Logo

मधेश केन्द्रित दलको पुनरागमन : मेलमिलाप र एकताको सन्देश



रमेश लम्साल/सिबी अधिकारी : काठमाडौँ, २५ मंसिर  : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तराई मधेश केन्द्रित दलले पुनरागमन गरेका छन् ।
विसं २०७० मा गुमाएको शाख पुनः फर्काएका उनीहरुले त्यसलाई जनताको न्यायका अथ्र्याएका छन् । छ राजनीतिक दलको एकतापछि बनेको राष्ट्रिय जनता पार्टी नेपालर संघीय समाजवादी फोरम नेपालले निर्वाचनका लागि नै भनेर गठबन्धनसमेत बनाए । केही निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसले समेत सघायो । काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाउने प्रयास असफल भए पनि मधेस केन्द्रित दलले गरेको पुनरागमन भने आशातीत रुपमा सफल देखिएको छ ।

प्रदेश नं २ का हकमा वाम गठन्धनलाई समेत मधेशी गठबन्धनले पछाडि पारेको छ । काँग्रेस र वाम गठबन्धनलाई समेत पछाडि पारेर राजपा र समाजवादी फोरमले निकालेको जीतलाई उनीहरु आफूहरुलाई जनताले गरेको न्यायका रुपमा विश्लेषण गर्छन् ।

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो अनिलकुमार झा, महेन्द्रराय यादव, राजकिशोर यादव र शरत्सिंह भण्डारीले विजयको झण्डा फहराउनुभएको छ । काँग्रेसले ठाकुरलाई मतदान गर्न पत्र नै पठाएर स्थानीय नेतृत्वलाई निर्देशन दिएको थियो । समाजवादी फोरमका अध्यक्ष यादवलाई समेत काँग्रेसले मत दिन निर्देशन दिएको थियो ।

हालसम्म घोषित परिणामअनुसार राजपाले १० स्थानमा जीत निकालेको छ भने अझै दुई स्थानमा प्रतिस्पर्धी उम्मेदवारभन्दा अग्रता कायम राखिरहेको छ । यस्तै समाजवादी फोरम हालसम्म नौ स्थानमा विजयी भएको छ भने दुई स्थानमा अग्रता कायम गरेको छ ।

प्रदेश नं. २ को प्रदेशसभा निर्वाचनमा फोरम १८ स्थानमा विजयी भएको छ भने एक स्थानमा अझै अगाडि छ । राजपाले ११ स्थानमा जीत निकालेको छ भने चार स्थानमा अझै अग्रता कायम गरिरहेको छ । पाँच नं प्रदेशमा समेत फोरमले तीन प्रदेशसभा सदस्य जिताएको छ । राजपाबाट निर्वाचन लडेका रेशमलाल चौधरी विजयको नजिक पुुग्नुभएको छ ।

प्रदेश नं २ मा वाम गठबन्धनमा आबद्ध नेकपा (एमाले)ले ११ स्थानमा मात्रै प्रदेशसभामा जीत निकालेको छ भने एक क्षेत्रमा मात्रै अग्रता लिइरहेको छ । नेकपा (माओवादी केन्द्र)ले सात स्थानमा मात्रै जीत निकाल्न सकेको छ । काँग्रेसले प्रदेश नं २ मा आठ प्रदेशसभा सदस्यलाई जिताउन सकेको छ ।

फोरमका प्रदीप यादव पर्सा १, विमलप्रसाद श्रीवास्तव, उमाशंकर अरगरिया धनुषा २, उपेन्द्र यादव सप्तरी २, रामसहायप्रसाद यादव बारा २, रामबाबुकुमार यादव पर्सा ३, हरिनारायणप्रसाद रौनियार पर्सा ३, डा सूर्यनारायण यादव सप्तरी २, मोहम्मद इस्तियाक राई बाँके २ बाट विजयी भइसक्नुभएको छ ।

राजपाका लक्ष्मणलाल कर्ण पर्सा ४, ठाकुर महोत्तरी ३, भण्डारी महोत्तरी २, झा रौतहट १, एकवाल मियाँ बारा ४, राजकिशोर यादव सिरहा ४, चन्द्रकान्त चौधरी सप्तरी ३ र महतो धनुषा ३ बाट विजयी भइसक्नुभएको छ ।

रापजा अध्यक्ष मण्डलका सदस्य महतोले ३० हजार ७४२ मत प्राप्त गरी काँग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिलाई पराजित गर्नुभयो । निधिले २७ हजार ८२८ मत प्राप्त गर्नुभएको थियो । सो पार्टीका अध्यक्ष मण्डलका संयोजक ठाकुर, महोत्तरी क्षेत्र नं ३ बाट २५ हजार ८८५ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका विजयकुमार चौधरीले आठ हजार ४४७ मत प्राप्त गर्नुभयो ।

महेन्द्र राय यादव सर्लाही – २ बाट २९ हजार १९१ मत प्राप्त गरी विजयी हुनुभयो । भण्डारी महोत्तरी – २ बाट ३० हजार ७२२ मत प्राप्त गर्नुभयो । अनिलकुमार झा रौतहट – बाट २१ हजार ८५ मत प्राप्त गरी विजयी हुनुभयो । राजकिशोर यादव सिरहा – ४ बाट २१ हजार १४४ मत प्राप्त गरी विजयी बन्दा पूर्व कानून न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायक पराजित हुनुभयो । नायकले १७ हजार ५७५ मत प्राप्त गर्नुभयो ।

यस्तै फोरमका अध्यक्ष यादवले २१ हजार ६२० मत ल्याउँदा माओवादी केन्द्रका उमेश यादवले ११ हजार ५८० मत प्राप्त गर्नुभयो । सप्तरीमा ४ प्रतिनिधिसभा क्षेत्रमध्ये तीनमा मधेसी गठबन्धन विजयी भएको छ । एक क्षेत्रमा काँग्रेसले जीत हात पारेको छ । क्षेत्र नं १, २ र ३ मा मधेशी गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । क्षेत्र नं १ मा फोरमका डा सूर्यनारायण यादव, २ मा फोरमका अध्यक्ष उपेन्द्र यादव र क्षेत्र नं ३ मा राजपाका चन्द्रकान्त चौधरी निर्वाचित भएका छन् ।

मधेसबाट जित्ने नेता

माओवादी केन्द्रका तर्फबाट रौतहट ३ बाट प्रभु साह २७ हजार ७९९ मतका साथ विजयी हुनुभयो । उहाँका निकटम प्रतिस्पर्धी काँग्रेसका सुनिलकुमार यादवले १२ हजार २०६ मत प्राप्त गर्नुभयो । यस्तै माओवादी केन्द्रका रामेश्वर राय यादव सर्लाही–३ बाट २२ हजार ३३६ मतका साथ विजयी हुनुभयो । उहाँका निकत्तम प्रतिष्पर्धी हरेशप्रसाद महतोले १४ हजार ९२९ मत प्राप्त गर्नुभयो ।

यस्तै धनुषा–४ बाट एमालेका रघुवीर महासेठ २२ हजार ५३२ मतका साथ विजयी हुँदा उहाँका प्रतिष्पर्धी महेन्द्र यादवले १९ हजार ९९१ मत प्राप्त गर्नुभयो । सोही जिल्लामा माओवादी केन्द्रका मातृकाप्रसाद यादव विजयको नजिक पुग्नु भएको छ । तराई मधेशका आठ जिल्लामा वाम गठन्धनको प्रदर्शन नकारात्मक हुन पुगेको छ ।

प्रदेशसभातर्फ सप्तरी – १(क)मा एमालेका सत्यनारायण मण्डल निर्वाचित हुनुभयो । एमालेका प्रदेश संयोजक मण्डल ११ हजार ३०२ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिष्पर्धी राजपाका राजकुमार लेखीले नौ हजार २५२ मत पाए । माओवादी केन्द्रका रामचन्द्र झा, उमेश यादव, नायकजस्ता स्थापित हस्तीसमेत पराजित हुनुपरेको छ । एमालेका डा वंशीधर मिश्र, काँग्रेस नेता रामकृष्ण यादव, नेत्री किरण यादवसमेत पराजित हुनुप¥यो ।

एकतामा बल

प्रदेश नं २ मा मधेस केन्द्रित दलको विजयलाई राजपाका महासचिव मनिष सुमनले मधेशी गठबन्धनप्रति जनताले देखाएको विश्वासका रुपमा लिएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो “जनतामा सकारात्मक उत्साह छाएको छ, एकतामा नै बल हुन्छ भन्ने सन्देश परिणामले दिएको छ । हामी अब प्रदेश सरकार बनाउँछौँ ।”

उहाँले वाम गठन्धनको बहुमतलाई स्वागत गर्दै विगतको जस्तो तिक्ततापूर्ण सम्बन्ध नराखी सौहार्दपूर्ण सहकार्यमा जोड दिनुपर्ने आँैल्याउनुभयो । फोरमका नेता डा शिवजी यादवले आफूहरुले अपेक्षित गरेको परिणामभन्दा कम आए पनि जनताको फैसलालाई सकारात्मक रुपमा लिएको बताउनुभयो । काँग्रेससँग गठबन्धनको हल्लाले परिणाममा केही प्रभाव पारेको भन्दै उहाँले जनताका सामु प्रस्तुत गरेको कार्यसूची कार्यान्वयन गर्नेमा जोड दिनुभयो ।

संविधान संशोधनका लागि आग्रह गरिने उल्लेख गर्दै उहाँले भन्नुभयो, “निर्वाचनमा देखिएको हालको परिणामलाई स्वागत गर्दै हामी हाम्रा कार्यसूचीलाई संस्थागत गर्न लागिपर्छौ ।”

विश्लेषक एवम् पत्रकार डा राजेश अहिराजले राजनीतिक स्थायित्व र विकासका लागि जनताले आफ्नो मत दिएको टिप्प्णी गर्नुभयो । उहाँले भन्नुभयो, “ मेलमिलाप र एकताको सन्देश प्राप्त भएको छ । यो गरिमालाई सबै दलले मिलेर कायम राख्न सक्नुपर्छ ।”

उहाँले आगामी राजनीतिक नेतृत्वले आर्थिक समृद्धिलाई ध्यान दिनुपर्ने र मधेसको समृद्धि पनि त्यसैमा पर्ने उल्लेख गर्नुभयो । सबै दललाई भेदभाव नगरी जनताले मत दिएकाले त्यसको कदर गर्नुपर्ने उहाँको जोड छ । मधेश केन्द्रित दलले देशलाई केन्द्रमा राखेर मधेसका विषय उठाउनुपर्ने धेरैको विश्लेषण छ ।
–––



प्रतिक्रिया दिनुहोस्