Logo

किन गए केपी ओली चीनसँगको रसुवागढी नाकामा ? चिनसँग नजिक हुने माध्यम वा विकासको एजेण्डा ?



४ पुस, काठमाण्डौ । भावी प्रधानमन्त्रीको रुपमा चर्चामा रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार चिनसँगको नाका रसुवागढीको भ्रमण गरेका छन् । चिनलाई खुशी बनाउन चाहने नेता भनेर आलोचना खेपिरहेका ओली एकाएक चिनियाँ नाकातिर केन्द्रित भएपछि विश्लेषकहरुले अने आशंका गरेका छन् ।

अध्यक्ष ओलीले चीनसँगको रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउने र काठमाडौंबाट रसुवागढीसम्म ४ लेनको सडक निर्माण गरिनेसमेत बताएका छन् । रसुवागढी नाकाको स्थलगत निरीक्षणपछि ओलीले सो नाकालाई व्यवस्थित बनाउन अब आउने सरकारले ध्यान दिने बताए । ओलीले काठमाडौंबाट रसुवागढीसम्मको हालको २ लेनको सडक कालोपत्रे गर्ने र खोलापारीबाट ४ लेनको सडक निर्माण थाल्ने बताएका हुन् ।

परराष्ट्र नीतिलाई सन्तुलित बनाउने अर्थात गुण र दोषका आधारमा छिमेकी देशको आलोचना र समर्थन गर्ने बताउँदै आएका ओली चिनियाँ नाकामा हतार गरेर जानुपर्ने अवस्था नरहेको कतिपय विश्लेषकको भनाई छ । ओलीको यो गतिविधी भारतलाई चिढ्याउनका लागि हो भन्नेहरु पनि छन् ।

नेपालको परराष्ट्र नीति सन्तुलित बनाउनुपर्छ भन्दै आएका ओलीको पक्षमा चुनावमा जनमत बलियो देखिएको छ । तर यही बेला हतार गरेर अर्थत जनमत आइरहेका बेला चिनिया नाकालाई बढि प्राथमिकता दिनु आवश्यक थियो कि थिएन? भनेर प्रश्न गर्नेहरु पनि छन् ।

एमाले माओवादीको साझा चुनावी घोषणपत्रमा सन्तुलित परराष्ट्र नीतिको व्याख्या गरिएको छ भने पछिल्लो समयको पत्रकार सम्मेलनमा पनि ओलीले सन्तुलितको नीतिमै जोड दिएका छन् ।

मंगलबार हेलिकोप्टरमा रसुवा पुगेका ओलीले रसुवागढीमा स्थानीय जनतालाई सम्बोधन गर्दै उनीहरुका माग तथा गुनासो सुनेका थिए । स्थानीयले सडक कालोपत्रे, भन्सारको व्यवस्थापन र चिनियाँ पक्षबाट आइपरेका झण्झटका बारेमा ओलीको ध्यानाकर्षण गराएका थिए ।

पार्टी महासचिव ईश्वर पोखरेलसहितका नेताहरुसँगै लाङटाङ पुगेका ओली हेलिकोप्टरबाटै रसुवागढी निरीक्षणमा गएका हुन् । ओलीले लाङटाङमा भूकम्पपछि बन्द भएको स्कूल र स्वास्थ्यचौकी तत्काल सुचारु गराउने आश्वासनसमेत स्थानीयलाई दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्