Logo

प्रदेश राजधानीका लागि सरकारद्वारा पूर्वाधार अध्ययन



बुटवल, १ पुस : प्रदेशको राजधानी स्थापनाका लागि सरकारले गठन गरेको अध्ययन कार्यदलले रुपन्देहीमा प्रदेश राजधानी स्थापनाका लागि आवश्यक पूर्वाधारको अध्ययन गरेको छ ।

कार्यदलले ५ नं. प्रदेशको तत्काल राजधानी स्थापनाका लागि रुपन्देहीमा पर्याप्त पूर्वाधार रहेको जनाएको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीका कार्यालय, मन्त्रालय, सचिवालय, पहिलो बैठक बस्ने स्थानलगायतका सबै पूर्वाधार रुपन्देहीमा पाइएको टोलीले बताएको छ ।

भौतिक पूर्वाधार अध्ययन गर्न स्थलगत भ्रमणमा रहेका क्षेत्रीय प्रशासन कार्यालय पोखराका सहप्रशासक बाबुराम गौतमले शुक्रबार र आज दुई दिन रुपन्देहीका बुटवल र भैरहवाका विभिन्न सरकारी तथा अर्धसरकारी कार्यालयका भवन अवलोकन गर्नुभयो । ती कार्यालयको अध्ययनपछि आज बुटवलमा उहाँले भन्नुभयो, “सरकारले तत्काल रुपन्देहीलाई अस्थायी राजधानी तोकेमा त्यसका लागि प्रयाप्त पूर्वाधार रहेको पाइयो ।”

उहाँले बुटवलको सीप विकास तालिम केन्द्र, राजश्व अनुसन्धान कार्यालय यातायात कायालय (सवारी), निर्माणाधीन इलाका प्रशासन, सडक डिभिजन कार्यालय, नापतौल कार्यालय, धेरै वर्षदेखि बन्द अवस्थामा रहेको बुटवल धागो कारखाना, शंकरनगर बनबाटिका, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, निर्माणाधीन मुख्य न्यायाधीश निवासलगायतका भवन, कार्यालय तथा संरचना रहेकाले राजधानीका लागि प्रयाप्त हुने उहाँले बताउनुभयो ।

राजधानी लागि तत्काल कुनै नयाँ संरचना निर्माण गर्नु नपर्ने र बनिबनाउ पूर्वाधार प्रयाप्त भएको उहाँको भनाइ थियो । पूर्वाधार अध्ययनका लागि प्रधानमन्त्री कार्यालयबाट खटिएको टोलीले बुटवल, भैरहवा र दाङमा स्थलगत अध्ययन गरिरहेको छ ।

सहप्रशासक गौतमका अनुसार टोलीले आइतबारसम्म सरकारलाई प्रतिवेदन बुझाइसक्नेछ । टोलीका सदस्य–सचिव तथा शहरी विकास तथा भवन निर्माण परियोजना भैरहवाका डिभिजन इन्जिनियर सुरेश ठाकुरका अनुसार टोलीले शुक्रबार भैरहवा र शनिबार बुटवलमा स्थलगत अध्ययन गरेको थियो । (रासस)



प्रतिक्रिया दिनुहोस्