दै भित्र भित्र अभियान चलाइसकेका छन् । गगन थापाले संयमका साथ चल्नुपर्ने भनेपनि पार्टीमा ठूलो परिवर्तन आवश्यक रहेको बताए । सामान्य काँग्रेस कार्यकर्ता नेतृत्वप्रति आक्रोशित छन् । यसलाई शान्त पार्न देउवालाई सहज छैन ।

चुनावी नतिजा आउँदै गर्दा त्यसबारे केही नबोलेका देउवा चुनाव अघि अलोकप्रीय भइसकेका थिए । उनले आफूप्रतिको आक्रोशलाई सामाजिक सञ्जालको प्रोपोगान्डा मात्र भने । उनका स्वकीय सचिव भानु देउवाले देउवा सम्म धरातलीय यथार्थबारे जानकारी पुग्नै दिएनन् । आरजु र भानुले बनाएको घेराका कारण देउवा आइजीपी प्रकरण देखि महाभियोग र राजदूत प्रकरणसम्मका घटनामा कलंकित हुँदै गए । काँग्रेसका मतदाता समेत देउवाको नाम सुन्न नचाहने अवस्था बनेको यथार्थ देउवाको कानसम्म पुग्न पाएन । आलोचना सुन्न नचाहने प्रवृत्तिका देउवाको कमजोरीबाट उनका आसेपासेले फाइदा लिए । काँग्रेस नेतृत्वका कारण पार्टीका लोकप्रीय नेताहरू समेतलाई चुनावमा असर प¥यो । गगन थापालाई चुनाव जित्न मुश्किल भयो । विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, उदय शमशेर राणा, रञ्जित कर्ण, भूपेन्द्रजङ्ग शाही जस्ता लोकप्रीय नेताहरू चुनाव हारे ।

चुनावमा नराम्रो पराजय व्यहार्नुपरेपछि काँग्रेसभित्र संरचनात्मक देखि नेतृत्वको फेरबदल सम्मको प्रश्न उठेको छ । पार्टीमा देउवालाई टक्कर दिदै आएका रामचन्द्र पौडेल समेत चुनाव हारेका छन् । सभापतिमा उम्मेदवारी दिएका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समेत हारे । भविष्य बोकेका भनिएका डा.शेखर कोइराला सम्मले चुनाव हारे । काँग्रेसको भावी नेतृत्वका दाबेदार मध्ये महामन्त्री सशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान कोइराला मात्र चुनाव जित्ने भाग्मानीमा परे । अब यीनै दुईमध्ये एकले काँग्रेसको नेतृत्व हात पार्ने अवस्था बन्दै गएको छ ।

कोइराला कि सिंह ?

महामन्त्री डा. सशांक कोइरालाले चुनाव अगावै पार्टी नेतृत्व आफूले लिने दाबी गर्दै आएका थिए । वीपी कोइराला पुत्र कोइरालाका लागि वातावरण अनुकूल बनेको आँकलन भइरहेको छ । परिवारभित्रबाट उनका प्रतिष्पर्धी शेखर चुनाव हार्नुले पछि पर्ने देखिएको छ । सुजाता कोइराला क्यान्सरको संक्रमणपछि खासै सक्रिय छैनन् । अब कोइराला परिवारबाट उनी मुख्य दाबेदार हुने देखिएको छ । तर, परिवारभित्रबाट उनलाई पूर्ण समर्थन हुने अवस्था तयार भइसकेको छैन । सशांकका कतिपय व्यक्तिगत कमजोरीका कारण पनि उनलाई नेतृत्वमा ल्याउन नहुने तर्क गर्ने काँग्रेस कार्यकर्ताहरू छन् । त्यसमा उनले सुधार ल्याउन जरूरी छ ।

गणेशमान पुत्र प्रकाशमान सिंह काँग्रेसभित्र पद्धति र प्रणाली बलियो बन्नुपर्छ भन्ने पक्षका हुन् । उनको पक्षमा पार्टीको ठूलो तप्का रहेपनि खुल्न सकेका थिएनन् । विगतमा काठमाडौं केन्द्रित राजनीति गरेको आरोप खेलेका प्रकाशमान देशव्यापी दौडाहापछि प्रभावशाली बने । पार्टी राजनीतिमा संयमता अपनाएर विवाद बढाउने भन्दा सल्टाउने भूमिकामा लागेकाले रामचन्द्र पौडेलका मात्र नभई पछिल्लो समय शेरबहादुर देउवाका समेत प्रीय बने ।

दम भएको नेताको परिचय बोकेका प्रकाशमानसँग सही समयमा सही राजनीतिक मुद्या उठाउने कलाको कमी देखिएको छ । जबकि सशांकले हिन्दु अधिराज्य र राजसंस्थाबारे पुर्नविचार गर्न सकिने मुद्यालाई जोडदार रुपमा उठाएका छन् । त्यही मुद्याले उनलाई लाभ र चुनौती दुवै दिइरहेको छ ।

यी दुई मध्ये जोखिम मोल्न तयार हुने क्षमता कस्मा छ ? यसको परिक्षा हुन बाँकी छ । पार्टी सभापतिको दाबी गरेपनि गएको चुनावमा दुवैले सभापतिमा उम्मेदवारी दिने जोखिम मोलेनन् ।

यसलाई कतिपयले संयमता अपनाएको भनेका थिए । तर, राजनीतिमा स्टन्ट मार्न दुवै तयार देखिएनन् । अब काँग्रेस अप्ठ्यारोमा पर्दा प्रकाशमान र सशांक मध्ये कस्ले जोखिम मोलेर पार लगाउने हुन् प्रतिक्षाको विषय छ । अब जस्ले जोखिम मोल्छ उस्ले बाजी मार्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot