Logo

राजेन्द्र महतोको चेतावनी : संविधान संशोधन नभए पुनः सडक आन्दोलन गर्छौं



राजविराज, ८ पुस (रासस) : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभए पुनः सडक आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।

मधेशी एशोसिएशन इन अमेरिका (मा) नामक संस्थाले आज राजविराजमा आयोजना गरेको शहीद परिवारलाई सम्मान तथा नवनिर्वाचितलाई शुभकामना र बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मधेश गठबन्धनले निर्वाचनमा मधेशी जनताको जनादेश पाएअनुसार संविधान संशोधनलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।

मधेशी जनताको जनादेशले छ मधेशवादी दललाई एकै छातामुनि ल्याएको भन्दै महतोले निर्वाचनको परिणाम कुनै दलको नभएर मधेशी जनताको भएको जिकिरसमेत गर्नुभयो ।

मधेशी जनताले दिएको जनाधिकारको तीन ठूला दलले समेत स्वीकार गरी संविधान संशोधन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । सो अवसरमा मलेठ घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई सम्मान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्