Logo

सिंहदरबार प्रवेशको तयारीमा ओली, यस्तो छ भावी कार्यसूची



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सिंहदरबार प्रवेशको तयारीमा छन् । निर्वाचनमा एमालेले सानदार जित हासिल गरेपछि ओली प्रधानमन्त्री बन्ने निश्चितप्रायः भएसँगै आफ्नो सल्लाहकारहरूलाई आगामी कार्यसूची तयार गर्न निर्देशन दिइसकेको बुझिएको छ ।

ओलीको आगामी कार्यसूचीमा सरकार निर्माण पहिलो नम्बरमा रहेको छ । सरकार बनाउँदा सबै पक्षलाई समेटेर जाने तयारीमा छन् । माओवादी केन्द्र र मधेश केन्द्रित दलहरूलाई समेत सरकारमा ल्याउने गरी ओलीले पहल थालेका छन् । उनले नेपाली काँग्रेसलाई समेत औपचारिक आव्हान गर्ने बुझिएको छ । तर, काँग्रेस प्रमुख प्रतिपक्षीका रूपमा रहने निश्चितप्रायः छ ।

ओलीले सरकार निर्माण गर्दा आन्तरिक व्यवस्थापन देखि अन्य दललाई दिने जिम्मेवारी समेतलाई कार्यसूचीमा राखेका छन् । सरकारमा जिम्मेवारी बाँडफाँडसँगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायतका पदहरूको बाँडफाँड समेत महत्वको विषय हो । सम्भवतः विद्यादेवी भण्डारी राष्ट्रपति र नन्दकिशोर पुन उपराष्ट्रपति कायमै रहने सम्भावना बलियो छ । ओनसरी घर्ती पुनः सभामुख रहने सम्भावना छ ।

सरकार र मुख्य पदहरूको बाँडफाँड पछि ओलीले विदेश सम्बन्धलाई प्राथमिकतामा राख्ने बुझिएको छ । भारतसँगको सम्बन्धमा ओलीको विशेष ध्यान जानेछ । ओलीको भारत सम्बन्ध चिसिएको बुझाई छ । नाकाबन्दीका बखत ओलीले भारतप्रति कडा धारणा ल्याएका थिए । चीनसँगको सम्बन्ध सुदृढ रहेकाले निरन्तरता दिने चुनौती ओलीसँग छ । दुवै देशसँगको सम्बन्धलाई सन्तुलनमा राख्ने गरी ओलीले कार्यसूची तयार गरेको बुझिएको छ ।

ओलीले आन्तरिक र बाह्य व्यवस्थापनपछि समृद्धीको नारालाई व्यवहारमा बदल्ने गरी काम थाल्ने तयारी गरेका छन् । चुनाव अघि बोलेको पूरा गर्ने ओलीको चुनौती छ । उनले विगतमा सार्वजनिक गरेको समृद्धीका पपुलर नाराहरूको समर्थन मात्र भएनन् उपहास गर्नेहरू समेत थिए । उनको समृद्धीको नारालाई उपहास गर्नेहरूको मुख बन्द गर्न ओलीसामु चुनौती छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot