Logo

५ दलको बैठकमा सहमति जुटेन, देउवा–ओलीवीच चर्काचर्की



काठमाडौं, ७ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको राष्ट्रिय पार्टीहरुको संयुक्त बैठक बिना निश्कर्ष सम्पन्न भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश, नयाँ सरकार गठनलगायत विषयमा छलफल भएपनि कुनै सहमति नभएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए ।

राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलाई लिएर वाम गठबन्धन र नेपाली कांग्रेस विभाजित बनिरहेका बेला प्रधानमन्त्रीले पहिलोपटक राष्ट्रिय दलहरुको संयुक्त बैठक बोलाएका थिए ।

तर बैठकमा प्रधानमन्त्री देउवाले राष्ट्रपतिले तत्काल अध्यादेश स्विकृत गर्नुपर्ने धारणा राखेका थिए । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवाको भनाईमाथि प्रतिकार गर्दै आफूहरु उक्त अध्यादेश नमान्ने चेतावनी दिए । उनको भनाई उद्धृत गर्दै नेता निधिले भने,‘प्रधानमन्त्रीले आफू सरकार छोड्न तयार रहेको धारणा राख्नुभयो, तर उहाँले राष्ट्रपतिले अध्यादेश स्विकृत गर्नुपर्ने बताउनुभयो।’

बैठकमा सहभागी राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालका नेताहरुले पनि राष्ट्रपतिले तत्काल अध्यादेश स्विकृत गर्नुपर्ने धारणा राखेको निधिले जनाए । उनका अनुसार राजपाका अध्यक्ष महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि एकल संक्रमणीय व्यवस्थाको पक्षमा रहेका छन् ।

तर बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने मध्यमार्गी बाटो अपनाउँदै सम्वादलाई जारी राख्नुपर्ने धारणा राखे ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम राष्ट्रिय पार्टी बनेका छन् । बैठकमा यिनै दलहरूका शीर्ष नेताहरू सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot