Logo

बाबुराम भट्टराई बाम गठबन्धनसँग नजिकिदै, राजेन्द्र लिङ्देन एमालेमा प्रवेश गर्ने मनस्थितीमा



१ पुष, काठमाण्डौ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई वाम गठबन्धनमा सहभागि हुने बताइएको छ । चुनाव अघि सुरुमा नै गठबन्धनमा सामेल भएका भट्टराई कुरा नमिलेपछि बाहिरिएर कांग्रेससँगको तालमेलमा चुनाव लडेका थिए ।

चुनावी तालमेलका क्रममा माओवादीले गोरखा क्षेत्र नम्बर २ बाट नारायणकाजी श्रेष्ठलाई चुनाव लडाउने अडान लिएपछि भट्टराईले आफूले पहिलादेखि नै चुनाव लड्दै आएको क्षेत्र छोड्न नसक्ने बताएर गठबन्धनबाट बाहिरिएका थिए ।

तर चुनावमा अपेक्षा गरे जस्तो परिणाम आउन नसकेपछि भट्टराई वाम गठबन्धनसँग नजिकिन खोजेका हुन् । समानुपातिकतर्फ तीन प्रतिशतको थ्रेसहोल्ड कट्ने गरी मत ल्याउन नसकेको नयाँ शक्ति पार्टी राष्ट्रिय दल बन्न नसक्ने भएको छ । त्यसैले पनि भट्टराई गठबन्धनसँग नजिक हुन खोजेका हुन् ।

चुनावी तालमेल अनुसार कांग्रेससँग नजिक भएपनि राजनीतिक सिद्धान्तका हिसाबले कांग्रेससँग मिलिरहनुको औचित्य देखिदैन । भट्टराई प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा छन्े भने कांग्रेस त्यसको विपक्षमा छ । यही मुद्दा कार्यान्वयन गराउन सकिन्छ कि भनेर पनि उनी वाम गठबन्धनमा आवद्ध हुन चाहेको बुझिएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देन पनि बाम गठबन्धनसँग नजिक हुन चाहेका छन् । गठबन्धनकै सहयोगमा झापाबाट चुनाव जितेका लिङ्देनको पार्टी राष्ट्रिय दल बन्न नसकेपछि उनी बाम गठबन्धनमा प्रवेश नै गर्ने मनासायमा रहेको बुझिएको छ । प्रत्यक्षमा राप्रपाका तर्फबाट उनले मात्रै चुनाव जितेका थिए भने समानुपातिकतर्फ उनको दलले तीन प्रतिशत मत ल्याउन नसक्दा राष्ट्रिय दल बन्न नसक्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्