Logo

माओवादी बैठकको निष्कर्ष : बादललाई राष्ट्रपति, प्रचण्डलाई पार्टी अध्यक्ष, ओली प्रधानमन्त्री



४ पुस, काठमाण्डौ । नेकपा माओवादी केन्द्रले नेता रामबहादुर थापा ‘बादल’ लाई राष्ट्रपति उम्मेदवारका रुपमा अघि सारेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने पक्का जस्तै भएपछि माओवादीका भागमा राष्ट्रपति र सभामुख पर्ने बताइएको छ ।

सोही अनुसार माओवादीले राष्ट्रपतिका लागि बादललाई अघि सारेको हो । सभामुखमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, अग्नि सापकोटा, हरिबोल गजुरेल र निवर्तमान सभामुख ओनसरी घर्तीमगर लगायतको दाबी रहे पनि बादल भने माओवादीभित्र राष्ट्रपतिका एक्ला उम्मेदवार हुन् ।

चितवन–२ बाट प्रतिनिधिसभा उम्मेदवार बन्ने सोचमा रहेका बादललाई चितवन–३ मा उम्मेदवारी दिएका प्रचण्ड कमजोर हुने ठानेर माओवादीले ब्याक गराएको थियो ।

अध्यक्ष प्रचण्डले पुरुषतर्फ समानुपातिकको पहिलो नम्बरमा नाम राख्न खोज्दा उनले मानेका थिएनन् । पछि राष्ट्रिय सभामा ल्याएर राष्ट्रिय सभाको अध्यक्ष बनाउने आश्वासन दिइएको थियो ।

बाम गठबन्धनको बहुमत आएसँगै भागबण्डामा माओवादीले राष्ट्रपति पाउने भएपछि बादलको नाम अघि सारिएको हो ।
एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल समेत बादलको नाममा सहमत देखिएको बताइएको छ ।

यद्यपी एमालेबाट वरिष्ठ नेता झलनाथ खनाल पनि राष्ट्रपति बन्न चाहको बताइएको छ । तर एमाले र माओवादी एकटा हुँदा भागबण्ड मिलाउनुपर्ने छ । त्यसका लागि राष्ट्रपति माओवादीको भागमा पर्ने सम्भावना बढेको हो ।

एमालेले राष्ट्रपति र सभामुख माओवादीलाई दिएर प्रधानमन्त्री र पार्टी अध्यक्ष आफूले राख्ने रणनीति लिएको छ । तर माओवादीभित्र भने राष्ट्रपति र सभामुख पाएको भरमा पार्टी एकता गर्न नहुने तर्क गरेका छन् । मुख्य पद प्रधानमन्त्री र पार्टी अध्यक्ष भएकाले एमालेकातर्फबाट प्रधानमन्त्री बन्ने हो भने माओवादी अध्यक्ष प्रचण्ड पार्टी एकतापछि पनि अध्यक्ष नै बन्न पाउनुपर्ने आवाज उठेको छ ।

महत्वपूर्ण सबै पद एमालेलाई सुम्पिएर पार्टी एकता गर्नुको औचित्य नहुने माओवादी नेताहरुको भनाई छ ।
राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश तत्काल टुङ्ग्याउनुपर्ने निष्कर्ष पनि सोमबार बसेको माओवादीको बैठकले निकालेको छ । त्यसपछि पार्टी एकता गरेर सरकार निर्माण गर्ने पक्षमा माओवादी नेताहरु रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot