Logo

शेरबहादुर देउवाको विकल्पमा आफू आउन सक्ने डा. शेखर कोइरालाको दाबी



२६ मंसिर, काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको शर्मनाक हार हुनुका पछाडि धेरै कारण भएको बताएका छन् । अधिकांश नेताहरुले नेतृत्वको कमजोरीका कारण कांग्रेसले हारेको बताइरहँदा कोइरालाले भने कुनै एउटा कारणले मात्र पराजय भएको हुन नसक्ने बताए ।

नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै नेता कोइरालाले मुख्य कारण चाँहि पछिल्लो डेड वर्षभित्र कांग्रेसले गरेका केही अलोकप्रिय काम भएको बताए । दोस्रो कारण स्थानीय निकायको चुनावमा उम्मेदवार छनौट राम्रोसँग हुन नसक्नु रहेको कोइरालाको तर्क छ ।

“तेस्रो कारण भनेको वाम गठबन्धनले स्थीर सरकार दिन सक्छ भन्ने सन्देश जनतामा गयो ।” कोइरालाले थपे । त्यसैगरी लोकतान्त्रिक गठबन्धन प्रभावकारी बन्न नसक्दा कांग्रेस कमजोर बनेको कोइरालाको तर्क छ ।

६७५ भोट अन्तरले पराजित कोइरालाले आफ्नो क्षेत्रमा जनताले आफूलाई उत्साहपूर्वक मतदान गरेको बताए । तर कांग्रेसको आन्तरिक कारणले गर्दा आफूले चुनाव हारेको कोइरालाले बताए ।

“प्रदेश नम्बर क बाट कांग्रेसको उम्मेदवारले २ हजार भोटले जितेको छ । ख बाट तीन हजार भोटले जितेको छ । अनि प्रतिनिधिसभाको उम्मेदवार चाँही ६७५ भोट अन्तरले पराजित हुन्छ । त्यसको माने के हो ?” कोइरालाले प्रश्न गरे ।
प्रदेशसभामा जितेर प्रतिनिधिसभामा हारेको आफू मात्रै भएको भन्दै कोइरालाले आक्रोष पोखे ।

चुनाव हारे पनि आफ्नो आत्मबल नघटेको कोइरालाको तर्क छ । आफू पार्टीलाई अझ मजबुत बनाएर अघि बढाउने पक्षमा रहेको बताए ।
कोइरालाले पार्टीको हार बारे समिक्षा गर्नका लागि केन्द्रिय समितिको बैठक र महासमितिको बैठक तत्काल डाक्नुपर्नेमा जोड दिए ।

दुवै समितिको बैठकले केही निष्कर्ष निकाल्ने कोइरालाको तर्क छ ।
विगतमा कांग्रेसले मतदातालाई नै क्रियाशील सदस्य बनाएर गल्ती गरेको कोइरालाले बताए । क्रियाशील सदस्यको आडमा महासमिति सदस्य बनाइएको कोइरालाले बताए । यस्ता कुरालाई सुधार गर्नुपर्ने उनले बताए ।

पार्टी सभापति शेरबहादुर देउवाले राजिनामा दिनुपर्ने हो भन्ने ऋषि धमलाको प्रश्नमा कोइरालाले कुनै एक व्यक्तिले मात्र नभै सबैले हारको जिम्मेवारी लिनुपर्ने बताए ।

तर महासमिति र केन्द्रिय समितिको बैठक नबसी कसैले राजिनामा दिनुपर्छ भन्ने पक्षमा आफू नरहेको कोइरालाको तर्क छ ।

नैतिकताको आधारमा राजिनामा दिने वा नदिने भन्ने कुरा सभापति शेरबहादुर देउवा आफैले सोच्नुपर्ने उनको भनाई छ । तर यही अवस्था हो भने अहिलेको नेतृत्वले कांग्रेसलाई अगाडि बढाउन नसक्ने कोइरालाले बताए ।

शेरबहादुर देउवाको विकल्पमा आफू आउन सक्ने कोइरालाको दाबी छ । कुनै पनि नेतृत्व निर्विकल्प नहुने भन्दै उनले अरु कोही पनि कांग्रेसको नेतृत्व लिन सक्षम रहेको उनको भनाई छ ।

आफ्नो क्षेत्रमा प्रदेशतर्फका उम्मेदवार जिताउनु नै आफ्नो सफलता भएको भन्दै कोइरालाले आफू सक्षम रहेको दाबी गरे ।
अब कांग्रेस सुध्रिएन भने नेतृत्व परिवर्तन स्वतः हुने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot