Logo

झलनाथ खनाललाई राष्ट्रपति बनाउने, खनालले चुनाव जितेको इलाम क्षेत्र नम्बर १ मा पुनः निर्वाचन गराएर बामदेव गौतमलाई उठाउने एमालेको तयारी



२८ मंसिर, काठमाण्डौ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रविच गठबन्धनसहित पार्टी एकता प्रक्रियाका मुख्य पात्र बामदेव गौतमले चुनाव हारेपछि अब कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा एमालेभित्र छलफल चलेको छ । बर्दियाबाट नेपाली कांग्रेसका संजय गौतमसँग चुनाव हारेका बामदेवलाई जसरी भए पनि संसदमा लैजानुपर्ने निष्कर्षमा एमाले पुगेको हो ।

पछिल्लो समय सबैभन्दा उत्तम विकल्पका रुपमा एमाले नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्रपति बनाउने र उनले चुनाव जितेको क्षेत्रमा बामदेव गौतमलाई चुनाव लडाउने विषयमा छलफल भइरहेको छ ।

जुनसुकै सासंद राष्ट्रपति भए पनि स्वतः संसद पदबाट राजिनामा दिनुपर्ने भएकाले यही उपायलाई उत्तम विकल्पका रुपमा हेरिएको छ । पार्टी अध्यक्ष र प्रधानमन्त्रीसमेत भइसकेका खनाललाई राष्ट्रपति बनाएर व्यवस्थापन गर्ने उपाय पनि राम्रै हुने निष्कर्षमा एमालेका कतिपय नेता पुगेका छन् ।

यद्यपी पार्टी अध्यक्ष केपी शर्मा ओली भने अहिलेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै अर्को कार्यकालका लागि पनि निरन्तरता दिनुपर्ने पक्षमा रहेको बताइएको छ । तर अरु कुनै विकल्प नभएको खण्डमा खनाललाई राष्ट्रपति बनाएर उनले चुनाव लडेको क्षेत्रमा बामदेवलाई चुनाव लडाउने उपाय ओलीले स्विकार गर्ने अनुमान गरिएको छ ।

इलाम क्षेत्र क्षेत्र नम्बर १ बाट खनाल ३६ हजार ८ सय ७ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भुपेन्द्र कट्टेलले १९ हजार ६ सय ३७ मत प्राप्त गरेका थिए । खनालले १७ हजार मत अन्तरले जितेकाले त्यस क्षेत्रमा पुनः चुनाव गराउँदा पनि एमालेकै उम्मेदवारले जित्ने प्रबल सम्भावना छ ।
बामदेव गौतमलाई संसदमा लैजान नसक्दा एमाले माओवादीबिचको पार्टी एकता प्रक्रिया नै प्रभावित हुने कतिपयको अनुमान छ । चुनाव हारेपछि निराश बनेका गौतम अबका दिनमा सक्रिय बनाउनका लागि पनि संसदमा लैजाने पहल भएको हो ।

बामदेवलाई सासंद बनाउनेदेखि माओवादीसँग पार्टी एकता गर्ने विषय अध्यक्ष ओलीको सहमतिमा भर पर्ने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्