Logo

महिला समूहलाई बाख्रा र सिलाइ मेशिन प्रदान



भक्तपुर, ८ पुस । महिलालाई आर्थिक रुपमा सशक्तिकरण गर्ने उद्देश्यले भक्तपुरका विभिन्न महिला समूहलाई तीन बोका, ३० बाख्रा र सिलाइ मेशिन प्रदान गरिएको छ ।

मानवीय आस्था नेपाल नामक संस्थाले सूर्यविनायक नगरपालिका दधिकोटस्थित चरखण्डी महिला समूहलाई एक बोका र १० बाख्रा, वनकाली बाख्रापालन महिला समूहलाई एक बोका र १० बाख्रा तथा चित्तपोलको मंगल बाख्रापालन महिला समूहलाई एक बोका र १० बाख्रा प्रदान गरेको हो ।

उन्नत जात मानिने खरि जातको प्रतिबाख्रा रु १० हजार र प्रतिबोका रु २२ हजारका दरले खरिद गरी ती महिला समूहलाई वितरण गरिएको मानवीय आस्था नेपालका अध्यक्ष श्रीकुमार रञ्जीतले जानकारी दिनुभयो ।

प्रदान गरिएका बोका र बाख्रालाई आवश्यकपर्ने दाना, औषधि उपचार र स्वास्थ्य परीक्षण नियमित रुपमा संस्थाले नै गराउने पनि उहाँले जानकारी दिनुभयो ।

संस्थाका संरक्षक, प्रतिनिधिसभा सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले संस्थाद्वारा आयोजित एक कार्यक्रममा ती महिला समूहलाई बोका, बाख्रा, एवं सिलाई मेशिन प्रदान गर्नुभएको हो ।

सोहि अवसरमा उहाँले नैचाल महिला समूह र पकण्डोल महिला समूहलाई पनि तीन÷तीन वटा सिलाई मेशिन प्रदान गर्नुका साथै नौ वटा महिला समूहलाई रु तीन लाख मूल्य बराबरका बीउबिजनसमेत प्रदान गर्नुभयो ।

सो अवसरमा संस्थाका संरक्षक बस्नेतले व्यक्तिगतभन्दा पनि समूहगतरुपमा काम गर्दा महिलाको आर्थिक अवस्था उकास्न सहज हुने, पुँजीको संरक्षण हुने र बचत हुने भएकाले महिला एवं बेरोजगारको आर्थिक अवस्था उकास्न आर्थिक उपार्जनका कार्यक्रम सञ्चालनमा ल्याइएको बताउनुभयो ।

भूकम्प गएलगत्तै भूकम्प पीडितको उद्धार एवं सहयोगका लागि महेश बस्नेतको नेतृत्वमा विसं २०७२ वैशाख १३ गते स्थापना भएको उक्त संस्थाले भूकम्पपीडितको उद्धार, भग्नावशेष हटाउने, २२ हजार टहरा निर्माण एवं हस्तान्तरण, खाद्य सामग्री, लत्ताकपडा वितरण र औषधि वितरण तथा मृतकका परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने गरेको छ । रासस
–––



प्रतिक्रिया दिनुहोस्