Logo

राष्ट्रियसभा सम्बन्धमा अनावश्यक विवाद निकालियो : माओवादी केन्द्र



काठमाडौँ, ३ पुस (रासस) : नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभा गठन सम्बन्धमा अनावश्यक विवाद निकालिएको भन्दै त्यसको राजनीतिक समाधान खोज्नुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आज बसेको केन्द्रीय कार्यालयको बैठकले संविधान, कानूनअनुसार राष्ट्रिय सभा गठन हुनुपर्ने भन्दै अनावश्यक रुपमा राजनीति गर्न खोजिएको भन्दै जनादेशको सम्मान गर्नसमेत सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ ।

बैठकले राष्ट्रिय सभा गठनसम्बन्धी देखिएको विवादको समाधान राजनीतिक सहमतिमा खोज्नुपर्ने निष्कर्ष निकाल्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले दिएको जनादेशलाई सम्मान गर्न आग्रह गरेको हो ।

“राष्ट्रिय सभा गठनसम्बन्धी विवाद राजनीतिक विषय हो । यसलाई राजनीतिक सहमतिकै आधारमा समाधान गर्नुपर्छ भन्ने बैठकले निष्कर्ष निकालेको छ । शीर्षनेता बसेर सहमति खोज्नुपर्नेमा जोड दिएका छाँै । त्यसैअनुसार अघि बढ्छौँ”, बैठकपछि प्रवक्ता पम्फा भुसालले भन्नुभयो ।

बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै निर्वाचन आयोग, राजनीतिक दल, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, नेपाल सरकार, कूटनीतिक नियोग र सम्पूर्ण मतदातामा धन्यवाद प्रकट गरेको छ ।

बैठकले वाम गठबन्धन बनाएर चुनावमा होमिँदा परिणाम सकारात्मक आएको भन्दै पार्टी एकता र गठबन्धनलाई जनताले अनुमोदन गरेको ठहर गरेको छ । बैठकले नयाँ सरकार गठनका लागि छलफललाई घनिभूत बनाउने निर्णय गरेको प्रवक्ता भुसालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जनताले वाम गठबन्धन र पार्टी एकतालाई अनुमोदन गरिसकेका छन् । पार्टी एकता र सरकार गठन सँगसँगै अगाडि बढ्छ, अब पार्टी एकता कसैले रोकेर रोकिँदैन ।” समानुपातिक निर्वाचन प्रणालीमा माओवादी केन्द्रको कम मत आउनुमा ६० प्रतिशतभन्दा बढी स्थानमा पार्टीको उम्मेदवार नहुनु र उक्त निर्वाचन प्रणालीका बारेमा व्यवस्थित प्रचार नहुनु पनि मुख्य कारण रहेको ठहर गरेको छ ।

बैठकमा नेताहरुले नेकपा (एमाले) सँगको एकता प्रक्रियाका बारेमा धारणा राख्दै सैद्धान्तिक र सांगठनिक विषयमा स्पष्टताको आवश्यकतामा जोड दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot