Logo

अब देश समृद्धितर्फ जान्छ : अध्यक्ष ओली



भक्तपुर, २४ मंसिर  : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अब देश समृद्धिको बाटोमा अगाडि बढ्ने बताउनुभएको छ ।

आज बालकोटस्थित ओली निवासमा भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा तथा प्रदेशसभामा विजयी हुने महेश बस्नेत, शशिजंग थापा र राजेन्द्रमान श्रेष्ठलाई बधाई दिँदै उहाँले जनताको चाहना र अपेक्षालाई पूरा गरेर छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “अब देश विकास र समृद्धितर्फ अगाडि बढ्छ, जनताले विश्वास र आशा राखेर वाम गठबन्धनको पक्षमा मतदान गर्दा आएको नतिजालाई स्वागत गर्दै आमनागरिकप्रति धन्यवाद भन्न चाहन्छु ।”

एमाले र वाम गठबन्धनलाई निषेध गर्न चलाइएको भ्रमको खेतीलाई मतदानमार्फत जनताले चिरेको प्रतिक्रिया दिँदै उहाँले भ्रष्टाचारलाई शून्यमा पु¥याउँदै जनताको अपेक्षालाई पूरा गर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले अब नेपालको भविष्य र उन्नति निश्चत भएको चर्चा गर्दै देशले सकारात्मक बाटो लिने र सामाजिक सद्भाव एवं देशलाई एकताको सूत्रमा बाँध्दै केही वर्षमा मुलुकलाई समृद्ध बनाउन लाग्नेछौँ भन्नुभयो ।

वर्तमान सरकारले केही काम गर्न नसकेको उल्लेख गर्दै उहाँले अब प्रदेशसभा बोलाउन त्रिपाल खोज्नु पर्ने बेला आएको टिप्पणी गर्नुभयो ।

अध्यक्ष ओलीले सरकारले प्रदेशसभा बैठक कहाँ बोलाउने, मुख्य मन्त्री कहाँ बस्ने, कहाँ मन्त्रालय बनाउने भन्ने कुनै तयारीसमेत नगरेको बताउँदै “प्रदेशसभा बोलाउनुपर्छ कहाँ बोलाउने थाहा छैन, सरकारले न त तयारी नै गरेको छ, भवन नहुँदा सभा बस्नलाई पनि अब ठूलाठूला त्रिपाल खोज्नुपर्ने भएको छ, त्रिपाल हालेर सभा बस्नु पर्ने अवस्था आएको छ,” भन्नुभयो ।

आफूहरु प्रतिकूलतामा नआत्तिने र अनुकूलतामा नमात्तिने बताउँदै उहाँले नेपाली समाजलाई विविधतामा एकता भएको नमूना प्रस्तुत गर्न एंव समाज र देश निर्माण गरी जनताका अधिकार सुनिश्चित गर्ने बाटोमा अघि बढ्ने धारणा व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले अब केन्द्र, संघीय र स्थानीय तहमा वामको सरकार बन्ने बताउँदै ्जनताले गरेको विश्वासलाई काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्