Logo

एमालेले हाम्रो माग र समस्यालाई इन्कार गरेर मेरो गोरुको बाह्रै टक्का भन्यो भने संविधान धरापमा पर्छ : राजेन्द्र महतो



राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले संविधान संशोधन गरेर मधेशी जनताको हक अधिकार स्थापित गराउने मुद्दालाई अघि सारेका छन् । तर सरकारको नेतृत्व गर्न लागेका एमाले र माओवादीले यस विषयमा अहिलेसम्म मुख खोलेका छैनन् । राजपा र फोरमबिच पार्टी एकता नै गरेर मधेशी जनताको अधिकारका लागि एकतावद्ध हुने कुरा पनि गरिरहेका छन् । यिनै विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले राजपाका नेता राजेन्द्र महतोसँग अन्तरवार्ता लिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि लिइएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

चुनाव जित्नुभयो । जनताले के चाहेका रहेछन् ?
मधेशी जनताले अधिकार र समानता खोजेका हुन् भन्ने कुरा पहिलै थाहा थियो । सम्मान र प्रतिनिधित्व खोजेको कुरा सबैलाई थाहा छ । लामो समय संघर्ष गरेका जनताले निर्वाचनलाई पनि संघर्षकै रुपमा लिएका छन् । चुनावले जनताको जित भएको छ । अब जनताको आकांक्षा अनुसार सडकदेखि सदनसम्म हामीले जनताका लागि लडाई गछौँ ।

अब तपाईहरु आन्दोलन मात्रै गर्ने कि सरकारमा पनि जाने ? मधेशी जनताले सरकारमा जाने म्यान्डेड दिएका होइनन् ?
सरकारमा जाने कुरा मुख्य एजेण्डा होइन ।

सरकारमा नगई कसरी जनताको हितमा काम गर्न सक्नुहुन्छ ? अहिलेसम्म मधेशमा विकास हुन सकेको छैन नि ?
अधिकार भएन भने विकास पनि हुँदैन । त्यसैले विभिन्न प्रकारका शोषण र विभेदको अन्त्य पहिलो गर्नुपर्छ । आर्थिक रुपमा समेत योजना र बजेट पर्याप्त मात्रामा मधेशी जनताले पाएका छैनन् । अधिकार र विकासलाई एकसाथ लैजानुपर्ने देखिएको छ ।

मधेशमा किन विकास हुन सकेन ?
सरकारको विभेदकारी नीतिका कारण मधेश पछाडि परेको हो । समान नीति नभएसम्म मधेशमा भौतिक विकास हुनै सक्दैन । त्यसैले मधेशप्रतिको विभेदकारी नीतिको अन्त्य हुनुपर्छ । मधेश भनेको नेपालको एउटा अङ्ग हो । यसलाई विभेद गर्नुहुँदैन । यहाँका जनतालाई अधिकार दिनेदेखि विकासका योजना ल्याउनेसम्ममा विभेद भएको छ ।

मधेशका किसानले प्रयोग गर्ने ट्याक्टर खरिदमा १३ प्रतिशत भ्याट लगाइएको छ । जसले किसान मर्कामा परेका छन् । यति साना समस्या समाधान गर्नका लागि पनि तपाई सक्नुहुन्न ? यस्ता समस्याका बारेमा किन बोल्नुहुन्न ?
यस्ता सबै समस्याका बारेमा समयसमयमा भनिरहेका छौँ । मधेशका किसानप्रति पूर्वाग्रही राखेर काम गरिएकोप्रति हाम्रो असन्तुष्टी छ । कृषि उपकरण ल्याउँदा जिरो भन्सारमा छोड्नुपर्छ भन्ने हाम्रो माग हो । त्यसैले मूल लडाई भनेको विभेदको अन्त्यका लागि हो ।

विभेदको अन्त्यका लागि संविधान संशोधन गर्नुपर्ने होला । केपी शर्मा ओली वा प्रचण्डको सरकारले संविधान संशोधन गर्ला ?
जसले सरकार बनाए पनि संसदबाट संविधान संशोधन गर्नुपर्छ । नेपाली कांग्रेस, एमाले र माओवादी मिलेर मधेशविरोधी संविधान बनाएका हुन् । यो संविधानको संशोधन तिनीहरुले नै गर्नुपर्छ । कांग्रेस र माओवादीले त गल्ती स्विकार गरेर संशोधन गर्न तयार देखिएको थियो । अब एमालेले पनि गल्ती स्विकार गर्नुपर्छ ।

एमालेले त अब समृद्धिको मुद्दा मात्रै अघि सार्ने भनिरहेको छ । संविधान संशोधनको मुद्दाका बारेमा अहिलेसम्म एमालेको प्रतिक्रिया आएको छैन नि ?
हाम्रो माग र समस्यालाई इन्कार गरेर मेरो गोरुको बाह्रै टक्का भन्यो भने संविधान नै धरापमा पर्छ । त्यसैले सबै उपलब्धिको रक्षाका लागि संविधान संशोधन जरुरी छ ।

वाम गठबन्धनसँग २ तिहाई बहुमत छ । उनीहरुले चाहेनन् भने त संविधान संशोधन हुँदैन नि ?
गठबन्धनको कुरा छोड्नुस् । यो त बनिरहन्छ, विग्रिरहन्छ । हाम्रो माग पूरा भयो भने एमालेप्रतिको भरोसा बढ्छ । अहिलेसम्म त ठग्ने काम त भएको छ नि ।

प्रदेश नम्बर २ मा राजपा फोरमको सरकार बन्दैछ । मुख्यमन्त्री को बन्दै छ ?
जनताको म्यान्डेट अनुसार हामी सरकार गठन गछौँ । मुख्यमन्त्री को बन्ने भन्ने विषयमा गठबन्धनबिचमा सल्लाह गछौँ । हामी मिलेर अगाडि बढ्छौँ ।

राजपा र फोरमबिचमा पार्टी एकता हुन लागेको हो ?
पार्टी एकताका लागि असम्भव केही पनि छैन । कुराहरु मिलेपछि पार्टी एकता हुन्छ ।

कहिलेसम्ममा एकता हुन्छ ?
म पण्डित होइन । तर कुरा मिलेपछि एकता भइहाल्छ । ६ वटा पार्टी त एक भयो । अब एक हुन सकिहाल्छ नि ।

नेतृत्वका विषयमा होडबाजी छ नि ?
होडबाजी छ ६ वटा पार्टी एक हुँदा पनि थियो । तपाईहरु त्यस्तो कुरा नगर्दिनुस् न ।



प्रतिक्रिया दिनुहोस्