Logo

महोत्तरीमा समानुपातिकतर्फ राजपा पहिलो



गौशाला, ४ पुस : महोत्तरी जिल्लामा गत मंसिर २१ गते भएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ राजपा नेपाल बढी मत ल्याएर पहिलो भएको छ भने नेकपा (एमाले) पाँचांै स्थानमा पुगेको छ ।

जिल्ला निर्वाचन अधिकारी पिंकी रायकाअनुसार प्रतिनिधिसभा सदस्यको निर्वाचनमा चारवटा क्षेत्र रहेको यस जिल्लामा राजपा नेपालले ६० हजार २०१ मत प्राप्त गरी पहिलो भएको हो भने ३४ हजार २० मतका साथ नेपाली काँग्रेस दोस्रो, २९ हजार ५५१ मत ल्याएर संघीय समाजवादी फोरम नेपाल तेस्रो, २९ हजार २७३ मत ल्याएर नेकपा (माओवादी केन्द्र) चौंथो र १३ हजार ६९४ मत ल्याएर नेकपा एमाले पाँचौं स्थानमा पुगेको हो ।

उहाँका अनुसार त्यस्तै प्रदेशसभा सदस्यको निर्वाचनमा पनि आठवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा राजपा नेपालले ५५ हजार पाँच सयचार मतका साथ अग्र स्थानमा पुगेको छ भने ३० हजार ६७ मत ल्याएर नेपाली काँग्रेस दोस्रो, २७ हजार १३३ मत ल्याएर संघीय समाजवादी फोरम नेपाल तेस्रो, २६ हजार ७६७ मत ल्याएर माओवादी केन्द्र चौंथो र १२ हजार ६२१ मत ल्याएर एमाले पाँचांै स्थानमा पुगेको छ ।

उक्त निर्वाचनमा जिल्लामा कूल तीन लाख १७ हजार २८९ मतदाता रहेकामा दुई लाख १२ हजार ५२५ जनाले मतदान गरेका थिए । सो निर्वाचनमा एक लाख ८१ हजार ८२१ मत सदर र ३० हजार सात सय चार मत बदर भएको थियो । (रासस)



प्रतिक्रिया दिनुहोस्