Logo

राइटिङ अन द वाल भनेझैँ क्लियर छ नि । लिडसरसिप फेलियर हो । लिडरसिप चेन्ज गर्नुपर्छ : प्रकाशमान सिंह, नेता, नेपाली कांग्रेस



प्रतिनिधी सभा र प्रदेशसभाको चुनावको नतिजाले नेपाली कांग्रेस तेस्रो दल बन्ने संकेत देखाएको छ । यसअघिको चुनावमा पहिलो ठूलो दल बनेको कांग्रेस अहिले प्रत्यक्षतर्फको चुनावमा निकै कमजोर देखिएको छ । पार्टी नेतृत्व नै असफल भएकाले कांग्रेस कमजोर भएको तर्क अघि सार्न थालिएको छ । कांग्रेसभित्रका एक पक्षले सभापति शेरबहादुर देउवाले राजिनामा दिएर नेतृत्व हस्तान्तरण गर्नुपर्छ भनेका छन् भने अर्को पक्षले चुनावमा हार्नुको जिम्मेवारी सामुहिक रुपमा लिनुर्ने बताएका छन् । यिनै विषयमा पत्रकार ऋषि धमलाले कांग्रेसका शीर्ष नेता प्रकाशमान सिंहसँग अन्तरवार्ता लिएका छन् । सिंहसँगको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

तपाई आफूले चुनाव जित्नुभयो । तर कांग्रेसलाई हराउनुभयो नि ?
चुनाव भनेको प्रजातन्त्रको मिठास हो । अहिले अएको नतिजा सधैँका लागि होइन । पाँच वर्षका लागि हो । पार्टी हार्नुमा धेरै कारण छन् । सबैभन्दा महत्वपूर्ण कारण १३औँ महाधिवेशनबाट चुनिएका नेतृत्वको कमजोरी हो । पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउनुपर्नेमा त्यसो गर्न सकिएन । विधिसम्मत रुपमा पनि पार्टी चलाइएन । कांग्रेसले सरकारको नेतृत्व गर्दा पनि जनभावना अनुसार काम गर्न सकेन ।

चुनावमा पाएको जनमतलाई कसरी लिनुहुन्छ ?
जनताले त कांग्रेसलाई सुध्रिने भए सुध्र नत्र भविष्य राम्रो छैन भन्ने सन्देश दिएका छन् । अब कांग्रेस गम्भीर भएर अगाडि बढ्नुपर्छ ।

पार्टी नेतृत्व कमजोर भयो भनिरहँदा तपाई नेतृत्व लिन सक्नुहुन्छ ? त्यो हिम्मत छ तपाईसँग ?
राजनीतिमा लाग्नेहरु हिम्मतवाला नै हुन्छन् । हिम्मत नहुनेहरु कहाँ टिक्छन् र ? क्षणिक समयका लागि त टिक्न सकिएला । तर लामो समयसम्म टिक्नका लागि त हिम्मतवाला नै हुनुपर्छ । मेरो पनि ४५ वर्षको राजनीतिक जीवन छ । म आफूले गर्नुपर्ने काम इमानदारिताका साथ गर्ने मान्छे हुँ ।

नेपाली कांग्रेसका लागि अहिलेको चुनौति के हो ?
कांग्रेसभित्र सुधारको आवश्यक छ । कांग्रेसलाई सुधार गर्नु नै आजको मुख्य चुनौति हो । विपि कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्ण शमशेरलगायतले पार्टी स्थापना गर्दा जनु मूल्य मान्यता राखिएको थियो, त्यसलाई आत्मसाथ गर्नुपर्छ । पार्टीलाई सन्तुलित बनाएर चलाउनुपर्छ ।

अब इतिहासको कुरा गरेर त हुँदैन नि । समय र जनताको माग अनुसार चल्नुपर्दैन ? सधैँ पुराना नेता र इतिहास भँजाएर हुन्छ ?
ऋषि जि, इतिहास हुनेले न इतिहासको कुरा गर्ने हो । भर्खर जन्मेको बच्चाले इतिहासको कुरा गर्छ र ? हाम्रो इतिहास राम्रो छ, त्यो भन्छम् । नेपाली कांग्रेसको इतिहास राम्रो छ । पटकपटक जनताले बहुमत दिएका छन् ।

तर अहिले त तेस्रो दल बन्दै छ । यो त कन्तविजोग भएन ?
पहिलो संविधानसभाको चुनावमा पनि हामीलाई कन्तविजोग भनिएको थियो । दोस्रो संविधानसभाको चुनावमा त फेरी सबैभन्दा ठूलो दल बन्यौँ । कांग्रेस सधैँभरी सत्ता र सरकारमै रहनुपर्छ भनेर हुँदैन । राजनीतिमा सधैँ सोचेजस्तो हुँदैन । क्षमता भएकालाई जनताले मत दिन्छन् ।

खै त तपाईहरुले क्षमता देखाउनसक्नुभएको ?
अब देखाउँछौँ । पार्टीलाई सुधारेर लैजान्छाँै ।

कसरी सुधार गर्नुहुन्छ पार्टीलाई ?
हामी प्रजातान्त्रिक पार्टी हौँ । विधि र प्रक्रिया अनुसार नै पार्टीलाई सुधारेर लैजान्छौँ । प्रत्यक्षतर्फको जुन नतिजा आएको छ, यसले कांग्रेसको नेतृत्व असफल भएको पुष्टी गरेको छ । डाइरेक्ट इलेक्कसनको जुन रिजल्ट आएको छ, त्यसले त राइटिङ अन द वाल भनेझैँ क्वियर छ नि । लिडसरसिप फेलियर हो यो । १३ औँ महाधिवेशनबाट आएको नेतृत्व र पदाधिकारीले पार्टीलाई सही तरिकाले चलाउन नसकेकै हुन् ।

अब के गर्नुहुन्छ ?
लिडरसिप चेन्ज गर्नुपर्छ । समयको माग अुनसार चल्नुपर्छ ।

तपाई विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्ने पक्ष हो ?
यो विषयमा साथीभाइहरुसँग छलफल गर्नुपर्छ । म एक्लैले केही भनेर हुँदैन । तर चुनावी नतिजाका बारेमा गहन समिक्षा गर्नुपर्छ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फको नतिजा आएपछि हामी छलफल गछौँ ।

शेरबहादुर देउवाको नेतृत्व परिवर्तन गर्नुपर्छ भन्न पक्षमा हो ?
रिजल्टले त्यस्तै देखाएको छ त मैले के गर्ने ? कांग्रेसको संगठनलाई बलियो बनाउन सक्नुभएन भन्ने कुरा आएकै छ ।

नेपाली कांग्रेसको नेतृत्व लिन तपाई तयार हुनुहुन्छ ?
राजनीतिमा लागेको व्यक्ति नेतृत्व लिन तयार नहुने त कुरै भएन । समय परिस्थितीले मलाई पार्टीको नेतृत्व लिने अवस्था आयो भने म पछि हट्ने कुरै हुँदैन ।

अब कांग्रेसको संसदीय दलको नेता बन्ने पालो तपाईको हो ?
म साथीभाइसँग सल्लाह गर्छु । तर मलाई हतार छैन । स्लो एण्ड स्टडी विन द रेस भन्ने मान्यतालाई म मान्छु ।

समयले डाडाँ काटेपछि त ढिला होला नि ?
मलाई मेरो बुबाआमासँग जोडेर हेरिन्थ्यो । तर अहिलेसम्म म मेरै क्षमताले राजनीतिमा टिकेको छु । क्षमता र जनताको समर्थनले म राजनीतिमा सफल भएको हुँ । म देश बनाउनका लागि कठोर र कठीन निर्णय गरेर राजनीतिमा आएको मान्छे हुँ । अवसर पाएँ भने म चमत्कार गरेर पार्टीलाई सफल बनाउन सक्छु । मैले नेतृत्व लिनुपर्छ भन्ने कुरा आयो भने म तयार छु । तर साथीभाइसँगको परामर्श पहिलो कुरा हो ।

तपाईले नेतृत्व लिने बेला आएकै हो त ?
हेरौँ ।

 

पुरा अन्तरवार्ता हेर्नुहोस्



प्रतिक्रिया दिनुहोस्

Screenshot