Logo

आगामी दिनमा हुने निर्वाचनलाई प्रविधिमैत्री बनाउनुपर्छ : प्रमुख निर्वाचन आयुक्त



खोटाङ, ३ मंसिर (रासस) : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी दिनमा हुने सबै निर्वाचनलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय खोटाङमा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो – “मतपत्रको माध्यमबाट भइरहेका निर्वाचनमा मत बदरको सङ्ख्या धेरै हुने भएकाले पनि यसलाई प्रविधिमैत्री बनाउनुपर्छ ।”

“यस पटकको निर्वाचनमा हामीले ढिला गरी प्रमाणीकरण भएको कानून पायौँ,” प्रमुख निर्वाचन आयुक्त डा यादबले भन्नुभयो, “हतारमा भए पनि निर्वाचन सम्पन्न ग¥यौँ । यो निर्वाचनमा धेरै मत बदर भएको छ । यसको जिम्मेवारी राजनीतिक दलले पनि लिनुपर्छ ।”

उहाँले नेपालमा हालै सम्पन्न दुवै निर्वाचन जटिल भए पनि सफलतापूर्वक सम्पन्न भएको चर्चा गर्दै “अन्तर्राष्ट्रिय प्रजातान्त्रिक मुलुकले पनि प्रान्त र केन्द्रको निर्वाचन एकै पटक गर्न सकेका छैनन् तर हामीले दुई वटै निर्वाचन एकै दिन सम्पन्न गर्न सफल भएका छौँ, यो नेपाली जनतालाई बधाई दिनुपर्छ,”भन्नुभयो ।

निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको छ, प्रमुख निर्वाचन आयुक्त डा यादबले भन्नुभयो– “हामीले ऐतिहासिक दायित्व पूरा गरेका छौं, लोकतान्त्रिक निर्वाचन सम्पन्न गरेका छौँ, यसलाई संस्थागत गर्न अहिलेदेखि नै सबै मिलेर लाग्नुपर्छ ।”
––– (तस्बिर उपलब्ध छ ।)



प्रतिक्रिया दिनुहोस्