Logo

‘यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको समस्या राज्यले बुझ्न सकेन’: मोहना अन्सारी



काठमाडौँ, ४ पुस (रासस) : राष्ट्रिय मानव अधिकार आयोग सदस्य मोहना अन्सारीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको समस्या राज्यले बुझ्न नसकेको बताउनुभएको छ ।

नीलहीरा समाजले आजदेखि यहाँ सुरु गरेको ‘एलविटी सम्मेलन’को उद्घाटन गर्दै उहाँले परिवार, समाज र राज्यले यौनिक अल्पसंख्यकलाई बुझ्न नसकेको बताउनुभएको हो ।

“मान्छे भनेको मानव हो, मानव भएर जन्मेपछि फरक गर्नुपर्ने र थिचोमिचो गर्नुपर्ने कुनै ठाउँ छैन,” उहाँले भन्नुभयो – “स्थानीय तहले नीति बनाउदाँ यो समुदायलाई बाहिर राखेर नीति बनाउन हुदैन् ।”

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव भरतराज शर्माले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायसँग सहकार्य गरेर मन्त्रालयले अघि बढ्ने बताउँदै “यो समुदायलाई परेको समस्या समाधान गर्न मन्त्रालय तयार छ,” भन्नुभयो ।

समाजका अध्यक्ष पिंकी गुरुङले एलविटी समुदाय अझै पनि खुलेर बाहिर आउन नसकेको बताउँदै संविधानमा लेखिएका अधिकारलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

महिला एड्भोकेसी ग्रुपकी अध्यक्ष बविता बस्नेतले समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी समुदायले अब अवसरको खोजी गर्नुपर्ने बताउनुभयो ।

सम्मेलन दुईदिनसम्म चल्नेछ ।



प्रतिक्रिया दिनुहोस्