Logo

आर्थिक विकास र समृद्धिमा बिम्स्टेक केन्द्रित हुनुपर्नेमा जोड



काठमाडौँ, ३ पुस : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)ले अगाडि सारेको आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा कूटनीतिक क्षेत्रका जानकार तथा विज्ञले जोड दिनुभएको छ ।

आर्थिक समृद्धि, गरिबीको अन्त्य र सम्पर्क सञ्जालको विस्तार गर्ने लक्ष्यका साथ स्थापना गरिएको बिम्स्टेक लक्ष्यअनुसार अगाडि बढ्न नसक्नुको कारणको खोजी गर्दै आगामी दिनमा त्यसलाई सबल, सक्षम बनाउनुपर्ने उहाँहरुको धारणा छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘बिम्स्टेक ः स्पष्ट प्रक्षेपण’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै कूटनीतिक क्षेत्रका जानकारले लक्ष्यअनुसार नै अन्तर्राष्ट्रिय फोरमलाई प्रयोग गर्दै त्यसबाट लाभ लिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले)का नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गरिबी, बेरोजगारीको अन्त्य र सम्पर्क सञ्जालको विकासका लागि विशेष ध्यान दिएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल जस्ता अल्पविकसित मुलुकको आर्थिक समृद्धि र विकासका लागि यस्ता अन्तर्राष्ट्रिय निकाय साझेदार र सहयोगी बन्न सक्छन् । त्यसबाट हामीले प्रशस्त लाभ लिन सक्नुपर्छ ।”

बिम्स्टेकमा नेपालले गरिबी निवारणको लक्ष्यलाई आफ्नो प्राथमिकतामा राखेको भन्दै पूर्वप्रधानमन्त्री नेपालले आफूले गर्छौं भनेर प्रतिबद्धता जनाएको विषयमा प्रष्ट भएर काम गर्नुपर्ने र उदाहरण नै बनेर प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल राजनीतिक संक्रमणकालबाट स्थिरताको दिशामा अगाडि बढेको भन्दै उहाँले वामगठबन्धनले सबै छिमेकीसँग समान सम्बन्ध राखेर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालले कहिल्यै पनि कसैका विरुद्ध कसैलाई प्रयोग नगरेको भन्दै नेता नेपालले सबै छिमेकीसँग सहकार्यका आधारमा समान सम्बन्ध राख्दै अगाडि बढ्ने स्पष्ट पार्नुभयो । फरक एक प्रसंगमा नेता नेपालले नयाँ सरकार गठन हुनै दिँदैनौँ भने जसरी जनमतको अपमान नगर्नसमेत सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले आर्थिक समृद्धि, गरिबी, बेरोजगारीको अन्त्य गर्ने र जनस्तरमा सम्बन्ध विस्तार गर्ने लक्ष्यका साथ स्थापना भएको बिम्स्टेकलाई सार्थक र प्रभावकारी बनाउन सबैको साथ र सहयोगको जरुरी रहेको बताउनुभयो ।

कार्यपत्र प्रस्तुत गर्दै पूर्वअर्थमन्त्री मधुकरशम्शेर जंगबहादुर राणाले राजनीतिक विषयभन्दा पनि आर्थिक विषयलाई केन्द्रित गरेर स्थापना भएको बिम्स्टेकबाट नेपालले फाइदा लिन हरसम्भव प्रयास गर्नुपर्ने बताउनुभयो ।

यस्तै, अर्का कार्यपत्र प्रस्तोता संयुक्त राष्ट्रसंघका लागि नेपालका पूर्वस्थायी प्रतिनिधि मधुरमण आचार्यले बिम्स्टेक स्थापनाको लामो समय भएपनि त्यसले लिएका लक्ष्य कार्यान्वयन हुन नसक्नुको कारण खोज्दै भावी दिनमा त्यसलाई प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक पन्नाकाजी अमात्यले सार्थक प्रयासबाट मात्रै अन्तर्राष्ट्रिय संघसंस्थाको उपादेयता देखिने भएकाले त्यसमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्