Logo

मधेसी जनताको हितका लागि संविधान सच्याउनुपर्छ : उपेन्द्र यादव



राजविराज, २६ मंसिर  : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस र मधेसी जनताको हक र अधिकार स्थापित नभएसम्म संघर्ष जारी रहने बताउनुभएको छ ।

सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आज सप्तरी सदरमुकाम राजविराजमा आयोजित विजयी ¥यालीलाई सम्बोधन गर्दै उहाँले मधेशका जिल्लामा आएको जनमतले मुलुकमा संविधान संशोधन गर्नुपर्ने दिशा निर्देश गरेको बताउनुभयो ।

अध्यक्ष यादबले मधेशको समस्या समाधान नभएसम्म कुनै पनि हालतमा राष्ट्रिय समस्याको समाधान नहुने बताउँदै मधेशको सवाल कुनै जातीय र क्षेत्रको नभई राष्ट्रिय सवाल भएको पुष्टि भइसकेको धारणा व्यक्त गर्नुभयो ।

संघीयता, समावेशिता, प्रादेशिक स्वायत्तता र स्वशासनको सवालमा मधेश एकमत रहेको उल्लेख गर्दै उहाँले गरिवी, बेरोजगारी र अभावग्रस्तजस्ता समस्याबाट मधेशका जनता बढी पीडित रहेको बताउनुभयो ।

अध्यक्ष यादबले भन्नुभयो, “वर्षाैदेखि सिंहदरबारमा बस्नेहरू यसका दोषी हुन्, उनीहरू मधेशप्रति पूर्वाग्राही भएर नश्लवादी चिन्तन देखाएको छ ।”(रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot