Logo

प्रवेश परीक्षा पास नगरी विदेशमा विशेषज्ञ तह पढ्न नपाउने



काठमाडौं, पुस ४ । नेपाल मेडिकल काउन्सिलले एमडि/एमएस तहका लागि तयार पारेको मापदण्ड नमिल्ने देशमा विशेषज्ञ तहको विषय पढ्न नपठाउने निर्णय गरेको छ ।

मेडिकल काउन्सिलको ‘रेगुलेसन फर पोष्टग्राजुयट मेडिकल एजुकेसन एमडी–एमएस प्रोगाम–२०१७’ अनुसार पाठ्यक्रम नमिलेका विषय पढ्न विद्यार्थी विदेशमा गइरहेको बेला काउन्सिलले यस्तो निर्णय गरेको हो ।

काउन्सिलको गत साता बसेको पूर्ण बैठकले फिलिपिन्स लगायतका देशमा एनएमसीले तयार पारेको पाठ्यक्रम अनुसारको पढाई नभएकाले अबदेखि त्यस्ता देशमा विद्यार्थी पठाउने काम रोक्ने निर्णय गरेको इलिजिबिलि समिति संयोजक डा. सुदिप आचार्य बताउँछन् ।

आचार्य भन्छन्, “फिलिपिन्सका अस्पतालमा थेसिस र परिक्षा बिना विशेषज्ञ तहको पढाइ भइरहेको र नेपालको पाठ्यक्रमसँग नमिल्ने भएकाले पढ्न जान अनुमति नदिने निर्णय गरेका हौँ ।”

प्रवेश परिक्षा पास नगरी विदेश पढ्न जान नपाउने मेडिकल काउन्सिलले अबदेखि विशेषज्ञ तहमा अध्ययन गर्न विदेश जानुअघि प्रवेश परिक्षा अनिवार्य पास गर्नुपर्ने व्यवस्था गरेको छ ।

काउन्सिलले आगामी वर्ष सन् २०१८ को जनवरी महिनादेखि लागु हुने गरि बिना प्रवेश परिक्षा विशेषज्ञ तहको अध्ययनका लागि विदेश जान अनुमति नदिने निर्णय गरेको हो । काउन्सिलको यो व्यवस्था अनुसार एमबीबीएस पास गरेका जोकोही विद्यार्थीले पनि अब विदेश पढ्न जानुअघि नेपालका विश्वविद्यालय र प्रतिष्ठानले लिने जाँच पास गर्नुपर्नेछ । योग्य र सक्षम व्यक्तिलाई मात्र विदेश पठाउन यस्तो निर्णय गरेको काउन्सिलले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्