Logo

विधेयकसम्बन्धी विवाद केही दिनभित्रै सुल्झिएर नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्छ : कानुनमन्त्री थापा



८पुस, काठमाण्डौ । कानुनमन्त्री यज्ञबहादुर थापाले अध्यादेशमा सहमति जुटेन वा नजुट्ने भन्ने कुरा गौण भएको भन्दै संविधान अनुसार ल्याइएको अध्यादेश स्विकृत हुनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री थापाले राष्ट्रपतिले राष्ट्रिय सभा गठनसम्बन्धी विधेयक जारी गर्ने कुरामा आफूहरु ढुक्क भएको बताए ।

विधेयकसम्बन्धी अलमल र विवाद केही दिनभित्रै सुल्झिएर नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्ने बताए । “अन्योल र अलमलको बादल केही दिनमा फाट्ने छ र राष्ट्रियसभाको निर्वाचनको ढोका खुल्नेछ ।” मन्त्री थापाले भने ।

राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्नु अहिलेको आवश्यकता भएको बताउँदै थापाले यसमा अलमल नगरी राष्ट्रपतिले संविधानको संरक्षकको हैसियतले स्विकृत गर्नुपर्नेमा जोड दिए ।

सबै दलको कुरा सुन्नु जायज भए पनि संविधान विपरित हलो अड्काउने काम राष्ट्रपतिले नगर्नेमा आफूहरु विश्वस्त भएको उनको भनाई थियो । राष्ट्रपतिसमक्ष पनि अब अध्यादेश जारी गर्न ढिला हुने भन्दै आफ्ना कुरा राखेको थापाले जानकारी दिए ।

सरकारले राखेको कुराप्रति राष्ट्रपति कन्भेन्स भएको दाबी गर्दै थापाले अब केही दिनमा अध्यादेश जारी हुने दाबी गरे । राष्यिट्रयसभाको निर्वाचन नभै प्रतिनिधीसभाले पूर्णता नपाउने भएकाले अध्यादेश जारी गर्नुको विकल्प नभएको उनको जिकिर छ ।

नेकपा एमालेले ननइस्युलाई इस्यु बनाएर विवाद झिकेको आरोप मन्त्री थापाले लगाए । अध्यादेश जारी भएन भने राष्ट्रियसभाको निर्वाचन नै हुन नसक्ने संवैधानिक व्यवस्था भएको भन्दै थापाले प्रतिनिधिसभालाई पूर्णता दिन र नयाँ सरकार गठनका लागि अध्यादेश जारी गरेर राष्ट्रियसभाको चुनाव हुनु अनिवार्य भएको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot