Logo

राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभएसम्म सरकार छोड्दैनौं : कानूनमन्त्री थापा



‘अध्यादेश स्विकृत गर्नु बाहेक राष्ट्रपतिसँग अर्को विकल्प छैन’
‘ओली–प्रचण्डले देउवाको राजिनामा माँग्नु दम्भ हो’
काठमाडौं, ३ पुस । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभएसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार नछाड्ने बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री थापाले भने,‘यो चुनावी सरकार हो, राष्ट्रिय सभाको निर्वाचन गर्न बाँकी नै छ, हामी निर्वाचन सम्पन्न गरेरमात्रै सरकार छाड्छौं, केयर टेकेर गर्भमेन्ट भन्नुहुन्छ भनेपनि हामी केयरफुल्ली केयर गरिरहेका छौं, निर्वाचन आयोगले पूर्ण मतपरिणाम सार्वजनिक गरेको छैन।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले प्रधानमन्त्री देउवाले चाहेरपनि अहिले सरकार छोड्न नपाउने जिकिर गरे । उनले भने,‘देउवाले मलाई धेरै दबाब आयो भनेर पद छोड्छु भन्न पाउनुहुन्न, ओली र प्रचण्डलाई पनि आउँछु भन्ने छुट छैन।’

यद्धपी उनले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि आफूहरुले सर्लक्कै सरकार छोड्न तयार रहेको स्पष्ट पारे । उनले ओली र प्रचण्डले अहिल्यै नै कुर्सी छोड भनेर देउवाको राजिनामा माँग्नु दम्भ र उत्तेजनाको अभिव्यक्ति भएको समेत आरोप लगाए ।

सरकारले दुई महिना अघि नै राष्ट्रिय सभा सम्बन्धी अध्यायदेश राष्ट्रपतिसमक्ष पठाएको भन्दै अहिलेसम्म नआउनु दुःखद् भएको उनको टिप्पणी थियो । उनले भने,‘म अहिले पनि ठण्डा भएर भन्छु राष्ट्रपतिसँग अर्को विकल्प छैन, अध्यादेश स्विकृत गर्नैपर्छ, सरकारसँग पनि अर्को विकल्प छैन।’

मन्त्री थापाले राष्ट्रिय सभा सदस्य निर्वाचन सम्पन्न नभएसम्म सरकार आफूहरुले नछोड्ने उद्धघोष गरे । उनले भने,‘निर्वाचन नगरी सुखै छैन, त्यसको लागि अध्यादेश पारित नगरी सुखै छैन, राष्ट्रिय सभाको गठन नभएसम्म सरकार गठन गर्न मिल्दैन्।’ उनले एकल संक्रमणीय व्यवस्थाबारे पर्याप्त बहस भएको समेत जिकिर गरे । उनले थपे,‘त्यतिवेला असंवैधानिक भनेर कतै आवाज सुनिएन, अहिले कोकोहोलो मच्याउने काम भैरहेको छ, बटारेर र बंग्याएर बहस गर्नु अनुचित हुन्छ।’

उनले सरकारले उक्त अध्यादेश संविधानसम्म्त रुपमा राष्ट्रपतिसमक्ष पठाएको भन्दै त्यसलाई स्किृत गर्नुको राष्ट्रिपतिसँग विकल्प नभएको स्पष्ट पारे । उनले भने,‘यस विषयमा मैले बिचको बाटो देखेको छैन, चक्रव्यूहमा फस्नु राम्रो कुरा होईन।’



प्रतिक्रिया दिनुहोस्

Screenshot