Logo

समानुपातिक सूची तलमाथि गरी सांसद बन्न चलखेल



काठमाडौं, २५ मंसिर। समानुपातिकतर्फ सांसद बन्न चलखेल बढेको छ । नियमावली अनुसार बन्द सूचीमा राखिएका राष्ट्रिय दलहरूबाट प्राप्त मतका आधारमा ११० सांसद निर्वाचित हुने व्यवस्था छ । सबै जाति, क्षेत्र, लिङ्ग र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने नियम अनुसार बन्दसूचीमा क्रमसंख्या अनुसार नाम पठाइएको छ । तर, सूचीमा तल माथि गरेर सांसद बन्नेहरूको नाम पठाउने खेलहरू मुख्य दलहरूभित्र भएको छ ।

निर्वाचन आयोगले समानुपातिकको नियमावली अनुसार नाम तलमाथि गरेर सांसद बन्नेहरूको नाम पठाउन नपाउने तर्क गरेको छ । नियमावलीको ६० नम्बर बुँदा उल्लेख गर्दै जस्तो नाम पठाइएको छ त्यस्तै गरी भिन्न जाति, क्षेत्र, लिङ्गलगायतको संख्या पु¥याउनुपर्ने आयोगका एक अधिकारीले रिपोर्टर्स नेपाल डट कमलाई बताए । नाम यताउता गरेर पठाउँदा के मिल्छ कि मिल्दैन ? भन्ने प्रश्नमा ती अधिकारीले भने,‘गर्नु हुँदैन ।’

ऐनले मिल्दैन या गर्न हुँदैन भन्ने स्पष्ट नपारेकाले पनि समानुपातिक सांसद बन्न सूचीको निकै तल नाम भएकाहरूले चलखेल थालेका छन् । जस अनुसार खस आर्य, जनजाति, महिला, पिछडिएको समुदाय र क्षेत्रको सूचीमा केही तल नाम भएकाहरू आफ्नो नाम पार्न सक्रिय भएका छन् ।

हालको मतपरिणाम अनुसार प्रत्यक्षतर्फ कमै महिला निर्वाचित छन् । नेपाली काँग्रेसतर्फ एकजना महिला पनि प्रत्यक्षतर्फ निर्वाचित भएका छैनन् । यसकारण पनि उसलाई उल्लेख्य संख्यामा महिलालाई समानुपातिकतर्फको सूचीबाट ल्याउनुपर्ने हुन्छ । माओवादी केन्द्रबाट तीनजना महिला प्रत्यक्षतर्फ जितेबाट उसले समानुपातिकतर्फ महिलाको सूचीमा नाम घटाउन सक्ने भएको छ । प्रत्यक्षतर्फ ८० सिट कटाउने दिशामा बढेको एमालेबाट एकजना महिला मात्र प्रत्यक्षतर्फ निर्वाचित हुने सम्भावना छ ।

एमालेले समानुपातिकतर्फ ठूलो संख्यामा महिलालाई स्थान दिनुपर्ने हुन्छ । यसो हुँदा धेरै पुरूषको नाम कट्न सक्छ ।
मधेश केन्द्रित दलहरूमा समेत महिला एकजना चुनाव जितेका छैनन् । समानुपातिकतर्फ धेरै महिलालाई सांसद बनाउनुपर्ने हुँदा अन्य जाति, क्षेत्र र समुदायका पुरूषहरू सांसद बन्न चलखेलमा सक्रिय भइसकेका छन् ।

कतिपय दलहरूले पैसा लिएर समानुपातिकको सूचीमा धनाढ्यहरूलाई राखेको चर्चा चलेकाले पनि चलखेल बढेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot