Logo

देशमा अस्थिरताको अन्त्य हुँदैछ : सांसद मानन्धर



काठमाडौँ, २९ मंसिर : नेकपा (एमाले) का नेता तथा नवनिर्वाचित सांसद रामवीर मानन्धरले निर्वाचनपछि मुलुकमा लामो समयदेखि कायम रहेको राजनीतिक अस्थिरता र संक्रमणकालीन अवस्था अन्त्य हुन लागेको बताउनुभएको छ ।

नेकपा (एमाले) काठमाडौँ महानगरपालिका–१६ अन्तर्गत निर्वाचन परिचालन कमिटीले आज आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले मुलुकमा सरकारको स्थायित्व र समृद्धिका लागि जनताले वाम गठबन्धनलाई जनादेश दिएको बताउँदै नयाँ सरकार निर्माण भएपछि जनताले परिवर्तनको अनुभूति गर्ने विश्वास व्यक्त गर्नुभयो ।

निर्वाचन क्षेत्र नं ७ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि पहिलोपटक त्यस क्षेत्रमा पुग्नुभएका मानन्धरले देशमा उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गरी रोजगार सिर्जना गर्नुपर्नेमा जोड दिँदै कृषि, पर्यटन, ऊर्जालगायत क्षेत्रको विकासका कार्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रदेश ‘क’ बाट निर्वाचित सदस्य वसन्त मानन्धरले देश र जनतालाई समृद्ध बनाउन भौतिक पूर्वाधारका साथै यातायात, क्षेत्रमा अल्पकालीन, दीर्घकालीन योजना बनाएर लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम आयोजक संस्थाका संयोजक लक्ष्मण कमालले त्यहाँका जनताले स्थानीय विकास तथा पूर्वाधार निर्माणमा स्थानीय जनसहभागिता खोजेको जानकारी गराउनुभयो । यसअघि वनस्थली हाइट तथा त्यस आसपास क्षेत्रमा विजय जुलुस गरिएको थियो । (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot