Logo

जितेपछि नेताहरु पुनः घरदैलोमा



रमेश लम्साल: काठमाडौँ, २६ मंसिर: निर्वाचनको परिणाम आइसकेपछि पनि प्रमुख राजनीतिक दलका नेता घरदैलोमा नै व्यस्त रहेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको बेला जनताले वाम गठबन्धनलाई अनुमोदन गरेको भन्दै विजेता उम्मेदवारले पुनः जनतालाई बधाई तथा धन्यवाद दिन घरदैलो अभियान शुरु गरेका हुन् ।

विशेष गरी वाम गठबन्धनका शीर्ष नेता एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली झापाका मतदातासँग विजयको खुशीयाली साट्दै हुनुहुन्छ । उहाँले जिल्लाभर वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराएको भन्दै मतदातासँग खुशीयाली साट्दै धन्यवाद ज्ञापन गरिरहनु भएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

यस्तै, वाम गठबन्धनका अर्का नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि मतदातालाई धन्यवाद दिन आज र बुधबार घरदैलोमा व्यस्त हुनु हुने भएको छ ।

फराकिलो मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि अध्यक्ष प्रचण्ड फेरि घरदैलोमा मतदातालाई धन्यवाद दिन निस्कनुभएको उहाँका प्रेस संयोजक मनोहरि तिमिल्सनाले जानकारी दिनुभयो ।

काठमाडौँ आउने तयारी गरिरहेको भए पनि अध्यक्ष दाहालले चितवनका मतदातालाई धन्यवादसहित वाम गठबन्धनलाई जिताउन सहयोग गरेकोमा आभार व्यक्त गर्ने कार्यक्रम रहेको छ । “आफूलाई मतदान गरी चुनाव जिताउने मतदातालाई धन्यवाद दिन अध्यक्ष प्रचण्ड आज र भोलि गरी चितवनका मतदाताको घरदैलोमा पुग्न लाग्नुभएको हो” माओवादी केन्द्रका नेता सूर्य सुवेदीले भन्नुभयो ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरी इतिहास कायम गर्नुभएका तनहुँ क्षेत्र नं १ का विजयी सांसद कृष्ण कुमार श्रेष्ठले पनि मतदातालाई आभार व्यक्त गर्दै पुनः घरदैलो गरिरहनुभएको छ ।

“मतदाताको बीचमा गइरहेको छु । जनताले मलाई ठूलो आशा गरेर विजयी गराएका छन् । यो जितको खुशीयाली जनताको बीच नै बसेर साटासाटा गर्ने लक्ष्यका साथ पुनः घरदैलोमा लागेको छु” उहाँले भन्नुभयो “जनताले मलाई देखाएको विश्वासलाई यथार्थतामा परिणत गर्न हरसम्भव प्रयास गर्नेछु ।” श्रेष्ठले ३४ हजार ४९२ मत ल्याएर विजयी हुँदा पौडेलले २७ हजार ६९० मत प्राप्त गर्नुभएको हो ।

पूर्व अर्थमन्त्रीसमेत रहनुभएका काँग्रेसका प्रभावशाली नेता महेश आचार्यलाई पराजित गर्नुभएका माओवादी केन्द्रका नेता तथा मोरङ क्षेत्र नं ४ बाट विजयी सांसद अमनलाल मोदीसमेत मतदातासँग खुशी साट्न पुनः घरदैलो गरिरहनुभएको छ ।

मोरङको सुन्दर हरैँचामा धन्यवाद ज्ञापन कार्यक्रममा सहभागी भइरहनुभएका मोदीले रासससँगको कुराकानीमा भन्नुभयो “विगतमा निर्वाचन जित्नेले जितेकै दिनदेखि जनतालाई फर्केर नहेरेको इतिहास कायम थियो । म आफूलाई जनताको नोकरको रुपमा परिभाषित गर्दै सधँै सेवक बन्न चाहन्छु भन्ने सन्देश दिन चाहन्छु ।”

मोदीले ३३ हजार ५२९ मत ल्याएर विजयी हुँदा आचार्यले २६ हजार ८०० मत प्राप्त गर्नुभएको थियो । नुवाकोट क्षेत्र नं १ का विजयी सांसद हितबहादुर तामाङ पनि नुवाकोटका जनतासँग खुशी साट्न नियमित रुपमा घरदैलोमा हुनुहुन्छ ।

उहाँले भन्नुभयो “जनताले असाध्यै खुशी व्यक्त गर्दै स्वागत गरेका छन् । जनताको विश्वासलाई खण्डित हुन नदिन र आर्थिक समृद्धि र नुवाकोटको विकासका लागि सधैँ लागि पर्छु ।” विजयी तामाङलाई मतदाताले ‘म्यान अफ दि इलेक्सन’को रुपमा पनि चित्रण गरेका छन् ।

काँग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता रामशरण महतलाई तेस्रो प्रयासमा चुनाव हराउनुभएका तामाङले ३६ हजार ४७३ मत प्राप्त गर्नुभयो भने महतले २७ हजार ९२० मत ल्याउनुभयो ।

यस्तै, काँग्रेसका नेता शेखर कोइरालालाई पराजित गर्नुभएका सादगी नेताको रुपमा चिरपरिचित एमाले नेता लालबाबु पण्डित पनि निर्वाचन क्षेत्रमा नै मतदातासँग खुशी बाँड्न घरदैलोमा हुनुहुन्छ ।

उता कञ्चनपुर क्षेत्र नं १ बाट विजयी सांसद बीना मगर पनि मतदातालाई धन्यवाद दिन नियमित घरदैलोमा लाग्नुभएको छ । । बीनाले ३८ हजार ४६७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २१९ मत मात्र प्राप्त गरी विजयी हुने भएको हो ।

पतिशोकका कारण मगरले खासै खुशीयाली मनाउन नपाए पनि वाम गठबन्धनका नेता कार्यकर्ताले विजय ¥याली र अबीर साटासाट गर्दै मतदातालाई आभार व्यक्त गरेका छन् ।

नवनिर्वाचित सांसद मगरले जिल्लाको दक्षिणी क्षेत्रको तीव्र विकास गर्ने, मुख्य सडकलाई हिलो र धुलोमुक्त बनाउने, आर्थिक समृद्धि र रोजगारी सिर्जनाका कार्यक्रम ल्याउने, सीमा समस्या समाधानका लागि पहल गर्ने, ऐलानी समस्या समाधान गरेर जग्गाधनी पूर्जा वितरण गर्न पहल गर्ने तथा जंगली जनावरको आतंक नियन्त्रण गर्नेलगायतका प्रतिबद्धता पूरा गर्न लागिपर्ने बताउनुभयो ।

यस्तै, राजधानी काठमाडौँको क्षेत्र नं ५ बाट निर्वाचित एमाले महासचिव ईश्वर पोखरेलले आज मतदातालाई धन्यवाद दिँदै लाजिम्पाट, नारायणगोपाल चोक वसुन्धरालगायतका स्थानमा पुनः घरदैलो गर्नुभएको छ । पूर्व प्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपाल पनि क्षेत्र नं २ का मतदातासँग खुशी साट्दै घरदैलोमा व्यस्त हुनुहुन्छ ।

नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित सांसद पम्फा भुसाल पनि नियमितरुपमा नै घरदैलोमा हुनुहुन्छ । “नियमितरुपमा मतदातालाई भेट्न गइरहेको छु । विजयी गराएकोमा धन्यवाद दिँदै मतदातालाई आभार व्यक्त गर्दै खुशी साटिरहेको छु” – उहाँले भन्नुभयो ।

विजयी मात्रै होइनन् पराजित उम्मेदवारसमेत मतदातालाई धन्यवाद दिन लागिपरेका छन् । तीमध्येका एक हुनुहुन्छ काँग्रेस उम्मेदवार रामहरि खतिवडा । जिल्लाका विभिन्न स्थानमा पुगेर मतदातालाई धन्यवाद दिएको उहाँले बताउनुभयो ।

काँग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं १ बाट विजयी सांसद प्रकाशमान सिंहले पनि मतदातालाई आभार व्यक्त गर्दै भेटघाट जारी राख्नुभएको छ । आफूले मत दिएर विजयी गराएको उम्मेदवार पुनः खुशी साटासाट गर्न पुग्दा मतदाताले खुशीसँगै भावी दिनमा समेत त्यस्तै सम्बन्धको अपेक्षा गरेको धादिङ क्षेत्र नं २ प्रदेशसभा क्षेत्र (ख) बाट निर्वाचित प्रतिनिधि जगत सिंखडा बताउनुहुन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot