Logo

वीरगन्ज–ठोरी हुलाकी सडकको शिलान्यास



पर्सा, ३ पुस (रासस) : मधेसको ‘लाइफलाइन’ का रुपमा मानिएको हुलाकी राजमार्गअन्तर्गत वीरगन्ज–ठोरी सडकखण्डको आज शिलान्यास गरिएको छ ।

सडक विभाग र ठेकेदार कम्पनी पप्पु कन्सट्रक्सनले वीरगन्जको पावरहाउस चोकमा आयोजना गरेको कार्यक्रममा पर्सा क्षेत्र नं १ र ३ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यद्वय क्रमशः प्रदीप यादव र हरिनारायण रौनियले ३० किलोमिटर लामो वीरगन्ज–ठोरी हुलाकी सडकखण्डको आज संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।

रु. एक अर्ब ३२ करोड ४७ लाख ८३ हजार ७२९ रुपैँया ९० पैसाको लागतमा निर्माण हुन लागेको उक्त सडकखण्ड निर्माण भएपछि यसबाट पर्साको ग्रामीण भेगमा बसोबास गर्ने सात लाखभन्दा बढी व्यक्ति लाभान्वित हुने सडक विभागले जनाएको छ ।

यो सडकको निर्माण कार्य दुई वर्ष ६ महिना भित्रमा सम्पन्न गर्ने सरकार र ठेकेदार कम्पनीबीच सहमति भएको सडक विभागले जनाएको छ ।

सो अवसरमा प्रतिनिधिसभा सदस्य यादवले हुलाकी राजमार्ग निर्माण कार्य तिव्र गतिमा अगाडि बढाउनुपर्नेमा जोड दिदैं यो सडकखण्ड क्षेत्रमा पर्ने सर्वसाधारणको जग्गाको मुआब्जा बारे कुनै टुङ्गो नलगाइएकाले यसको निर्माण कार्य विलम्ब हुन सक्ने आशंका व्यक्त गर्नुभयो ।

अर्का प्रतिनिधिसभा सदस्य रौनियारले सरकारले विकास निर्माणको ठेक्का गर्ने तर त्यसको अनुगमन तथा मूल्याङ्कन नगर्नेजस्ता कारणले निर्माण कार्य ढिलो हुने गरेको बताउँदै तोकिएको समयावधिभन्दा बढी अवधि बितेपनि वीरगन्जको सिर्सियामा निर्माण भइरहेको एकीकृत सुरक्षा चेकजाच चौकी (आइसिपी) वारे सरकारले कुनै चासो नदिएकोप्रति गुनासो गर्नुभयो ।

पप्पु कन्सट्रक्सन प्रालिका प्रबन्ध निर्देशक सुमित रौनियाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा २ नं प्रदेशका प्रदेशसभा सदस्य जन्त अन्सारी र सिंघासन गुप्ता लगायतले स्थानीय तह र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन भइसकेकाले अब मुलुकमा पूर्वधार विकासको कार्यले गति लिने विश्वास व्यक्त गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस्