Logo

‘अबको प्रधानमन्त्री ओली र एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड बन्नुहुन्छ’ : गुरुङ



काठमाडौं, ६ पुस ।नेकपा एमालेका नेता पार्वत गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजिनामा दिनुपर्ने बताए । उनले भने,‘अहिलेको जनमतलाई सम्मान गर्दै उहाँले राजिनामा दिनुपर्छ, तर अहिलेको सरकार सत्ता लम्ब्याएर अस्थिरतातर्फ जान खोजेको हो कि भन्ने आभाष हुन थालेको छ।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता गुरुङले वाम गठबन्धनलाई जनताले स्थिरता र विकासको लागि मत दिएको भन्दै सोही अनुसार अब बन्ने सरकारले काम गर्ने समेत विश्वास दिलाए । उनले भने,‘सबैलाई सहमतिमा लिएर सरकार अघि बढ्छ, कांग्रेसले अब पाँच वर्ष कम्युनिष्टको सरकार हेरेर बस्छ।’

दोलखाबाट लोकप्रिय मत हाँसिल गरेर विजयी भएका नेता गुरुङले एमाले–माओवादी केन्द्रवीच पार्टी एकता हुने भन्दै अबको प्रधानमन्त्री केपी शर्मा ओली नै बन्ने पक्का भैसकेको स्पष्ट पारे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै  उनले थपे,‘प्रधानमन्त्री को बन्छ भन्नेबारे अब कुनै अलमल छैन, ओलीजी नै प्रधानमन्त्री बन्नुहुन्छ, पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष बन्नुहुन्छ।’ उनले प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष बन्दा कुनै आपत्ति नहुने समेत जिकिर गरे ।

उनले दुई पार्टीवीच एकता हुँदैन कि भनेर प्रचार गर्नु गलत भएको समेत स्पष्ट पार । ‘भोलिबाट एकताको लागि छलफल शुरु हुँदैछ, अब पनि एकता हुँदैन भन्नु जनताको मत विपरित हुन्छ’ उनले भने,‘जसले एकता मान्दिन भन्छ उ सिद्दिन्छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot